arrow

शरणार्थीको डुङ्गा चढेर आतंकवादी युरोप छिरेको खुलासा, चर्चमा चक्कु प्रहार गरी हत्या

फ्रान्समा भएको आतंककारी हमलाको राष्ट्रसंघद्धारा निन्दा

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
khukuri.jpg

न्युयोर्क । संयुक्त राष्ट्रसंघले फ्रान्समा बिहीबार भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेको छ ।संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सो हमलाको निन्दा गरेका हुन् । उनका प्रवक्ता स्टेफन डुजारिकद्धारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले त्यसको विरोध गरेको जनाइएको छ ।

फ्रान्सको निस सहरमा बिहीबार चक्कुले हमला गरी एकजना व्यक्तिले तीन जनाको हत्या गरेको थियो । पछि उसलाई पनि पक्राउ गरिएको बताइएको छ ।चक्कुले हमला गरी गरेको सो हत्या आतंककारी हमला हो भन्दै महासचिव गुटर्रेसले त्यसमा संलग्न भएका व्यक्तिलाई जतिसक्दो कडा कारबाही गरिनुपर्ने धारणा राखेका छन् ।

फ्रान्सको निस सहरमा रहेको एक चर्चमा बिहीबार चक्कु प्रहार गरी तीन जनाको हत्या गरिएको थियो । सो हमला आतंककारीद्धारा गराइएको हमला हो भन्दै यस्ता घटनाका दोषीदाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने उनले बताएका छन् ।

महासचिव गुटर्रेसले मृतकहरुका आफन्तहरुलाई समवेदना पनि प्रकट गरेका छन् । साथै उनले आतंककारीका विरुद्धको संघर्षमा संयुक्त राष्ट्रसंघ सधैँ फ्रान्सेली सरकारको साथमा रहेको पनि बताएका छन् ।

फ्रान्सको उक्त निस सहरमा यसअघि पनि आतंककारी हमला भएको थियो । त्यसमा परेर कैयौं नागरिकको ज्यान गएको थियो । फ्रान्सको निस सहरमा भएको ‘आतंकवादी’ हमलाका आक्रमणकारी यही महिनामात्र फ्रान्स आइपुगेको खुलासा भएको छ । २१ वर्षीय टुनिसियिन मूलका ब्राहिम औसाउई गत महिना शरणार्थीको डुङ्गा चढेर युरोप प्रवेश गरेका बताइएको छ । 

प्रत्यक्षदर्शीका अनुसार १२ इन्च लामो धारिलो हतियार लिएर उनी नोट्रे डाम चर्चमा प्रवेश गरेका थिए । उनले त्यहाँ एक वृद्ध महिलाको टाउको काटेका थिए । त्यसपछि उनले ५४ वर्षीय भिन्सेन्स लोक्वेसको हत्या गरेका थिए । आक्रमणबाट घाइते बनेकी ४४ वर्षीया सिमोन बरोटा सिल्भा त्यहाँबाट भागेर नजिकैको रेस्टुरेन्टमा पुगेकी थिइन् । त्यहाँ उनले ज्यान गुमाइन् ।

‘अल्लाह हु अकबर’ भन्दै आक्रमणमा उत्रिएका ब्राहिमलाई प्रहरीले १४ राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गरिएको जानकारी दिएको  छ ।

प्रहरीका अनुसार ब्राहिम करिब ६:३० बजे बिहान रेलबाट सहर प्रवेश गरेका थिए । सीसीटिभी फुटेजका अनुसार त्यसपछि कपडा बदलेल उनी ८:३० बजे चर्च पुगेका थिए जहाँ उनले आधा घण्टा बिताएका थिए । ब्राहिम गत सेप्टेम्बर २० मा इटालीको टापु लाम्पेडुसा आइपुगेका थिए । पेरिसमा उनी गत अक्टुबर ९ मा आइपुगेका थिए ।

चार्ली हेब्डो नामक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन प्रकाशित गरेपछि अलकायदाले ‘जिहाद’ छेड्ने बताउँदै थप आक्रमण गर्ने चेतावनी दिएको थियो । केही दिनअघि मात्र उक्त कार्टुन विद्यार्थीहरुलाई देखाएको आरोपमा एक शिक्षकको विभत्स हत्या गरिएको थियो । फ्रान्समा यतिबेला सम्भावित आतंकवादी हमलालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ