arrow

प्रधानमन्त्री ओलीलाई साझाको प्रश्न, 'के डा केसीलाई मार्न खोजेको?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
sajha.JPG

काठमाडौं । डा गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारले देखाएको उदासिनताबारे साझा पार्टी गम्भीर चिन्ता प्रकट गरेको छ।

'डा केसीले १९औं अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो।' साझाले विज्ञप्ती निकाली भनेको छ।

डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारकाे नेतृत्व गर्दा  पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझाले बताएको छ।।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन्। 'यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन। “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भने झैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो?' साझाले गम्भिर आरोप लगाएको छ।

पछिल्लाे पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ? साझाले प्रश्न गरेको छ। 

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दवावमूलक प्रदर्शन गर्दै आएको जानकारी दिदै पार्टीका सहप्रवक्ता शरदराज पाठकले सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने भन्दै साझाका तर्फबाट सचेत गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ