arrow

खोजी वैचारिक नेतृत्वको  

logo
डा. राजकुमार राई,
प्रकाशित २०७७ असोज १४ बुधबार
rajkumar-rai1.jpg

राजनीतिमा लाग्नेहरू प्राय सवैजसो नेतृत्वमा पुग्न चाहन्छन्। तर कमै भाग्यशालीहरू मात्र नेतृत्वमा पुग्न सफल हुन्छन् । पार्टी र नेतृत्वलाई क्रमश: गाडी र चालकसंग तुलना गर्न सकिन्छ । जसरी यात्रुसहितको गाडीलाई गन्तब्यमा पुर्याउने दायित्व चालकको हुन्छ, त्यसरी नै पार्टीलाई सही दिशामा अगाडि बढाउन नेतृत्वको अहम भूमिका हुन्छ । कुसल चालक पर्यो भने गाडी पुरानो वा नयाँ जस्तो होस्, बाटो सजिलो वा अप्ठ्यारो जस्तो होस् उसले कुनै दुर्घटनामा नपारी यात्रु सहितको गाडीलाई सकुसल गन्तब्यमा पुर्याउँछ । तर चालक असल परेन, म जताबाट गाडी लैजान्छु त्यतै मेरो बाटो हो भन्न थाले भने गाडी गन्तव्यमा पुर्याउनुको सट्टा कुनै ठाउँमा पुगेर अवश्य पनि दुर्घटनामा पर्छ ।  

पार्टी हाँक्ने कुसल चालक बन्नका लागि नेतृत्वमा पार्टीको आदर्श र सिद्धान्त सहितको राजनीतिक ज्ञान, वुद्धि र विवेक हुनुपर्छ । तर अहिले हाम्रो मुलुकमा विचारलाई आत्मसात् गर्ने नेतृत्व पाउन गाह्रो परेको छ । प्राय सबैजसो नेताहरू विचारबाट प्रभावित भएर राजनीति सुरु गरेपनि विस्तारै पार्टीको विचारलाई तिलाञ्जली दिंदै नेता बन्ने भन्दा पनि पदाधिकारी मात्र बन्नेमा ध्यान केन्द्रित भएको देखिन्छ। नेताले जव आफ्नो राजनीतिक विचारधारालाई त्याग्छ, तव उ एउटा पदाधिकारी मात्र बन्छ।  र त्यो पदमा आसिन भएपछि उसले प्राप्त गर्ने सत्ता र शक्तिलाई दुरुपयोग गर्दै सँधैभरि ऊ सत्ता र शक्तिमा टिकिरहन चाहन्छ। हाम्रो देशका समकालीन पार्टीहरू सवैमा यही किसिमको प्रवृत्ति हावी भएको देखिन्छ।  

अहिले जुनसुकै पार्टीमा विचारको राजनीति शुन्य भएको अवस्था छ। कांग्रेसले आफ्नो आदर्श र सिद्धान्त राष्ट्रीयता, लोकतन्त्र र समाजवादलाई खालि भाषणमा मात्र सिमित गरेको धेरै वर्ष भइसक्यो । कम्युनिस्टहरू त आफ्नो विचारको वारेमा आफैं अन्योलग्रस्त छन् । उनीहरूको सिद्धान्तको ठेगान छैन: कहिले साम्यवाद, कहिले जनवाद, कहिले नौलो जनवाद, कहिले जनताको वहुदलीय जनवाद र कहिले जनवादी केन्द्रीयता। दलाल पुंजिबादको मतियार भएर पनि उनीहरु कम्युनिस्ट ट्याग झुन्ड्याई राखेर जनता झुक्याउन सिपालु छन्। 

राजनीति केवल विचार र सिद्धान्तविहीन सत्ता खेलमा रूपान्तरित भएको छ । सत्ताका अगाडि मूल्य, मान्यता र आदर्श गौण भएको छ ।  राजनीतिमा डनवाद र धनवाद हावी छ । साथै आम जनताको यो बुझाइ छ कि राज्य सत्ता माफिया-व्यापारीहरूको इसारामा चलेको छ। किनकि पार्टीलाई सत्तामा पुर्याउन उनीहरूले खर्च गरेका हुन्छन र जव पार्टी सत्तामा पुग्छ त्यसपछि बन्ने सरकारले उनीहरूको गुन तिर्नुपर्ने हुन्छ।  कतिपय पार्टीका नेताहरूले पार्टीको लागि मात्र खर्च जोहो नगरेर आफ्नो व्यक्तिगत खर्च लागि पनि उनीहरूबाट रकम असुलिराखेका हुन्छन् । यसरी पैसा र सत्ता प्राप्तिबीच कहिले पनि नसक्कीने गोलचक्कर निरन्तर चलिरहेको देखिन्छ ।     

चाहे कम्युनिस्ट पार्टीमा होस् वा कांग्रेस पार्टीमा होस् आदर्श, मूल्य मान्यता, निष्ठा र विचारको राजनीति गर्नेहरू प्राय हारिरहेका छन्, सत्ता-शक्तिको राजनीति गर्नेहरूले जितिरहेका छन् । सत्ता र शक्तिको राजनीति गर्न सिपालु गिरिजाप्रसाद कोइरालासंग विचार नमिलेर नेपाली कांग्रेसका संथापक  नेताहरू गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरूले जीवनको अन्तिम क्षणमा आएर आफैंले जन्माई हुर्काइ गरेको पार्टीबाट भावविह्वल हुँदै सन्यास लिनु परेको थियो । त्यस्तै कांग्रेस पार्टीको महाधिवेशनहरूमा निष्ठा, आदर्श र विचारको राजनीति गर्नेहरूले पार्टी सभापतिको निर्वाचनमा ठूलो मत अन्तरले हार व्यहोर्नु परिरहेको छ। १० औं महाधिवेशनमा रामहरि जोशी, ११ औं महाधिवेशनमा नरहरि आचार्य र १२ औं महाधिवेशनमा भिम बहादुर तामाङले पार्टी सभापति पदको लागि गरेको प्रतिस्पर्धामा असफल हुनुपरेको थियो। हामी सवैले पार्टी विचारद्वारा निर्देशित हुनुपर्छ भनिरहँदा किन उहाँहरूलाई समर्थन गर्नेहरूको संख्या ज्यादै कम भयो त ? यो एउटा गम्भीर प्रश्न छ। 

पार्टीको आदर्श, मूल्य मान्यता र विचारलाई विर्सेर सत्ता र शक्तिको पछि कुद्नु भनेको उल्टो बाटो हिंडेर गन्तब्यमा पुग्न खोजे जस्तो मात्र हो । यो गल्तिलाई सुधार्नका लागि वौद्धिक व्यक्तिहरूको ठुलो भूमिका हुन्छ। वौद्धिक व्यक्तिहरूले आफूलाई सही लागेकोलाई सही र गलत लागेकोलाई गलत भन्दै स्वतन्त्र ढंगले अभिव्यक्त गर्न सक्छन्। विचारले नै  राजनीतिलाई भष्टाचार, दुराचार र व्यभिचारबाट बचाउँदै सदाचार र निष्ठाको राजमार्गमा हिँडाउन सक्छ। 

विचारको राजनीति गर्नलाई कुनै पदको आवश्यकता पर्दैन । महात्मा गान्धी जसको नेतृत्वमा भारतबाट अंग्रेजलाई हटाउन  अहिंसावादी सफल आन्दोलन गरिएको थियो । उनले विचारको राजनीति गरे, तर कहिले पनि पार्टी वा राज्यको पद लिएनन् । त्यस्तै वीपी कोइराला एउटा वैचारिक नेतृत्वका राम्रो उदाहरण थिए । बीपी कोइरालाले आफ्नो राजनीतिक विचारलाई तिलाञ्जली दिएर सत्ता र शक्तिको लागि मात्र राजनीति गरेका थिए भने उनी पनि धेरै पटक नेपालका प्रधानमन्त्री बनिरहन्थे । तर त्यसको वदलामा उनको नाम नेपालको राजनीतिक इतिहासमा जुन किसिमले सुनौलो अक्षर लेखिएको छ, त्यो नभएर इतिहासको एउटा कालो कोठामा बन्द भइसक्थ्यो।    

पार्टीहरूलाई साँच्चैको जनताको पार्टी बनाउने हो भने वैचारिक नेतृत्वको आवश्यक पर्दछ । विचार सहितको नेतृत्व नैतिकवान हुन्छ, उसले पार्टीको आदर्श, सिद्धान्त र मूल्य-मान्यतालाई आत्मसात गरेको हुन्छ । उसले पार्टीका हरेक निर्णय विधानसम्मत गर्छ । उसले पार्टीलाई हानी नोक्सानी गर्ने निर्णय गर्दैन, कुनै पनि मुद्दामा पार्टीमा छलफल बहस गराउँछ, सवैको विचार सुन्छ र उचित निकास निकाल्न सहजकर्ताको भूमिका खेल्छ ।  

विचार विनाको नेतृत्वले पार्टी, जनता र देशको लागि केही गर्न सक्तैन किनकि ऊसित त्यो सम्बन्धि कुनै दृष्टिकोण हुँदैन। नेतृत्वमा विचार शुन्य भएपछि उसको पार्टी चलाउने तरिका भनेको एउटा व्यक्तिगत कम्पनि चलाएको जस्तो मात्र हुन्छ। पार्टीको उन्नति प्रगति भन्दा पनि उसले आफ्नो व्यक्तिगत फाइदाको जोड घटाउतिर मात्र ध्यान दिएको हुन्छ। आशा गरौं अव हुन गइरहेको चौधौं महाधिवेशनले नपाली कांग्रेसमा वैचारिक नेतृत्व स्थापित गर्ने अवसर प्रदान गर्नेछ ।   
drrkrai9@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ