- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापा र मोरङ जिल्लाका स्थानीय बजारहरुमा लाग्ने लोपोन्मुख सन्थाल जातिको दशैं मेलाको रौनक यसवर्ष नदेखिने भएको छ । बिगतका वर्षहरुमा बर्सेनि ब्यवस्थित किसिमले मेला आयोजना हुँदै आएता पनि यस वर्ष कोरोना भाइरसको प्रकोपका कारण जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तहहरुले यस्ता किसिमका कुनै मेला महोत्सव नहुने जानकारी गराइसकेका छन् ।
विशेषगरी ती जिल्लाहरुमा बिगत लामो समयदेखि बसोबास गर्ने सन्थाल जातिको आफ्नै किसिमको परम्परागत नृत्यलाई लोप हुनबाट जोगाउन र प्रोत्साहन गर्न हरेक वर्ष झापाको चारआलि, गरामुनी, सैनिकमोड, टाघनडुब्बा, फूलवारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, लखनपुर, सरङ्पाडा, गौरिगन्ज, गौरादह, ग्वाल्डुबा लगायतका बजार तथा मोरङको रंगेली, रामचौक, दोहमना, आमतोला, लक्ष्मीपुर, कर्सिया, खोरकाटा, विसनपुर र लक्ष्मुनिया, राजघाट, होक्लाबारी, बयरवन र केरौनमा सन्थालहरूको बसोवास रहेको हुँदा ती स्थानहरुमा लाग्ने स्थानीय मेलामा उनीहरुले आफ्नो संस्कृति झल्कने नृत्यहरु प्रदर्शन गर्ने गरेको पाइन्छ ।
हरेक वर्ष दशैंको रौनक बढेसँगै झापा र मोरङ जिल्लामा बसोबास गर्ने लोपोन्मुख सन्थाल जातिहरू परम्परागत जातीय नृत्यमा रमाइलो मनाउन स्थानीय बजारहरुमा लाग्ने मेलामा भेला हुने गर्दथे ।
खासगरी प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दशैं र तिहारको बेला उनीहरुकै भासामा भनिने दासाई नृत्यमा रमाउने गर्दथे ।
कोरोना प्रकोपका कारण दशैं पर्वको अवसरमा स्थानीय बजारहरुमा लाग्ने लोपोन्मुख सन्थाल जातिको दशैं मेला र ती मेलाहरुमा देखिने सन्थाल नृत्यको आकर्षक देख्न नपाइने भएको छ ।
दशैं र तिहारको समयमा गाउँगाउँमा लाग्ने मेलामा सन्थाल युवाहरूको दासाई नाच प्रमुख आकर्षण हुने गरेको थियो । सन्थाल नाच नभएको दशैं मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन् ।
त्यसमा पनि त्यस्ता किसिमका मेला महोत्सव नहुँदा दशैं पर्व खल्लो महसुस हुनुका साथै दासाई नाचले मात्र सन्थाल जातिको जातीय एवम् सांस्कृतिक पहिचान जोगाएको स्थानीय बताउछ्न् ।
धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने तराइमा बसोबास गर्ने एक जाति मानिन्छ ।
तर सधै अर्काको घर खेतीमा कृषिजन्य काम गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेको सन्थाल जाति आफ्नो पहिचान र संस्कृति जोगाउन एक छाक खाएर बाँचिरहेको बताउँछन् ।
झापा र मोरङका प्राय सबै गाउँहरूमा सन्थालहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्यहरु प्रर्दशन गर्ने गरे तापनि राज्यले सन्थाल जातिको कला, संस्कृति संरक्षण तथा सम्बर्द्धनमा चासो नदेखाउँदा लोपोन्मुुख अबस्थामा पुगेको यो नृत्य संकटमा पर्दै आएको छ ।
नेपालका सन्थालहरू आर्थिक, सामाजिक र राजनैतिक रूपमा पिछडिएको जाती मानिन्छ। उनीहरूले प्रकृतिको पूजा गर्ने, पहाड र सालको रुखलाई पवित्र मान्ने भए पनि मधेशी अल्पसंख्यकको सूचीमा सूचीकृत रहेका छन् । संरक्षणको अभावमा उनीहरूको धर्म लिपि र भाषा लोपोन्मुख छ ।
माता भगवतीको पूजा उपासनाको रूपमा प्रस्तुत गरिने यो नृत्य निकै प्राचीन भएकोले यसको सुरुवात कहिलेदेखि भएको हो भन्ने सम्बन्धमा कुनै ऐतिहासिक तथ्य भने उपलब्ध छैन । तथापि यो परम्परागत नृत्यको इतिहास निकै पुरानो रहेको अनुमान गरिन्छ ।
यस्तो छ किंबदन्ती
सन्थालको जातीय इतिहासमा उल्लेख भएअनुसार परापूर्व कालमा दानवको अत्याचार खप्न नसकी देवताहरू भगवतीको शरणमा पुगे । देवताहरूको अनुरोध स्वीकार गरी माता भगवती सतिनसार आफ्नो भयङ्कर रूपमा प्रकट भइ र दानवीय शक्तिलाई परास्त गरिन । अन्तमा बाँचेखुचेका दानव सेनाहरू डरले काम्दै आआफ्ना हातहतियार हल्लाउँदै भगवतीको शरणमा परे ।
भगवतीको सहायतामा देवताले प्राप्त गरेको सोही विजयको खुसियाली एवम् सम्झना स्वरूप सतारहरूले पनि काम्दै, लठ्ठी हल्लाउँदै भगवतीको शरणमा परी नृत्य प्रस्तुत गर्न थालेको र यही परम्परा आज विकसित र परिमार्जित हुँदै सन्थाल नृत्य बन्न पुगेको इतिहास पाइन्छ ।
सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा कलात्मक रुपले प्रस्तुत गरिने नृत्य हो ।
दशैंमा विभिन्न स्थानिय बजार हरुमा लाग्ने मेलामा नृत्य प्रस्तुत गर्न प्रत्येक सन्थाल गाउँबाट मूलीको नेतृत्वमा छुट्टाछुट्टै समूह मार्फत मेलामा प्रवेश गरी आ(आफ्नो कलात्मक नृत्यकला प्रदर्शन गर्ने परम्परा रहिआएको पाइन्छ ।