समाज नै नदेख्ने समाजवादी सरकार

कम्युनिष्ट कार्यकर्ताले आजभोलि स्वयं ओली, प्रचण्डको चेहरामा सामन्तवादको झल्को देख्छन् कि देख्दैनन् ?


प्रकाशित

निरोज खड्का

समाजवादको गहिरो अध्ययनमै आफ्नो जिन्दगीको अधिकांश समय पुस्तकालयमा व्यतीत गरेका एक विश्व विख्यात व्यक्तित्व कार्ल मार्क्स पितृ भएको १०० बर्ष नाघ्यो । मुलतः मार्क्सको अध्ययन, चिन्तन, मनन, विश्लेषण तत्कालीन युरोप केन्द्रीत थियो । मार्क्सको देहावसान पछी उनको विचारको प्रभाव क्रमशः एसियामा पनि देखिन थाल्यो । २००७ सालमा नेपालमा प्रजातन्त्रको प्रादुर्भाव पछि केहि नेताहरु कम्युनिस्ट पार्टीको आवरणमा मार्क्सवादी बनेर उदाए ।

००७ साल अगाडि पनि मार्क्सवाद र कम्युनिजममा नेपाली नेताहरुको झुकाव थियो तर प्रतिबन्धितकाल भएको हुनाले समाजमा त्यसको प्रभाव शुन्यप्रायः थियो । समाज परिवर्तनका खातिर वर्गसंघर्ष जरुरी देख्ने कम्युनिष्ट नेताहरुले सुरुवाती चरणबाटै मार्क्स र लेलिनलाई मुख्य आदर्श पात्रका रूपमा लिन थाले । बिस्तारै व्यक्तिपूजातर्फ उद्दत हुँदै उनीहरु कट्टर मार्क्सवादी, लेलिनवादी भए । मार्क्स, लेलिनका केहि भनाइहरु घोकेर कण्ठस्त पारे । नेपालमा उनीहरुको पूजा गर्ने बग्रेल्ती दलहरु खुल्न थाले । बिहान बेलुका मार्क्सवादी विचारको आरती हुनथाल्यो । दलका कार्यालय र घरका भित्ताहरुमा ठूलाठूला फोटाहरु झुन्ड्याउँदै तिनका अगुवाहरुले आफुलाई मार्क्स र लेलिनसँग उभ्याए । मार्क्स, लेलिनहरुको अवतार बन्ने कुन्ठा बेलाबखत नेपालका थुप्रै कम्युनिष्टहरुलाई पलायो । त्यसैको जगमा आजसम्म धेरैले राजनीतिको दुनो सोझ्याए । तर यथार्थमा उनिहरु नत सिद्धान्तमा मार्क्सवादी देखिए, नत व्यबहारमा समाजवादी नै ।

नेपालका कम्युनिस्टहरुको राजनीतिको आदर्श मार्क्स मात्रै होइनन् । सर्वहाराको मुक्तिका लागि कम्युनिष्ट सत्ता र त्यसले स्थापित गर्ने समाजवादको कर्णप्रिय नारा दिदै उनीहरुले भौतिक सफायाको प्रशस्त शिक्षा माओ, लेलिन, स्टालिन र चाउचेस्कुहरुबाट पनि सिके । माओले चीनमा, लेलिन र स्टालिनले सोभियत रुसमा, चाउचेस्कुले रुमानियामा सर्वहाराको सत्ताको लागि भन्दै निर्मम ढंगले लाखौं मान्छे मारेको दर्दनाक इतिहास नेपालका कम्युनिष्टहरुका लागि ठूलो प्रेरणाको श्रोत बन्यो । चाहे त्यो कथित झापा विद्रोहका नाउँमा होस्, चाहे दसबर्षे माओवादी जनयुद्धका नाउँमा भएको नरसंहारको अभ्यासनै किन नहोस् । भौतिक सफायाको दिव्य ज्ञानबाट पुर्णतः दिक्षीत भएका कम्युनिष्टहरुका कारण नेपालमा पनि हजारौं निहत्था नागरिकले मारिनुपर्यो । लाखौंले बिस्थापित हुनुपर्यो । लाखौंलाख प्रत्यक्ष प्रभावित हुनुपर्यो । आखिर यो सब के का लागि त ? अझै पनि उनीहरुसँग उही रेडिमेट जवाफ छ "सर्वहाराको मुक्तिको लागि ! समाजवादको लागि ! कम्युनिष्ट सत्ताको लागि !"

आज सर्वहारा वर्गको मुक्तिका लागि लडेका भनिएका झापा बिद्रोहका नाइके उनै केपी ओली दोस्रोपटक झन्डै तीन बर्षदेखि सत्ताको बागडोर सम्हालिरहेका छन् । माओवादी जनयुद्धका सुप्रीमो उनै प्रचण्डको पार्टी लगभग दुई तिहाई बहुमतको सहुलियत सहित सत्तामा छ । प्रचण्ड आफैं दुईपटक देशको प्रधानमन्त्री बनिसके । सर्वहाराकै नारा दिएर राजनीतिमा स्थापित भएका मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईहरु आलोपालो यो देशको प्रधानमन्त्री भैसके । यतिबेला स्थानीय तहदेखि प्रदेश सभाहुँदै केन्द्रसम्म कम्युनिस्ट पार्टीको आफ्नै बहुमतको सरकार छ । यो अबस्थामा सामान्य नागरिक भएर ओली, प्रचण्डहरुलाई एउटा शालीन प्रश्न गरौं - सर्वहाराको मुक्ति कहिले हुन्छ ? समाजवाद कहिले आउँछ ? नागरिक सर्बोच्चता कहाँ आइपुग्यो ? निसन्देह यी सबै प्रश्नको जवाफ यहीँ आउनेछ 'यो कार्यभार पुरा गर्नका लागि नेकपालाई फेरि अर्को चुनाव जिताउनुहोस् !' जसरी कहिल्यै कसैले नदेखेको तर मरेपछि पुगिन्छ भन्ने चरमपन्थका कारण स्वर्गलोकप्रति मान्छेको विश्वास टुटेको छैन, त्यस्तै सर्वहारा मुक्तिको नाराले निरीह जनतालाई दिग्भ्रमित बनाउन नेपालका कम्युनिष्टहरु राम्रैसँग सफल भएका छन् ।

हुनत नेपालका कम्युनिस्टहरु आफुलाई लोककल्याणकारी समाजवादी राज्य ब्यबस्थाको हिमायती ठान्छन् । लोकतान्त्रिक समाजवादी राजनीतिक विचारधाराबाट मुलुक निर्माणमा तल्लीन भएको भाषण दिन्छन् । तर व्यबहारमा ठीक उल्टो गर्छन् । सरकार बाहिर हुँदा शिक्षा र स्वास्थ्य निशुल्क गर्छौं भन्नेहरु सत्तामा पुगेपछि शिक्षा र स्वास्थ्यकै नाफाको ब्यापारमा लागेका छन् । कोरोना भाइरसको महामारीसँगै रोग, भोक, शोक र प्राकृतिक प्रकोपबाट प्रताडित नागरिकले लोककल्याणकारी समाजवादी सरकारको रत्तिभर अनुभुति गर्न पाएका छैनन् । अनेकन अपराध र असुरक्षाले सिमा नाघेको छ । कृषकले बिउ, बिजन र मल पाएका छैनन् । बैंक, सहकारी र साहु महाजनबाट ऋण लिनेहरुको बिचल्ली भैसक्यो । समग्रको ब्यापार व्यवसाय चौपट छ । उद्योग धन्दा ठप्पप्रायः छन् । महंगीले आकाश छुन लाग्यो । यस्तो बेला पनि नागरिकले सकि नसकी कर तिरेर राज्यप्रति उत्तरदायी बन्नुपरेको छ । तर संकटमा पनि राज्य नागरिककाप्रति उत्तरदायी बन्नु नपर्ने, उनीहरुलाई कुनै सहुलियत दिनु नपर्ने यो कस्तो समाजवादी सरकार हो ?

सर्वहारा वर्गको मुक्तिका खातिर १४ बर्ष कारावास बसेका भनिएका ओली र १० बर्ष बनवास पसेका प्रचण्डहरुले यतिबेला सिंहदरबारको सिंहासनबाट सुमार्गी, गोल्छा, मार्सी मोहन, घरबेटी ठेकेदार, यति, ओम्नी अनि नव युवराजहरु मात्रै देख्छन् । टुंडिखेलमा भोकले चिच्याएको हजारौंको भीड पटक्कै देख्दैनन् । मल नपाएर तड्पिएको किसान देख्दैनन् । रोजगार गुमाएर भौतारिएको मजदुर देख्दैनन् । उपचार नपाएर छट्पटीएको गरिब देख्दैनन् । न्याय नपाएर रोइरहेका हजारौं निर्मलाहरु देख्दैनन् । पीडा नै पीडाले आत्महत्या गर्न विवश दरिद्र नागरिकहरु देख्दैनन् । विदेशमा अलपत्र परेका आफ्नै दाजुभाइहरु चिन्दैनन् । बरु चिन्ता त सर्प र अरिंगालहरुको पो लाग्दछ विचरा कमरेडहरुलाई !

देखिनुपर्ने ठाउँमा सरकार नदेखिए पनि उसको स्वेच्छाचारीताले भने सिमा नाघेको छ । मुलुकमा संस्थागत भ्रष्टाचारले नयाँ इतिहासनै रचेको छ । अख्तियार, अदालत, पुलिस प्रशासन नेकपाको लाचार छाँया बनेका छन् । सार्बजनिक संस्थानहरु नेकपाको कार्यकर्ता भर्ती केन्द्रमा परिणत भएर अझै टाट पल्टदैछन् । सरकार परिवारवाद, नातावाद र फरियावादमा रुमल्लिएको छ । आफ्ना भजनमण्डलीदेखि अरिंगाल, सर्प, यति, ओम्नीको पोषणमा भने कुनै कसर बाकीँ राखेको छैन । सत्तामा हुनेहरूको राजषी शैली, सुरक्षा घेरा, तडकभडक ताजुवलाग्दो छ । देशको अर्थतन्त्र तहसनहस हुँदा पनि आफ्नो सत्ता टिकाउन विभिन्न फाउन्डेसनका नाउँमा अर्बौं दान गर्ने उदारताले आफू सर्वाङ्ग नांगिएको पत्तो पाएका छैनन् कामरेड ओलीले। उनको समृद्धिको वायुपंखी घोडा उल्टो तालमा दौडिरहेकै छ ।

हुनत संसारका कम्युनिष्ट शासकहरुको इतिहाससँग तुलना गर्न हो भने हाम्रा शासकहरुको मोजमस्ती अझै पर्याप्त नहुन सक्छ । क्युवाका कम्युनिस्ट तानाशाह फिडेल क्यास्ट्रोले ३५ हजार महिलालाई यौन दासी बनाएका थिए । बर्सेनि लाखौं नागरिक भोकले मर्थे तर ऊनी अबौंं सम्पत्तिका मालिक थिए । रुमानियाका राष्ट्रपति चाउचेस्कुले शौचालयमा पानी बग्ने पाइप पनि सुनकै प्रयोग गर्थे । देश कंगाल थियो तर उनले आफ्ना लागि बिश्वकै ठूलो दरबार बनाउन लगाए । उनकी श्रीमतीलाई सबैले आमा भन्नुपर्थ्यो । माओले निजी सम्पत्तिका लोभीहरु कम्युनिस्ट हुन सक्दैनन् भनेर आदर्श बाँडे तर उनैको सन्तान संसारको अर्बपतिको लिस्टमा छन् । आजपनि उत्तर कोरियाको जुनसुकै सम्पत्ति होस् वा सुन्दरी त्यहाँको राष्ट्रपति किम जोन उलकै इच्छा अनुसार सुम्पनु पर्ने बाध्यता छ । नागरिकहरु खान नपाएरै मर्दछन् तर उत्तर कोरियामा नागरिकले बोल्ने वा बिरोध गर्ने स्वतन्त्रता छैन । आफू र आफ्नाहरुका लागि सकेजती सुविधाको भोग गर्न कुनै कसर बाँकी नराख्ने ओली, प्रचण्डहरुले पनि कतै यस्तै रामराज्यको परिकल्पना गरेका त होइनन् ?

सिद्धान्तत: सर्वहाराको स्वार्थ भन्दा कम्युनिष्टको अर्को स्वार्थ हुँदैन । कम्युनिष्ट अर्थब्यबस्थामा शोषक बर्ग हुदैनन्, पुँजीपति बर्ग हुदैनन् । त्यसो त कम्युनिष्ट डिक्सनरीमा नागरिक भन्ने शब्द पनि हुँदैन । सबै सर्वहारा हुन्छन् । मार्क्स र एंगेल्सद्वारा १८४८ मा लिखित कम्युनिष्ट घोषणापत्रले यहीँ भन्छ कि सर्वहाराको राज्य र राष्ट्रियता नै हुँदैन । उनीहरुको अन्तर्राष्ट्रियवाद हुन्छ, त्यो कसैले खोस्न सक्दैन । कम्युनिष्ट घोषणापत्रमा मार्क्स, एङ्गेल्सले पुँजीपतिले मजदुरलाई गर्ने शोषण र त्यसका बिरुद्ध मजदुरले गर्ने संघर्षकाबारे गहन ढंगले उल्लेख गरेका छन् । नेपालको सन्दर्भमा यहीँ सिद्धान्तलाई हेरौं, के व्यक्तिगत सम्पत्तिमा मरिहत्ते गर्ने, हरेक आयोजनामा करोडौं घोटाला गर्नेहरु समाजवादी वा सर्वहाराका नेता हुन सक्छन् ? चारैतिर माफियाहरुको इशारामा चल्ने सरकार पनि कम्युनिष्टको सरकार हुन्छ ? हरेक क्षेत्रमा सरकारी संरक्षण प्राप्त दलाल, तस्कर र माफियाहरुको रजगजले पुर्याउने गन्तव्य कता हो ? के यो देशमा प्रधानमन्त्री र मन्त्रीका आसेपासे, भजनमण्डलीहरुले जति नै अवसर आम सर्वसाधारणले पाएका छन् ? अवश्य छैनन् । त्यसो भए आजका शोषक बर्ग को हुन् ? सामन्त को हुन् ? मजदुरमारा को हुन् ? सर्वहाराको रोजीरोटीका लागि चुइक्क नबोल्नेहरु को हुन् ? श्रमिकको पसिनाबाट जेनतेन धानिदै आएको देश ब्रम्हलुट गर्नेहरु को हुन् ? हिजोका सबै शासकहरुलाई शोषक र सामन्त देख्ने कम्युनिष्ट कार्यकर्ताले आजभोलि स्वयं ओली, प्रचण्डको चेहरामा सामन्तवादको झल्को देख्छन् कि देख्दैनन् ?

गएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कम्युनिष्टहरुलाई इतिहासले बहुमतको सरकार बनाउने स्वर्णिम अवसर दियो । देश र जनताप्रति इमान्दार भएको भए शायद अझै धेरै वटा निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई अनुमोदन गर्न सक्थे । तर सरकार पुर्णतः लूटको खेतीमा मस्त छ, अनेकका उट्पट्याङ बाड्नमै ब्यस्त छ । सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने कम्युनिष्ट सरकारले सिंहदरबारमै जन्मिएको झै आफैं जन्मेको र चुनाव जितेर आएको गाउँ देख्दैन । जनताको दु:ख बुझ्दैन । समाजमा ब्याप्त बेरोजगारी, भोकमरी, पछौटेपन, दरिद्रता, अभाव, अविकास, हिंसा, विकृति, विसंगति आदिमा कतै सरकारको नजर पुग्दैन । मजदुर, किसान, भोका नाङ्गा, बेरोजगार, असहाय कसैलाई सरकार भएको अनुभुति दिन सकेको छैन । उत्पादन र बितरणमै सरकारी नीति फ्लप भएको छ । खाद्य उपजमा देशको परनिर्भरता झनै बढेको छ । भएका उद्योगधन्दा धमाधम बन्द हुँदैछन् । जेनतेन चलेका उद्योगहरुमा मजदुरले श्रमको मूल्य पाएका छैनन् । सरकारी खर्च व्युत्पादक क्षेत्रमा मात्रै देखिन्छ । वैदेशिक रोजगारमा गएका लाखौं युवाहरूले रोजगारी गुमाउँदैछन् । तिनको ब्यबस्थापनको कुनै नीति कार्यक्रम सरकारसँग छैन । उता युवाहरूको विदेश पलायनको शृङ्खला पनि रोकिनेवाला छैन । समाजमा यति धेरै डिप्रेसन र आत्महत्याको अवस्था कहिल्यै थिएन । यस्ता यावत यथार्थलाई नबुझ्ने, नदेख्ने, नहेर्ने, कुनै ठोस नीति र कार्यक्रम नै नभएको यस्तो बेचैनको सरकार पनि समाजवादी सरकार हुनसक्ला ?

भलै नेपालमा कम्युनिष्ट आन्दोलनले केहि सकारात्मक परिवर्तन ल्याएको कुरा निश्चित हो । कम्युनिष्ट-कांग्रेस सहकार्यबाट पछिल्लो राजनीतिक परिवर्तन सम्भव भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता थुप्रै परिवर्तनमा कम्युनिष्ट-कांग्रेस सहकार्य भएकै हो । तर आज नागरिकमा यो ब्यबस्थाप्रति जे जति पनि वितृष्णा जागेको छ, त्यस्को मुख्य दोष कम्युनिष्ट पार्टीको सरकारलाई जान्छ । विपत्तिको समयमा समेत सबै कुरा भुलेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले जनताले बर्सौ लडाइँ गरेर ल्याएको उपलब्धीलाई रक्षा गर्ने सामर्थ्य गुमाउँदैछ । यस्तो महामारीको बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सेक्युरिटी प्रेसमा भ्रष्टाचार, दुरसंचार फोरजी सेवामा भ्रष्टाचार, नेपाल ट्रष्टको जग्गा, बालुवाटार जग्गा, आयल निगमको जग्गा खरिदमा चरम भ्रष्टाचार, नक्कली भ्याट्बिल, वाइडवडी खरिद, कर फर्छ्यौमा अनियमितता आदि राज्यको पैसामा सरकारी नग्नताको केहि प्रतिनिधि उदाहरण मात्रै हुन् । निश्चित छ कि आफ्ना भजन मण्डलीहरुका लागि मात्रै बालुवाटारमा २ अर्बको चिया नास्ताको बिल उठाउने ओली सरकारले देशलाई पुर्णरुपमा कंगाल बनाउन अब धेरै समय लगाउने छैन ।

केवल ओली, प्रचण्ड र बिद्या भण्डारीहरुको मनोमानी र विलाशीताका लागि नै कम्युनिस्ट कार्यकर्ताले ज्यानको बाजी थापेर मुड्की उठाएका हुन् भने भन्नु केहि छैन । होइन भने सबै देशभक्त श्रमजीवी कम्युनिस्ट कार्यकर्ताहरुले अब बुझ्न ढिला भै सकेको छ कि उनिहरु आफ्नै नेताबाट लुटिदैछन्, ठगिदैछन्, शोसित हुँदैछन् । बलात्कृत हुँदैछन्, अपमानित हुँदैछन्, अन्याय सहदैछन् । यसरी कुनै वर्गको मुक्ति हुनेछैन । बरु असली कार्यकर्ताको मौनताले ओली, प्रचण्डहरुको भने पुस्तौं पुस्ताको मुक्ति हुनेछ । वास्तवमा समाजवाद भन्नु नै समानता हो । निमुखाका लागि न्याय हो, विपन्नका लागि आय हो समाजवाद । सबै नागरिकको गाँस, बास र कपासको आधारभुत आवश्यकता परिपुर्ति गर्नु समाजवादको न्युनतम ध्यय हो । गाउँ नचिन्ने, गरिवलाई नदेख्ने, निमुखालाई नहेर्ने, मजदुरलाई नबुझ्ने, रोग, भोक र शोकमा समेत मजाक गर्ने ओली नेतृत्वको उट्पट्याङ सरकार कतैबाट पनि समाजवादी सरकार हुनै सक्दैन । मा यो श्रीपेच नपहिरिएको सामन्तवादी सरकार नै हो । यथाशक्य यसको अन्त्य जरुरी छ ।

(लेखक नेपाली कांग्रेस रामेछापका प्रदेश समिति सचिव हुन)


प्रतिक्रिया :

नयाँ