arrow

विद्रोही सेनालाई सुडानको सशस्त्र बलमा गाभिने

logo
एपी,
प्रकाशित २०७७ असोज १८ आइतबार
sudan3.jpg

जुबा, दक्षिण सुडान । सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच  शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन् । 

प्रधानमन्त्री अब्दल्ला हम्डोकले दक्षिण सुडानको राजधानी जुबा पुगेलगत्तै ट्वीट गर्दै भने “अब देशका अघिल्तिरका सबैभन्दा ठूलो चुनौती भनेको स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताहरू गर्नु हो ।”

सुडानका विशाल प्रान्तहरुमा कब्जा जमाएर बसेका विद्रोहीहरूसँग वार्तामार्फत् समस्या सुल्झाउनु पनि संक्रमणकालीन सरकारसामु अर्को चुनौती छ । सत्ता विद्रोहपछि सेनाले सन् २०१९ को अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्युत गरेको थियो । 

सुडानी नागरिक नेताहरूले पछिल्लो सम्झौताका कारण देशको सैन्य खर्चमा व्यापक कटौती हुने विश्वास व्यक्त गरेका छन् । उनीहरुको भनाईमा देशको अर्थव्यवस्था पुनर्जीवित हुनेछ किनभने अहिलेसम्म सैन्य व्यवस्थामै सबैभन्दा बढी खर्च हुने गरेको छ । 

सुडानी सरकार र केही सशस्त्र समूहको गठबन्धन सुडान क्रान्तिकारी मोर्चाबीच गत अगस्टको अन्तमा भएको सहमतिलाई जुबामा शनिबार आयोजित समारोहमा औपचारिकता दिइएको हो । 

शिखर सम्मेलनमा दक्षिण सुडानका राष्ट्रपति साल्वा कीरको सहभागिता थियो । दशकौं लामो गृहयुद्ध पछि सन् २०११ मा सुडानबाट दक्षिण सुडानले स्वतन्त्रता पाएको थियो । सुडानको सार्वभौम परिषदका प्रमुख जनरल अब्देल-फत्ताह बुरहान र उनका सहायक जनरल मोहम्मद हमादान डागालो पनि उक्त समारोहमा उपस्थित थिए। अर्धसैनिक बलका कमाण्डर डागालोले विद्रोही नेताहरूसँग सम्झौतामा हस्ताक्षर गरेका थिए। 

उक्त समारोहमा सुडानका लागि अमेरिकी विशेषदूत डोनाल्ड बूथ, अफ्रिकी युनियनका अध्यक्ष मौसा फाकी र इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबौली लगायत अन्य अफ्रिकी र अरब अधिकारीहरु उपस्थित थिए । सम्झौताअनुसार विद्रोही सेनाहरूलाई सुडानको सशस्त्र बलमा एकीकृत गरिनेछ । 

पश्चिमी डार्फर, दक्षिण कोर्डोफान र ब्लू नाइलमा केन्द्रित सुडान क्रान्तिकारी मोर्चा लोकतन्त्र समर्थक आन्दोलनको मुख्य हिस्सा रहेको छ जसले अल बशीरको बिरूद्ध विद्रोहको नेतृत्व गरेको थियो । 

सुडानमा अब्देल-अजिल अल-हिलुले नेतृत्व गरेको सबभन्दा ठूलो एकल विद्रोही समूह सुडान लिबरेशन मुभमेन्ट-नर्थ पनि वार्तामा सहभागी थियो तर यससँग सरकारको सम्झौता हुन सकेको छैन ।

अल-हिलुले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाउन, अल बशीरका मिलिशियाको विघटन र देशको सेनाको पुनः सुधारको माग गरिरहेका छन्। यो समूहले आफ्ना माग पूरा नभए ब्लू नाइल र दक्षिणी कोर्डोफान प्रान्तमा आत्मनिर्णयको घोषणा गर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ