arrow

कमला ह्यारिसः अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति, दक्षिण एसिया मुलकी पहिलो महिलासहित रेकर्ड 

logo
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
kamala-harris.jpg

काठमाडौं । भारतीय मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्न सफल भएकी छिन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी ह्यारिस उपराष्ट्रपतिमा विजयी भएकी हुन् । मतगणना अन्तिम चरणमा पुग्दा उनले स्पष्ट जित निकालिसकेकी छिन् । 

डेमोक्रेटिक पार्टीबाट जो बाइडेन राष्ट्रपति बन्न सफल भएका छन् । ५० मध्ये ४६ राज्यको मतगणना भैसक्दा बाइडेनले २७९ इलेक्टोरल मत ल्याएका छन् । 

२७० मत ल्याए पुग्नेमा बाइडेनले त्यो भन्दा धेरै मत ल्याइसकेका छन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने २१४ इलेक्टोरल मत मात्र ल्याएका छन् । 

जितपछि बाइडेनले ‘फुटेर हैन जुटेर अगाडि बढ्ने’ प्रतिवद्धता जनाएका छन् । ट्रम्पले आफू नै विजयी भएको भन्दै हठ छाडेका छैनन् । उनले मतगणना प्रक्रिया नै गलत भएको बताउँदै आएका छन् । 

७७ वर्षे बाइडेन सबैभन्दा पाका राष्ट्रपतिको रेकर्डसमेत राख्न सफल भएका छन् । उनीसँग यसअघि उपराष्ट्रपति भइसकेको अनुभव छ । 

विगत चार दशकदेखि अमेरिकी राजनीतिमा संलग्न बाइडेन लामो समय सिनेटर भएर काम गरेका थिए । उनी अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका बेलामा उपराष्ट्रपति थिए । 

कमला ह्यारिसले राखिन् तीन रेकर्ड
उपराष्ट्रपति बन्न सफल कमला ह्यारिसले तीन वटा रेकर्ड राखेकी छिन् । उनी पहिलो अमेरिकी महिला उपराष्ट्रपति बनिन् । उनी पहिलो दक्षिण एसियाली मुलकी उपराष्ट्रपति बनिन् । र उनी पहिलो अश्वेत उपराष्ट्रपति बन्न सफल भइन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कमला ह्यारिसलाई बधाई दिएका छन् । मोदीले कमलाको नेतृत्व र सहयोगबाटै भारत र अमेरिकाको सम्बन्ध थप मजबूद हुने विश्वास समेत गरेको ट्वीटरमार्फत जनाएका छन् । 

को हुन् कमला ह्यारिस ?
सन् १९६४ मा उनको जन्म अकल्यान्ड (क्यालिफोर्निया) मा भएको थियो । उनकी आमा भारतीय र बाबु जमैकन थिए । उनकी आमाको नाम ह्यामला गोपालन ह्यारिस हो । उनका बाबुको नाम डोनाल्ड ह्यारिस हो । 

डोनाल्ड स्तन क्यान्सरका वैज्ञानिक थिए । कमलाकी आमा क्यान्सरको उपचार गर्न अमेरिका पुगेका बेलामा डोनाल्डसँग पहिलो पटक भेट भएको थियो । 

१२ वर्षको उमेरमै कमला आफ्नी बहिनी माया र आमासँग अकल्याण्डबाट ह्वाइट मोन्ट्रियल गएकी थिइन् । यो बीचमा उनीहरु भारत पनि आउने गर्थे । 

सन् १९७२ मा कमलाका माता–पिताबीच सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि उनकी आमाले कमला र मायाको रेखदेख गर्न थालिन् । 

उनकी आमाले म्याकगिल विश्वविद्यालयमा पढाउन थालिन् । साथै उनले ज्वेश जनरल हस्पिटलमा अनुसन्धान पनि गर्थिन् । 

कमलाले हार्बर्ड विश्वविद्यालयबाट सन् १९८६ मा स्नातक गरेकी थिइन् । सन् १९८९ मा क्यालिफोर्नियाबाट उनले पढाइ पूरा गरेकी थिइन् । 

उनी सन् २००३ मा सिटी र सान फ्रान्सिस्कोको काउन्टीको डिस्ट्रिक्ट अटर्नीका रुपमा चुनिइन् । सन् २०१० मा क्यालिफोर्नियाको अटर्नी जनरल बनेर इतिहास रचिन् । 

यो पद हासिल गर्ने उनी पहिलो अश्वेत महिला थिइन् । सन् २०१६ मा उनी अमेरिकी सिनेटरमा चुनिने दोस्रो महिला अश्वेत बन्न सफल भइन् । 

अमेरिकामा रंगभेद निकै चल्ने भएकाले गर्दा कमला ह्यारिसको जितले यो भेदभाव कम हुने विश्वास गरिएको छ । 

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अश्वेत नागरिकमाथि भेदभाव गर्ने आरोप लाग्दै आएको छ । 

कमलाको जितले भारतमा खुशीयाली मनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ