arrow

एक लाखसम्म संक्रमित पुगेको भारतमा दैनिक ५० हजारको हाराहारीमा झर्‍यो

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
corona-india-abroad.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ ।  कोरोनाभाइरसको महामारी शुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । 

दैनिक झण्डै एक लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्याङ्मा देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् । 

सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या ७६ लाख ५१ हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ । 

कुल संक्रमित मध्ये सात लाख ४० हजार ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि तथ्याङ्कमा देखिएको छ । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस संक्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो । 

संक्रमित भएर पनि निको भइसकेकाहरुको कुल सङ्ख्या ६७ लाख ९५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।  त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख १५ हजार ९१४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार ७५५ जना संक्रमित अवस्थामै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ