arrow

कुवेतका अमिरको निधनमा ट्रम्प र सी दुखी, सौतेनी भाइ राजगद्दीमा

logo
एएनआई,
प्रकाशित २०७७ असोज १४ बुधबार
kuwait-amir.jpg

बेइजिङ । कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमिर अल सबाहको निधनबाट आफूलाई निकै दुःख लागेको भन्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले कुवेतका अमिरको निधनले आफूलाई र मेलानियालाई निकै दुःख लागेको छ भन्दै कुवेतका नागरिकहरुलाई समवेदन सन्देश पठाएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा बताइएको छ । कुवेतका अमिरको ९१ वर्षको उमेरमा मंगलबार अमेरिकामा निधन भएको थियो । 

उनले अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका थिए। उपचाररत सोही अस्पतालमा उनको निधन भएको बताइएको छ ।   त्यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि कुवेतका अमिर अल सबाहको निधनमा दुःख व्यक्त गरेका छन् । 

राष्ट्रपति सीले उनको निधनबाट आफूलाई दुःख लागेको बताएको चीनको राजधानी बेइजिङबाट चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । कुवेतका सरकारी सञ्चारमाध्यमले यहाँका अमिर अल सबाहको निधन भएको समाचार बुधबार मात्र सार्वजनिक गरेका बताइएको छ । उन ९१ वर्षका थिए । 

उनको निधनपछि उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल अहमदलाई कुवेतको मन्त्रिपरिषदले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ । सन् १९६३ देखि २००३ सम्म विदेश मन्त्री समेत रहेका राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए ।

अब भने सन् २००६ देखि राजाको उत्तराधिकारीको रुपमा काम गरेका शेख नवाफ नयाँ शासकको रुपमा चयन भएका हुन् । सुरक्षाको क्षेत्रमा लामो समय काम गरेका शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उनका उत्तराधिकारीको बारेमा छलफल हुने बताइएको छ ।

गएको जुलाई महिनामा अमिर शेख सबाह उपचारका लागि अमेरिका गएका थिए । त्यसपछि पनि लामो समयसम्म उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन ।

अमिर अल सबाह कुवेतमा सन् २००६ देखि सत्तामा रहेका थिए। उनले करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिलासम्बन्धी क्षेत्रमा रहेर काम गरेको समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ