arrow

ओलीले पौडेल र पोखरेलको सल्लाह किन मानेनन ?

बामदेव र सुरेन्द्रको दावी मात्र रह्यो मन्त्रालय पाए अरुले नै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३० शुक्रबार
pm-kp-oli-2019.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवादकै क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । आफ्नै समूहका नेताहरुलाई मात्रै समेटेर मन्त्रिपरिषद विस्तार गरेपछि नेकपाको सुल्झदै गएको विवाद बल्झने खतरा बढेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग दिनहुँ छलफलमा रहेपनि मन्त्री थप गर्ने बारेमा भने उनीसँग ओलीको कुरा मिलेन । वरिष्ठ नेता माधव नेपाललाई त सोध्ने कुरा पनि भएन । तर ओलीले यसबीचमा मन्त्रिपरिषद् विस्तार गरेर दुवै नेतालाई एकैसाथ पन्छाइदिए । 

बुधबार मन्त्रिपरिषद विस्तार गर्नुअघि महासचिव विष्णु पौडेल र प्रदेश ५का मूख्यमन्त्री शंकर पोखरेलसँग प्रधानमन्त्री ओलीले हल्का सल्लाह गरेका थिए । वालुवाटार निकट स्रोतका अनुसार बुधबार म केही साथीहरुलाई नयाँ जिम्मेवारी दिदैछु तपाईहरुको राय के छ भनेर ओलीले पौडेल र पोखरेलसँग राय मागेका थिए । त्यसको जवाफमा दुवै नेताले तत्काल कर्णाली प्रदेशमा विवाद आएकाले अहिले अर्थमन्त्री मात्रै नियुक्त गरौ अन्य मन्त्रालय माधव नेपाल पक्षका साथीहरुलाई दिदा राम्रो हुन्छ त्यस्तो भए पार्टीभित्र सन्तुलन मिलेको पनि देखिन्छ भन्ने सल्लाह दिएका थिए । उनीहरुले भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय र असोज ६ गतेको सचिवालय बैठकले गरेको निर्णय सम्झाउँदै तत्काल अर्थमन्त्रालयमा अप्ठ्यारो फूकाउन अर्थमन्त्री मात्रै नियुक्ति गर्न सल्लाह दिएको स्रोतको दावी छ । तर ओलीले उनीहरुको सल्लाह मान्नु आवश्यक ठानेनन् र बुधबार नै उनले पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिएर मन्त्रिपरिषद विस्तार गरिदिए । ‘पार्टीीभत्र विवाद हुन्छ भनेर उहाँहरुले तत्काल अर्थमन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्न सल्लाह दिनुभएको थियो तर प्रधानमन्त्रीज्यूले मान्नु भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘दशैतिहार पछि मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्ने कुरा छ क्यार पार्टीको विवाद त्यसमै सम्बोधन हुन्छ होला ।’ पूर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवा नेम्वाङले पनि तिहार पछि मन्त्रीमण्डलमा व्यापक फेरवदल हुने बताएका छन् । 

पौडेल र पोखरेलको सल्लाह नमान्दा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधव कुमार नेपालले भने त्यसैदिन असहमति जनाएका थिए । प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपाको म्यान्डेटअनुसार नभएकोमा आपत्ति जनाएका थिए । त्यस्तै, नेता नेपालले पनि आफू निकटका नेताहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद पुनर्गठन गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् १२ औं पटक पुनर्गठन गर्दै गर्दा माधव नेपाल समूहका पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भूषाल मात्रै छन् । ओली मन्त्रिपरिषदमा अहिले उनकै समूहको बहुमत रहेको छ । 

पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार दिउँसो मन्त्रिपरिषदमा हेरफेरको विषयमा संवाद भएको थियो । दिउँसो प्रचण्डसँग भएको छलफलमा ओलीसँग कुरा मिलिराखेको थिएन तर पनि  प्रधानमन्त्री ओलीले साँझ मन्त्रिपरिषदमा हेरफेर गरेर सिफारिस राष्ट्रपतिकहाँ पठाइदिएर प्रचण्डलाई समेत छक्याइदिए । रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएपछि अब ओली सरकारमा बहुमत मन्त्री उनी निकटका नेताहरु रहेका छन् । यसअघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थिए उनलाई सञ्चारमा पठाइदिए । उता उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मात्रै जिम्मेवारी दिइएपछि उनको घटुवा भएको अर्थ लागेको छ । यद्यपि उपप्रधानमन्त्री पोखरेल खुशी भएरै कार्यभार सम्हालेका छन् । अर्थ मन्त्रालयमा उपाध्यक्ष वामदेव गौतम र नेपालनिकट नेता सुरेन्द्र पाण्डेको पनि दाबी थियो तर प्रधानमन्त्रीले आफू निकटका व्यक्तिलाई अर्थ मन्त्रालय दिनेभएपछि उनीहरुको दावी मात्रै रह्यो मन्त्रालय भने अर्कैले पायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ