arrow

नेकपा सवार प्लेन ‘क्रयास’ को बाटोमा हो ?

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । बिहीबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा नेकपा सवार प्लेन ‘क्रयास’ को बाटोमा जान लागेको संकेत गरे । 

उनले स्टाटसमा लेखे, ‘फेरि जहाज हल्लिन थाल्यो – पाइलट थोकेको हो कि मौसम बदलिएको हो ? गन्तव्यभन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहै हुनुपर्ने हो । यस्तो बेला पछाडि बसेका यात्रुलाई असाध्यै डर लाग्छ ।’

उनको यो स्टाटसले उनी लगायत नेकपाको प्लेनमा पछाडि बसेका नेता तथा कार्यकर्ता असाध्यै डराएको अनुभूति गरेको पाइन्छ । 

जब जहाज हल्लिन्छ तब त्यसले निम्त्याउने दुर्घटना नै हो । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र मिलेर बनेको नेकपाको बडेमाको जहाजले यदि नियन्त्रण गुमायो भने त्यो क्रयास हुन्छ । यदि क्रयास भयो भने त्यसको परिणाम सबैलाई अवगतै छ । 

रिजालले प्रश्न गरेका छन् कि पाइलट थाकेको हो कि मौसम बदलिएको हो ? यसले भन्छ यदि यो जहाजलाई सही अवतरण गर्ने हो भने पहिले पाइलट र मौसमको अवस्था जानौं । केले गर्दा जहाज हल्लियो । त्यसको पत्तो लागेको छैन । 

तर रिजालले ‘गन्तव्यभन्दा लामो उडान भर्दाका जोखिम त सबैलाई थाहा हुनुपर्ने हो’ भनी जुन वाक्य लेखेका छन् यसले अब नेकपा फुटको संघारमा पुग्यो भन्ने संकेत गरेको छ । 

रिजाल जस्ता थुप्रै नेताका प्रतिनिधि प्रतिक्रिया प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी सत्ता र पार्टी संचालन गर्दाका परिणाम हुन् । 

गत असारमा नै प्लेन क्रयास हुने अवस्थामा पुगेको थियो । जब ओलीले आफू प्रधानमन्त्री भएकै बेलामा भारतले आफूलाई हटाउन चाहेको र त्यसमा आफ्नो दलका शीर्ष नेताहरुले दलालको भूमिका खेलेको आरोप ओलीले लगाएका थिए त्यति नै बेला शीर्ष नेताहरुले हिसाब किताब गर्नुपर्ने थियो । 

स्थायी कमिटी बैठक चलिरहेका बेलामा नेताहरुले त्यही बैठकबाटै निर्णय गर्नुपर्दथ्यो । तर ओलीले पार्टीको चाबी र साँचो आफैले राखेका कारणले पनि कहिले बैठक स्थगित गराए, कहिले लम्ब्याए । 

अनि त्यतिबेला संगठित भएको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल–झलनाथ खनाल–बामदेव गौतम पक्षलाई ओलीले टुक्रयाउन खोजे । टुक्र्याए पनि । 

माधव नेपाललाई बेवास्ता भयो । प्रचण्ड ओलीको आश्वासनको चास्नीमा डुबे । कार्यकारी अध्यक्ष पाइहाले पनि । झलनाथलाई सर्प पाल्न पैसाको जोहो गरिदिए र बामदेवलाई मन्त्री बनाउने आश्वासन दिएर उक्त इतर पक्षको बलियो गठबन्धन तोड्न सफल भए । 

माधवकुमार नेपाल पक्षलाई अगाडि पर्न नै दिएनन् । किनकि तर्क गरेर यदि बलियो रुपले अगाडि अगाडि आउन सक्थ्यो त माधव नेपाल पक्ष । त्यसैले ओलीले भेटसमेत गरेनन् । 

त्यतिबेला प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्नेमा स्थायी कमिटी बैठक थियो । ओलीले आफ्नो कुटील गोटी चाल्दा चाल्दै त्यो समयलाई व्यवस्थापन गर्न सके । 

स्थायी कमिटीले एउटा गम्भीर निर्णय गर्यो अब आइन्दा ओलीले सरकार चलाउँदा शीर्ष नेताहरुले राय लिने र प्रचण्डले पार्टी चलाउँदा पनि शीर्ष नेताहरुको राय लिने । 

तर त्यसलाई ओलीले लत्याइदिए । हेर्दाहेर्दै उनले मन्त्रिपरिषद्मा बिना सहमति आफ्ना मान्छे भरे । राजदूत नियुक्तिका लागि पनि आफ्ना मान्छेलाई सिफारिस गरे । त्यस्तै सरकारको मूख्य सचिव पनि आफ्नै एकलौटी निर्णयमा फेरे । 

ओलीले पटक पटक प्रचण्डसँग भेट गरे पनि कुनै सल्लाह र राय नै लिएनन् । अन्ततोगत्वा प्रचण्ड पंगू नेता गनिएका छन् । प्रश्न उठ्ने गरेको छ – आखिर प्रचण्ड के खान ओलीले बोलाएपछि लुरुलुरु बालुवाटार जान्छन् ? 

ओलीले आफूखुशी काम गरिरहेका छन् । जनताका कुरा सुनिरहेका छैनन् । हुँदाहुँदा कोरोना भाइरसको महामारीको उपचार सरकारले नगर्ने घोषणा गर्दिए । यसमा नेताहरुको विरोध भइरहेको छ । माधव नेपाल पनि बोलेका छन् । 

नेपालसँग साउनदेखि अहिलेसम्म ओलीले कुरासमेत गरेका छैनन् । बामदेवलाई घर न घाटको बनाइएको छ । राष्ट्रियसभा सांसद बनाए पनि त्यसको वैधानिकताबारे मुद्दा परेपछि सर्वोच्च अदालतमा विचाराधीन छ । स्रोतका अनुसार उनको मुद्दा ओलीको चाहनामा लम्ब्याइएको हो । 

गौतम न त ओलीको समर्थनमा चिच्याउन सकेका छन् न त प्रचण्ड–नेपालतिर जान लागेका छन् । तर पटक पटकको धोकाका कारण अब प्रचण्ड–नेपाल नफुट्ने गरी जोडिइरहेको स्रोतको दावी छ । जोडिन फेरि पनि फेबिकलको काम गौतमले गर्दैछन् । 

यो परिस्थिति समयले निम्त्याएको दावीसमेत गरिएको छ । ओलीले सबै नेतालाई दिएको धोकाको हिसाबकिताब गर्न ढिला भएको निष्कर्षमा नेताहरु पुगेको समेत बताइन्छ । 

अझ कर्णाली प्रदेशमा सत्ता समीकरणको विषयलाई लिएर अहिले गम्भीर छलफल भइरहेको छ । सम्भवतः यो घटनाले पनि ओलीलाई अझ एक्ल्याउन बल मिल्ने देखिएको छ । 

कर्णाली प्रदेशको विवाद चर्कदै जाँदा ओलीले माधव नेपाललाई बालुवाटारमा बोलाएर गत मंगलबार फकाउने कोशिस गरे । नेपाललाई ओलीले कर्णाली विवादमा मौन बस्न आग्रह गरे । प्रचण्डलाई गलाउन नसकेपछि ओलीले माधव नेपाललाई बोलाएका थिए । 

कर्णालीको समस्या समाधान गर्ने विषयमा ओली र प्रचण्डबीच मत बाझिएको छ । ओलीले जहिले फकाउनेमात्र तर व्यवहारमा कहिल्यै नरम नहुने भएसँगै यसपटक प्रचण्ड पनि कठोर बनिरहेका छन् । 

सोतका अनुसार इतर पक्ष बलियो भएर अगाडि बढ्दैछ । बालुवाटारमा भएको दुई अध्यक्षको भेटघाटमा ओलीले पुरानै अवस्थामा फर्कन दुवै पक्षलाई आग्रह गरिने बताएपछि प्रचण्डले प्रदेशको निर्णय गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने जिकिर गरेका थिए । दुई अध्यक्षबीच मत बाझिएपछि नेपालसँग ओलीले छलफल गरेपनि नेपालले पनि खासै साथ नदिएको स्रोतको दावी छ । 

यसले पनि स्पष्ट भन्छ कि असारको तिक्ततालाई भदौ अन्तिममा आएर चिनियाँ प्रभुले पार्टीको फुटलाई मिलाउन सफल भएका थिए । तर अहिले आएर कुन प्रभुले पार्टी मिलाउलान् त भन्ने चाँसो एकाथरिलाई छ भने एकथरी अब ओलीकै भरोसमा अगाडि जाने हो भने नेकपाको प्लेन क्रयास हुने निश्चित भएको तर्क गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ