arrow

अमेरिकी नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई विश्वभरीबाट शुभकामना

logo
एपी,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
biden-harris.jpg

वासिङ्टन। अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकोमा विश्वभरका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरुले अमेरिकी उपराष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकोमा थप खुशी व्यक्त गरेका छन्। उनीहरुको जितसँगै अमेरिकामा लोकतन्त्र, समानता, स्वतन्त्रतालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि विश्व नेताहरुले गरेका छन्।

फ्रान्सका राष्ट्रपति इंम्यानुएल म्याक्रोँले सामाजिक सञ्जाल ट्वीटरमा नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन्। उनले अहिलेका विश्वका चुनौतीहरुलाई सँगसगै सामना गर्न आफुहरुले चाहेको उनले शुभकामना सन्देशमा लेखेका छन्।

जर्मन चान्सलर एंगेला मर्केल, नाटोका महासचिव जेन्स स्टोल्टेन्बर्ग र इजिप्टका राष्ट्रपति अब्डेल फताह इल सीसीले पनि अमेरिकी नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई ज्ञापन गरेका छन्। त्यसैगरी युक्रेनका राष्ट्रपतिले पनि बाइडेन र उनको परिवारलाई बधाई प्रकट गर्दै आपसी सुमधुर सम्वन्धका लागि कामना गरेका छन्।

जर्मनका विदेश मन्त्री हेइको मासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “हामी उहाँसँग नयाँ तरिकाले सहकार्य गर्न चाहन्छौँ, नयाँ सम्वन्ध र सझौता गर्न चाहन्छौँ।”

उनीहरु निर्वाचित भएकोप्रति चिनियाँ प्रतिक्रिया भने अहिलेसम्म आएको छैन। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार, सुरक्षा, प्रविधि लगायतका विषयमा विवाद भएको चीनले तत्काल प्रतिक्रिया नदिनुलाई चासोका साथ हेरिएको छ।

बाइडेनको जितप्रति इराकीहरुको प्रतिक्रिया भने मिश्रित रहेको छ। अमेरिकाको उपराष्ट्रपति भएका बेला सन् २००३ मा इराकमा अमेरिकी आक्रमण गराउन उनको ठूलो भूमिका रहेको धेरै इराकीहरुले ठानेका छन्। तर पनि इराकी राष्ट्रपति बार्हाम सलिहले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई दिदै आफ्नो साथी तथा विश्वासीलो सहयात्रीको रुपमा स्मरण गरेका छन्।

अमेरिकासँग राम्रो सम्वन्ध रहेको ठानिएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले पनि बाइडेनलाई बधाई दिदै बलियो सहकार्यको प्रतिक्षामा रहेको उल्लेख गरेका छन्। दुई देशको गठबन्धन र साझोदारीता अझै बलियो हुने विश्वास पनि उनले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन्।

अमेरिकासँग नराम्रो सम्वन्ध रहेको मानिने भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पनि नयाँ राष्ट्रपति बाइडेनसँग सम्वन्ध सुधारको अपेक्षा व्यक्त गरेका छन्। उनले अमेरिकासँग वार्ताको माध्यमबाट सम्वन्ध सुधार गर्न भेनेजुएला सधैँ तत्पर रहेको बताए।

राष्ट्रपति ट्रम्पका ज्वाई जारेद कुश्नरसँग नजिकको सम्वन्ध रहेका संयुक्त अरब इमरेट् (युएइ)का राजकुमार मोहम्मद बिन जायद अल नाह्यानले पनि ट्रम्पलाई पराजित गरेका बाइडेनलाई वधाइ दिएका छन्।

ट्रम्पसँग धेरै राम्रो सम्वन्ध बताएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकी नयाँ राष्ट्रपति बाइडेनको सफलताको कामना गरेका छन्। आफु र बाइडेन सँगै रहेको फोटो समेत राखेर सामाजिक सञ्जाल मार्फत उनले वधाइ दिएका हुन्।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले पनि बाइडेनसँग नजिक रहेर सहकार्य गर्न चाहेको र विषेशगरी आफ्ना प्राथमिकताहरुका रुपमा रहेका जलवायु परिवर्तन, व्यापार र सुरक्षाका बारेमा बढी केन्द्रीत भइ काम गर्ने विश्वास व्यक्त गरेका छन्।

मोदी र जोनसोन दुवैले उपराष्ट्रपतिमा ह्यारिस निर्वाचित भएकोमा थप प्रशन्नता व्यक्त गरेका छन्। मोदीले अश्वेत अमेरिकी महिला उपराष्ट्रपति बन्नु आफूहरुका लागि गौरवको विषय भएको पनि उल्लेख गरेका छन्।

त्यसैगरी नाइजेरिया, केन्या, ब्राजिल, इजरायल, साउदी अरब, अफगानिस्तान, मेक्सिकोलगायतका देशका सरकार तथा राष्ट्र प्रमुखहरुले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ