ईश्वरको वास 


प्रकाशित

रामेश्वरप्रसाद बराल

सामान्य मानिसले भगवान् सम्झी राख्छ । जेमा, जसोमा पनि सम्झन्छ । यो उसको ब्रह्मदेखि किल्किलेमा अड्केको ज्ञान हो । सुर बेसुर, सुद्दी बिसुद्दी, हर्ष, शोक, विस्मात्, अचम्म, जेमा पनि उसबाट फुत्तफुत्त फुत्किन्छ ‘हे ईश्वर ’, ‘हे परमात्मा’ । कोही मरे भन्दिन्छ, ‘बैकुण्ठवास होस्' । अचम्ममा परे भन्दिन्छ, ‘राम राम’ । र दुःख परे पनि बोल्दिन्छ, ‘हे प्रभो के यस्तो देख्नु परेको ’ । कतिले नमस्ते होइन, ‘राम राम’ भन्छन् ।

यस्तैमध्येका कोही एक गृहस्थ थिए, साउँ अक्षर राम्ररी फुकेका । ‘बाबुबाजेदेखि चली आएको कर्म, कसरी बिर्सने ? गृहस्थ हुँ, गृहस्थी धर्म छाड्नु हुुँदैन’ भन्थे । उनी भाले बास्नुअघि बिउँझी सक्थे । तेंत्तीसकोटि देवीदेवता पुकारा गर्थे । प्रातःस्मरणका दुुईचार श्लोक मुखाग्र भट्ट्याउँथे । वेद, गीता, उपनिषद्का सार सुनाउँथे । साँचो बोल, धर्मं गर, स्वाध्यायनमा त्रुटि नगर, आदि र यता लाग्न प्रेरित गर्थे । ‘मरेरै जाने चोला त हो, चौराशी लाख जुनी छ रे प्राणीको, अझ मान्छेको जुनी हत्तपत्त कहाँ पाइन्छ र ? घुमिफिरी पाइने भनेको कैले हो कैले ’ र भन्थे, ‘अर्कालाई चिनेर के गर्नु ? वाह्यजगत् त मिथ्या हो पैले आफैलाई चिन आफूभित्र हेर ’ गाउँसमाजमा सरल र रसिला मानिन्थे । सांस्कारिक र भिजेका, रिझिएका । उनको अध्यात्म र दर्शन यस्तै यस्तै थियो । 

घरमा चाकडीदार रही रहन्थे । तिनैका भरमा दुहुना गाईवस्तुको स्याहार सम्भार थियो र भकारो सोहोरिन्थ्यो । एक मुठी दूध थियो, ठेकीमा घ्वार्घ्वार् मोही पारिन्थ्यो, नौनीका डल्ला झिकिन्थ्यो । केटाकेटीलाई पोसको खाँचो थिएन । बेलैमा उनीहरू पाठशाला पुुगेका हुन्थे । पत्नीले भान्सापर्यन्त उनका प्रातःचर्यामा सबैतिर ढाकेकी थिइन् । कलह वा विद्वेष थिएन, अर्थात् परिवारमा कल्याण थियो । पत्नी खसम भन्दा अघि ओछ्यान छोडेर नुहाइधुुवाइ, चोखो वस्त्रमा पूजाकोठा चोख्याई धूप, दीप, अछेता, नैवेद् सामग्रीलगायत पञ्चपात्रो र आचमनीका चाँदी र ताम्रपात्र तम्तयार पारी सक्थिन् । यसरी चल्थे उनका नित्य उपासना । 

व्यवहारमा एकैनासे केको हुनु ? एउटा न एउटा विघ्न झेल्नु नपरेको कुन घरको छैन र एक बिहानी पत्नीले चोखीनितिमा सरक्क ठिक्क पारेर राखेकी नैवेद् त मूसाले पो चड्काएछ र पूजाचौकाभरि अछेता लथालिङ छरिबरी पार्दिनसमेत भ्याएछ । भएन अब ? कस्तो बित्यास । लौ कस्सो उनले खसमले यो रैमट्ट देख्नुअघि सबैथोक दुरुस्त पारीदिइन् । आखिर मूसै ठहर्‍यो, बिघ्याइँ गर्ने जात । अर्को बिहानी गृहस्थ ध्यानमग्न हुन के खोज्दै थिए, पल्केको डुहुरेमूसो छनमन गर्दै आयो र उनकै अगाडिबाट अछेताको बोहोता थुतुनोमा च्यापेर सुइँकियो । ‘पैले आफैलाई चिन आफूभित्र हेर’ भन्ने थेगो झिकी राख्थे । ऐले उनको आफूभित्रले भन्यो, ‘एहे, उसो भए जुन् सर्दाम परमात्मानिम्ति ठीक पारेको थियो, मूसाले खोस्न सक्ने त्यस्तो शक्तिमान ’ सर्वशक्तिको पो पूजा गर्ने निराकार परमात्मा होइन, साकार जीवको छुल्याइँले उनको मन थिच्यो । यसरी त्यो तुच्छ जीव उनको परमात्मा तुलियो । अनि तत्काल मूसाको प्रतिमा ल्याएर पुज्न थाले ।

यो क्रम चल्दै गयो । उनी एकचित्त थिए, उता भने मूसाको मुसुमुसु गन्धले एउटा बिरालो ढुक्न पल्केछ । बिरालो देख्नेबित्तिकै मूसो बिचरो के गरोस्, दुलोभित्र टाप् । गृहस्थ झसङ भए । उनले एकपटक फेरि आफूभित्र हेरे । चेत खुल्यो, ‘होइन, मूसोभन्दा बिरालो पो शक्तिमान रे’छ’ अब भयो त बाँधेर ‘सू...री म्याउँ’ भन्दै त्यसै प्राणीलाई पुज्न थाले । पत्नी आफ्नो खसमलाई भरिसक्के केही कुरामा च्वाट्ट भनी हाल्दिन थिइन् र बिरालो पुज्ने क्रम चली राख्यो । तथापि उनले एकदिन के देखे भने त्यो पूज्य सुरीम्याउँ घरकै कुकुरको त्रासले भागाभाग गरी राखेको । के अचम्म कुकुर पो अझ शक्तिमान रे’छ । यो बुझेर उनले च्योः च्योः भन्दै बोलाएर मिठोमिठो परिकार खान दिंदै उसैलाई पुज्न थाले । चल्यो यो उपक्रम पनि दुईएक साता ।

एकदिनको घटना थियो । पत्नीले दूधको कुँडे अगेनाको भुत्भुतेमाथि राखेकी थिइन्, कुन सड्को कुकुरले थुतुनु चोबी त हाल्यो । यो देख्नेबित्तिकै रिसको झोकमा खसमको त्यो पूज्य शक्तिलाई अगुल्टोले लखेट्न थालिन्, ‘साँढे, तँ मात्तेको डाँगोलाई पख् त’ कुकुर भने कुइँकुइँ गर्दै कुलेलम् ठोक्यो । देखेर गृहस्थ आफूभित्र एकपटक फेरि झस्के । अनि उनले पत्नीलाई किन बित्थामा मेरो पूज्यलाई त्यसरी लखेटेको ? भनेर रिसाएनन् । बरु अन्तर्मनमा झन् अर्कै ज्ञान फुर्यो‍, ‘ओहो, कुकुर भन्दा मेरी गृहिणी पो बलशाली ’ । उपरान्त नित्यकर्ममा पत्नीलाई मन, वचन, कर्मले पुज्न थाले । गाउँलेले थाहा पाए र भने, ‘कस्ता जोईटिङ्ग्रे’ । भरे भने पत्नीले ब्रह्म मुहूर्तमा जागा भएर वर्षौंदेखि खसमको सेवा टहल गरी राखेकी थिइन्, तर कसैले भन्न जानेन, ‘कस्ती पोइटिङ्ग्रे’ तथापि गृहस्थको पत्नीपूजा केही कालपछि बिथोलियो ।

एकदिन पत्नी अगेनाका डिलमा कुँडे अघिल्तिर थिइन्, दूध उम्ली राखेको थियो । डाडुबाट दूध उछिट्टियो र उनको हात पोल्यो । ‘आत्था’ भन्दै हात यस्सो पर के सारेकी थिइन्, भुलुक्क उम्लेर छचल्कदै अलिकति बाहिर पोखिई हाल्यो । यो देखेर गृहस्थ उल्टै रिसले भुतुक्क भए । ‘के गरेको ? तेरो हात डामेको त औषधि लाए ठीक भै हाल्छ नि, पोखिएको दूध कहाँबाट सोधभर्ना गर्नु ?’ कैल्यै कडा वचन नलाउने उनले तत्काल रिसका झोकमा पत्नीलाई एक डिम्कासमेत लाए । लगत्तैका क्षणमा उनमा अनन्य आत्मबोध भयो । ‘ए साँच्चि, पत्नीभन्दा म पो शक्तिमान’ उनले अनि आफैलाई चिने । अब उनी आफ्नै उपासना अर्थात् आत्मपूजातिर छन्।  


प्रतिक्रिया :

नयाँ