arrow

चुनावमा धाँधली भएको विपक्षीको आरोप, किर्गिजस्तानमा संकटकाल

logo
एपी,
प्रकाशित २०७७ असोज २८ बुधबार
Kyrgyzstan.jpg

मस्को । किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ । हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी समेत देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गरेका थिए । 

राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संकटकालीन आदेश जारी गरेका थिए, तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो । सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गरेका थिए र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो । 

किर्गिजस्तानका राष्ट्रपतिको राजीनामा माग्दै राजधानी विश्केक समेत धेरै स्थानमा हिंसात्मक विरोध प्रदर्शन समेत भएका छन् । गत अक्टोबर ४ मा सम्पन्न संसदको चुनावमा सत्तारुढ दलले नै चुनाव जितेको घोषणा गरेलगत्तै विपक्षीहरुले चुनावमा धाँधली भएको भन्दै विरोध शुरु गरेका थिए ।  

प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा समेत आक्रमण गरेका थिए । मतपरिणाम सार्वजनिक भएलगत्तै भड्किएको जुलुसले ११ वर्षे जेल जीवन बिताइरहेका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभलाई जेलमुक्त गरेका थिए । उनीमाथि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा जेलमा राखिएको छ तर विपक्षीहरुले राष्ट्रपति जीन्बेकोभले राजनीतिक प्रतिशोध लिएको बताएका छन् । 

तर हिंसा भड्काएको आरोपमा शनिबार नै अटामबायेभलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । 

पन्ध्र वर्षको अन्तरालमा प्रदर्शनकारीले किर्गिजस्तानको सरकार तेस्रो पटक ढालिसकेका छन् । पूर्व सोभियत युनियनबाट अलग भएको र करिब ६५ लाख जनसंख्या रहेको किर्गिजस्तान सबैभन्दा गरिब राष्ट्र हो ।

राजधानी विश्केक समेतका स्थानमा भड्किएको हिंसा नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नुका साथै निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ