arrow

स्याङजाको चन्द्रकोट कृषि, प्यारागलाडिङ् र होमस्टेको लागि तयार गरिदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1993982611.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा। पर्यटकीय सम्भावना निकै रहेका स्याङ्जाका ग्रामिण क्षेत्रलाई व्यवस्थित र प्रचार प्रसारको खाचो देखिएको छ। अत्यन्तै रमणीय गाँउहरु भएर पनि व्यवस्थापन र प्रचार प्रसार नहुँदा धेरै ग्रामिण क्षेत्रका सुन्दर गाँउवस्तीहरु ओझेलमा परेका छन्। जिल्ला पर्यटन विकास समितिको कम चासोका कारण त्यस्ता गाँउहरु ओझेलमा परेका छन्। प्रचार प्रसारको अभावले ओझेलमा परेको गाउँ हो सिर्सेकोट गाविसको काउले गाँउको चन्द्रकोट। गुरुङ्वस्तीको त्यो गाँउ समुन्दी सतहबाट १ हजार ८ सय ५० मिटर उचाइमा रहेको छ। गाँउलाई पर्यटन प्रवद्धन गर्न दुई युवा अहिले लागी परेका छन्। कफी खेतीका लागि योग्य मानिएको यस गाँउमा कफी खेती गर्ने योजना बुन्दै छन् दुई युवा कृष्णजंग केसी र वोधराज अर्याल। जिल्लालाई कफी खेतीको हव बनाउने योजना सहित करिव १५ बर्षदेखि कफी व्यवसाय गर्दै आएका केसी र अर्यालले सिर्सेकोटको चन्द्रकोटलाई कफी खेतीको रुपमा विकास गरी चिनाउने प्रयत्नमा जुटेको बताउँछन्। 
 
कफी खेती जति उच्च भागमा लगायो त्यती राम्रो हुने भएकाले दुई युवाले स्याङ्जाका विभिन्न गाँउ चाहर्दै जादा यो गाँउ फेला पारेका हुन्। नेपालमा अहिलेसम्म यो उचाइसम्म कफी खेती गरेको पाइदैन। यो उचाइमा कफी खेतीगर्न सफल भएमा नेपालको सबै भन्दा बढी उच्च ठाँउ चन्द्रकोट मानिने छ। कफीखेतीले चन्द्रकोटलाई चिनाउने प्रयास दुई युवाले गरेपनि उनीहरुले यस क्षेत्रलाई पदयात्रा र प्याराग्लाइडिङको गन्तव्य बनाउने सोचमा रहेको कृष्णजंग केसी बताउछन्। यहाँबाट हिमश्रृङखलाहरु लहरै देख्न सकिन्छ भने १२ जिल्ला प्रष्ट सगँ देख्न पनि सकिन्छ। अहिलेसम्म पनि यो गाँउमा कुनै सरकारी योजना समेत नपरेको स्थानीयको भनाईलाई उदृत गर्दै कृष्णजंग केसी भन्छन् गाँउमा सामाजिक अगुवा नभएकाले पनि सरकारी योजना नपरेको हो। 
 
पर्यटन प्रवर्द्धन गर्न चाहिने बिषय भएर पनि यो गाँउ ओझेलमा पर्नु स्याङ्जा जिल्लाकै लागि दुर्भाग्य भएको अर्का युवा बोधराज अर्यालको भनाई छ। हामीले पहिलो चरणमा ५ हजार कफीका विरुवा लगाउने योजना बनाएका छौ अर्यालले भने। कफी मात्रै होइन नेपालमै लोप हुन थालेको सखरखण्ड र कालो भट्टमासको खेती समेत यहाँ राम्रो हुन्छ। गाँउमा एग्रो टुरिजमको विकास गर्न सकेमा चन्द्रकोटलाई मात्रै होइन जिल्लालाई समेत विश्वभर चिनाउन सकिने उनीहरु बताउँछन्। उचाइमा भएर पनि खेतीयोग्य जमिन प्रशस्त भएकाले १ घर १ सय बेर्ना कफी खेती अभियान सञ्चालन गरिएको छ। स्थानिय कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कफिका बेर्ना र आवश्यक प्राविधिक सल्लाह समेत निशुल्क प्रदान गर्दै विस्तारै सिताके च्याउ उमार्ने योजनामा लागेको युवाहरुको भनाई छ। उच्च स्थानमा फराकिलो मैदान र प्राकृतिक मनोरम वातावरण भएपनि पर्यटन प्रवर्दन गर्न सम्वन्धीत निकायको ध्यान नपुग्दा यस्ता ठाँउहरु ओझेलमा पर्दै आएका छन्। 
 
जैविक विविधतामा धनी र औषधिजन्य जडिबुटी समेत रहेको यो ठाउँलाइ अगाडि बढाउन स्थानीय यूवाहरुले समेत साथ दिने बताइएको छ। कृषि, प्यारागलाइडिङ्, होमस्टे लगायतको विषेशतामा रहेको चन्द्रकोट पर्यटन प्रवद्धनको नयाँ गन्तव्य बन्न सक्ने आँकलन गरिएको छ। सबै क्षेत्रबाट यसको व्यवस्थापन र प्रचार प्रसार हुन सकेमा पर्यटन व्यवसायबाटै गाँउ र जिल्लालाई आर्थिक सम्पन्न बनाउन सकिने देखिन्छ। यस क्षेत्रमा पुग्न सिद्धार्थ राजमार्गको वायाटारीबाट बाट करिव ८ किलोमिटर कच्ची सडक हिडेपछि पुग्न सकिने कृष्णजंग केसीको भनाई छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ