arrow

बाइडेनको युगका ‘आर्थिक चुनौती र नीति निर्देशनहरु’

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
jo-biden.jpeg

काठमाडौं। अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा वैश्विक चासोको विषय बनेको छ। किनकी विजेताले अमेरिकी आन्तरिक मामिलामा मात्रै असर गर्दैन, अमेरिका र अन्य विश्वबीचको सम्बन्धलाई समेत निर्धारण गर्नेछ। अमेरिकी मुख्य ब्याटलग्राउण्ड राज्यमा जोय बाइडेनको जितसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जित्ने सम्भावना निकै न्युन देखिएको छ।

सम्भवतः बाइडेन नै अमेरिकाका भावी ४६ औँ राष्ट्रपति हुन्। ह्वाइट हाउसमा बाइडेन युगको सुरुवातले अमेरिकी विदेश नीति, भुराजनीतिक प्रतिष्पर्धा, विश्वका वहुपेक्षिय मामिलामा अमेरिकी हात र अमेरिका—चीन सम्बन्धमा परिवर्तन आउने सुनिश्चित छ। यसअघि एक विश्लेषणमा थिंकट्यांक अनबाउण्डले, बाइडेनको प्रशासनले ट्रम्प प्रशासनका चरम नीतिहरुलाई समायोजन गर्ने देखाएको थियो।

ट्रम्प राष्ट्रपति हुँदा अमेरिका र चीन सम्बन्ध ट्रम्प एक्लैले निर्धारण गर्दै आएका थिए। बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि भने अमेरिका र चीनबीचको नीति परिवर्तन नभएपनि केही फ्रेमवर्कहरु भने पक्कै परिवर्तन हुनेछन् र यसले पक्कै पनि अमेरिका र चीनबीचको ट्रेड वारलाई कम पार्ने या रोक्न सक्ने समेत अनुमान गरिएको छ।

विश्व बजारका लागि महत्वपूर्ण कुरा भनेको अमेरिकी व्यापार नीति हुन जान्छ। अमेरिकी व्यापार नीति र त्यसको कार्यान्वयन र त्यसले विश्वबजारमा पार्ने असर बाइडेनको युगले निर्धारण गर्नेछ, त्यसकारण यसलार्ई बिनोमिक्स’ पनि भनिएको छ। बाइडेनले अब कस्ता आर्थिक चु्नौतीहरुको सामना गर्नुपर्नेछ ? र उनका प्राथमिकता के के हुनेछन् ? यी प्रश्नहरुको उत्तरका लागि अर्थविद्हरुले बाइडेनले केही मुख्य कुराहरुमा ध्यानदिन जरुरी रहेको बताउँछन्।

सबैभन्दा पहिले, बाइडेनले ठूलो ‘रिकोभरी’ बिल पास गर्नुपर्ने छ। कतिपय अर्थविद्हरुले त कोरोना भाइरसको महामारीका कारण बढेको बेरोजगारीलाई पुर्नजीवन दिन, राज्य सरकारलाई राहत दिन र अन्य सरकारी संस्थाहरुलाई राहत दिनका लागि २ देखि ३ ट्रिलियन डलरको बिल पास गर्नुपर्ने बताएका छन्।

त्यस्तै बाइडेनले साना उद्योगहरुलाई ऋण एवं अनुदान दिनुपर्ने देखिन्छ। ठूला उद्योगी एवं व्यापारीहरुका हकमा भने यसको आवश्यकता त्यति नहोला। यसबाहेक चीन र अमेरिका बीचको तनावलाई समेत कम गर्नुपर्ने देखिन सक्छ। यसबाहेक यदि कोरोना भाइरसविरुद्धको खोप आयो भने बाइडेनले कुटनीतिक रुपमा लेनदेनको सट्टा सहकारी दृष्टिकोण राख्नुपर्नेछ। यसले विश्वभर सजिलै खोपको पहुँच हुने छ र अन्तर्राष्ट्रिय सीमा एवं व्यापार सहजै खुल्ने छ।

बाइडेनको आर्थिक पुनप्राप्ती बिधेयकले दीर्घकालिन फाइदाजनक योजनाहरुलाई लक्षित गर्नुपर्नेछ। जस्तोकी अमेरिकामा प्रत्येक पुलको औसत आयु ४३ वर्ष तोकिएको छ, बाइडेनलाई यसलाई अझैं प्राथमिकतामा राख्नुपर्नेछ। यसबाहेक, वैज्ञानिक अनुसन्धानका क्षेत्रमा पनि लगानी बढाउनु पर्नेछ। आर एण्ड डी भनिने रिसर्च एण्ड डेभलपमेन्ट सेक्टरमा समेत चिनियाँ लगानी बढाउनु आवश्यक देखिन्छ।

सन् १९६० मा चीनको अर्थतन्त्रमा आर एण्ड डीले करिब १.५ प्रतिशत योगदान दिएको थियो तर, अहिले यो घटेर ०.७ मा पुगेको छ। बाइडेनको प्रशासनले टेक्नोलोजी र नविकरणीय उर्जाका क्षेत्रमा आर एण्ड डी लगानी बढाउनु पर्ने देखिन्छ।

बाइडेन प्रशासनले ट्रम्प प्रशासनको आप्रवासन नीतिलाईसमेत परिवर्तन गर्नुपर्ने देखिन्छ  मध्यवर्गीयको सामाजिक एवं रहनसहनलाई समेत बाइडेन प्रशासनले प्राथमिकता दिनु पर्नेछ। यसको अर्थ अमेरिकाले शिक्षा, स्वास्थ्य र आवासका क्षेत्रमा लगानी बढाउनु पर्नेछ। यसबाहेक अमेरिकी सरकारले प्रति घण्टाको न्युनतम ज्याला समेत बढाएर १५ डलर प्रतिघण्टा पुर्याउनुपर्ने छ। अहिले १ करोड ७० लाखभन्दा बढी अमेरिकीहरुले न्युनतम ज्यालाभन्दा कम आम्दानी गर्छन्।

उल्लेखित कुराहरुलाई पूरा गर्नका लागि बाइडेन प्रशासनले कर बढाउनु पर्ने छ भने वित्तिय नीतिहरु फेरबदल गर्नुपर्नेछ। माथि उल्लेखित बार्षिक खर्च जीडीपीको ३ प्रतिशत छ। यो खर्च उठाउँनका लागि बाइडेनले व्यावसायी र धनीहरुमा बढी कर लगाउनु पर्नेछ।

एक अध्ययनका अनुसार बाइडेनको कर वृद्धि नीतिले करपछि कम्पनीको नाफालाई १२ प्रतिशतसम्म झार्ने र १ प्रतिशत सबैभन्दा धनीहरुको आयमा १४ प्रतिशतले कमी आउने छ। वित्तिय स्थायीत्व कायम गर्नका लागि बाइडेन घाटा विस्तारको अभ्यासबाट बच्न भने असक्षम हुनेछन्। कांग्रेस बजेट कार्यालयको अध्ययनले सन् २०५० सम्ममा सार्वजनिक ऋण जीडीपीको २०० प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

छोटो समयका लागि बाइडेनको घाटा विस्तारले कुनै असर पार्ने छैन्। अमेरिकामा अहिले व्याजदर लगभग जिरो छ। दीर्घकालिन अवस्थामा भने यसले अमेरिकी राष्ट्रय क्षमतालाई बिगार्नेछ। त्यसकारण यदि भावी राष्ट्रपतिले यी दिर्घकालिन समस्याबाट अमेरिकालाई उकास्न सके भने अमेरिकालाई फाइदा हुनेछ। यसको मतलब संयुक्त राज्य अमेरिकाले कल्याणकारी खर्च र दीगो करको आधारमा मजबुत वित्तिय अवरोधहरुको सामना गर्न सक्नेछ।

अनबाउण्डको अध्ययनले वर्तमान अमेरिकी आर्थिक मोडेलले अमेरिकालाई ऋण र घाटाको विस्तारबाट रोक्न नसक्ने देखाउँछ। ट्रम्प प्रशासनले अमेरिकी व्यापार नीतिमा झटारो हानेपनि खुला र सहज अन्तराष्ट्रिय व्यापार नीति एवं मोडेल र फ्रेमवर्कको माध्यमबाट बाइडेनले अमेरिकालाई थप उर्जावान बनाउन सक्छन्। बाइडेन प्रशासनले ट्यारीफ तत्काल अन्त नगरेपनि अमेरिकी व्यापार संरक्षणवादको अन्त्य गरेर चीनसँग पनि सहज व्यापारीक नीति अपनाउनु पर्नेछ।

यसबाहेक बाइडेन प्रशासनले विश्वव्यापी सहकार्यका क्षेत्रमा हात बढउँनु पर्ने छ। जस्तै की जलवायु परिवर्तन, भुराजनीति र अन्य वहुदेशिय सहकार्य गर्दै विवादलाई पाखा लगाउनुपनर्ने छ। बाइडेनले यसअघि नै चुनाव जितेको पहिलो सम्झौता पेरिस जलवायु परिवर्तन रोक्ने सम्झौता हुने बताएका थिए।

अन्तिम बिश्लेषण निश्कर्ष
अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा चाँडै आउने छ। यसले बाइडेनको जित हुने देखाउँछ। यससँगै बिडोमिक्सको उदय हुनेछ। पूरै विश्वलाई असर पार्ने भएकाले बाइडेनले अमेरिकी व्यापार र विदेश नीतिलाई महत्वपूर्ण तरिकाले निर्धारण गर्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ