arrow

कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरी लकडाउन

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
corona-france-public.jpg

पेरिस । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरी लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्वोधन गर्दै उनले कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरेका छन् । 

नयाँ व्यवस्थाअनुसार घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्नेछ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।  अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ । 

फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै अर्थात ३३ हजार जना नयाँ संक्रमित भेटिएका छन् ।  “संक्रमित र मृतकहरुको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ,” म्याक्रोनले भने । उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा जोड दिए । 

म्याक्रोनले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब “निर्मम तरिकाले ब्रेक“ लगाउनुपर्ने बताए । उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको जानकारी पनि दिनु भएको थियो ।

नयाँ घोषणा गरिएको लकडाउन शुक्रबारदेखि लागु हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नु पर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमती दिइने भएको छ । 

भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उनले जानकारी दिनुभएको छ । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने जनाइएको छ । ठूला उद्योगहरु संचालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरु संचालन भएपछि अर्थतन्त्र पनि धानिने उनको विश्वास छ । 

राष्ट्रपति म्याक्रोनले स्वरोजगार व्यवसायी, पसलेहरु, साना व्यवसायीक प्रतिष्ठान, मध्यम व्यवसायीलगायतका लागि विषेश प्याकेज ल्याउने घोषणा पनि गरेका छन् । यसअघि, जर्मन चान्सलर एञ्जेला मर्केलले पनि आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन सवैलाई सतर्कता अपनाउन आह्वान गर्दै रातको समयमा कफुर्यको घोषणा गरेका छन् । 

युरोपेली थुप्रै देशहरूमा महामारीको दोस्रो चरण फेरी तीव्र रुपमा बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन । ती केही देशहरुले पनि महामारी नियन्त्रण गर्न भन्दै रातको समयमा कर्फ्यू लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ