arrow

महासंघ निर्वाचनः चन्द्र भर्सेस किशोर, कस्को सम्भावना कति ?   

logo
आकाश शर्मा,
प्रकाशित २०७७ मंसिर ८ सोमबार
chandra-dhakal-kishor-pradh.jpg

काठमाडौं । यसैसाता नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ । यस निर्वाचनका उम्मेदवारहरु आआफ्ना एजेण्डासहित अन्तिम गृहकार्यमा जुटेका छन् । तर सबैको ध्यान भने आगामी तीन बर्षपछि स्वत अध्यक्ष हुने वरिष्ठ उपाध्यक्षकै निर्वाचनमा केन्द्रीत हुन पुगेको छ । महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको प्यानल प्रतिस्पर्धामा छ । ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । ढकालको समूहबाट उनी स्वयं चुनावी अभियानको नेतृत्वमा अगाडि देखिएका छन् । प्रधान समूहबाट भने प्रधानभन्दा अगाडि शेखर गोल्छा र पशुपति मुरारका पनि छन् । 

मतदानका लागि केहि दिन मात्र बाँकी रहेको अवस्थामा महासंघका मतदाताहरु यतिखेर आफ्ना उमेद्वारका कसका एजेण्डा के छन् र केका लागि आगामी कार्यकालको नेतृत्व छान्ने भन्नेमा विमर्शमा रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ नेपालका समग्र उद्योगी, व्यवसायीहरुको छाता संगठन भएकोले त्यो छाता आफ्नो व्यवसायिक सुरक्षाका लागि कसले अझबढी व्यवस्थित र सुरक्षित हिसाबले ओढाइदेला भन्ने बारेमा यतिखेर मतदाताहरुले बडो मिहीन ढंगले लेखाजोखा गरिरहेको अवस्था छ । 

ढकालले चुनावी अभियानका क्रममा आफ्नो एजेण्डा ‘एफएनसीसीआई भीजन २०२५’ सार्वजनिक गरेका छन् र सोही बमोजिम अघि बढेका छन् । उनको यो एजेण्डाको मूलमर्म चाहिँ राज्य र निजी क्षेत्रको साझेदारी भन्ने छ । समृद्धीको आधार, राज्य नीजि क्षेत्र साझेदार भन्ने मूल नाराका साथ उनी लागिपरेका छन् । देशमा समृद्धीका लागि नीजि क्षेत्रको योगदान रहेकोले यसका लागि राज्य र नीजि क्षेत्रको सहकार्यको आवश्यकतालाई उनले आफ्नो एजेण्डमा उठाएका छन् ।  

प्रधान समूहले भने महासंघलाई सुदृढीकरण र शुद्धीकरण भने राखेको छ । आगामी कार्यकालका लागि के गर्ने भन्ने ठोस एजेण्डा भन्दा पनि व्यक्तिको बारेमा बढी बहस हुने गरेको र एजेण्डाको विषयमा बहस र तयारी हुन नसकेको व्यवसायीहरु बताउँछन् । प्रधानले अटोमोबाइल क्षेत्रसँगै सेवा क्षेत्र र उत्पादनशिल क्षेत्रलाई पनि साथमा लिन खोजेको देखिए पनि उत्पादनशील, सेवा क्षेत्र, वित्तीय, ट्रेडिङ तथा साना मझौलालगायतका व्यावसायिक क्षेत्रहरुलाई कसरी अगाडि बढाउने भन्ने कार्ययोजना चन्द्र ढकालमा बढी पाइएको देखिन्छ । 

ढकालले कोभिडपछिको अर्थतन्त्रका चुनौती सम्बोधनदेखि नेपाल उद्योग वाणिज्य महासंघको पुनर्संरचनासम्मलाई समेटर २५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । ढकाल समूहले महासंघलाई सन् २०२५ सम्म महासंघलाई कहाँ पुर्‍याउने भन्ने मार्गचित्रका आधारमा एफएनसीसीआई भीजन २०२५ सार्वजनिक गरिएको जनाएको छ । एफएनसीसीआई भिजन २०२५ ले नीजि क्षेत्रका समस्या तथा मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने यो समूहको विश्वास छ ।

नीजि क्षेत्र, अर्थशास्त्री तथा अन्य सरोकारवालाहरुको सुझावका आधारमा महासंघको आगामी मार्गचित्र (रोडम्याप) तय गरिएको र यसलाई आगामी दिनमा अझै फराकिलो बनाउँदै लगिने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल बताउँछन् । “अहिले वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्तिले सन् २०२५ अगावै अध्यक्षको नेतृत्व सम्हालिसक्नुपर्छ र त्यो बेलासम्म उसको कार्यकाल आधा सकिइसकेको हुनेछ,” ढकाल भन्छन्, “महासंघमा नेतृत्व लिएर के गर्ने भन्दै अलमलिनुभन्दा अहिलेदेखि नै त्यसको तयारीस्वरुप स्पष्ट खाका लिएर हामी आम व्यवसायीसामु प्रस्तुत भएका हौं ।” 

महासंघमा उद्यमशीलताको महत्व बुझ्नसक्ने व्यावहारिक अर्थशास्त्रीसहित नीजि क्षेत्रका अग्रज व्यक्तिहरु तथा कुशल प्रशासकसमेतका प्रवुद्ध व्यक्तिहरुको सहभागितामा ‘थिंक ट्यांक’ गठन गर्ने र सो समूहले गर्ने अध्ययन अनुसन्धानका आधारमा नीजि क्षेत्रको साझा धारणा अगाडि सार्ने योजनामा आफ्नो समूह जुटेको ढकालले बताए । ढकाल समूहले अगाडि सारेको एफएनसीसीआई भीजन २०२५ मा महासंघलाई वास्तविक संघीय नेतृत्वदायी संगठन (एपेक्स बडी) निर्माण गर्ने योजनालाई प्राथमिकताका साथ अगाडि बढाइने उल्लेख छ । यस्तै, जिल्ला, नगर र प्रदेश महासंघको सबलीकरण, बलियो राज्य–निजी क्षेत्र साझेदारी,एमएसएमईका लागि संरचनागत व्यवस्था एजेण्डामा समेटिएका छन् । 

प्रधान समूहका तर्फबाट भने शेखर गाल्छाले एजेण्डा तय गरेका छन् महासंघको शुद्धिकरणको विषयमा । त्यसैलाई प्रधान समूहले आफ्नो एजेण्डा मानेको छ । जस्तो कि हिजोको एक दैनिकमा दिएको अन्तर्वार्तामा प्रधानले शेखरजीका एजेण्डा नै मेरा एजेण्डा हुन् भनेका छन् । अहिले वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति भोलि अध्यक्ष हुँदै महासंघमा छ वर्ष रहनेछ । यसैले पनि भोलिको अध्यक्षका आफ्नै एजेण्डा हुनुपर्नेमा त्यसो हुन नसकेको भनेर स्वयं किशोर प्रधानकै प्यानलका केन्द्रीय सदस्यहरुले पनि गुनासो गर्ने गरेका छन् ।

दुवै प्रत्यासी हाल उपाध्यक्ष छन् । ढकाल उपाध्यक्षकै हैसियतमा नेपालका प्राय सबै जिल्लामा आयोजना हुने मेला महोत्सव या महासंघका जिल्ला नगरका कार्यक्रमहरुमा जाने गरेका छन् । उनको आफ्नो व्यवसाय आईएमई तथा ग्लोबल आईएमई बैंक तथा अरु व्यवसायको नेटवर्क देशैभरि छ । जसका कारण पनि उनी देशका अधिकांश जिल्लाका व्यवसायीहरुसँग कुनै न कुनै रुपमा जोडिन पुगेका छन् । यसलाई पनि उनले आफूले जित्ने आधारका रुपमा लिने गरेका छन् । आफ्नो व्यावसायिक नेटवर्क देशभर रहेकोले उनीहरुकै आग्रहमा आफू उम्मेदवार बनेको र यो नै आफ्नो जीतको आधार भएको पनि उनको मुल्यांकन छ । त्यस्तै उनी आफै पनि एउटा सानो पसलबाट आफ्नो व्यावसायिक यात्रा शुरु गरेको र अहिले देशकै एक कर्पाेरेट लेवलको उद्योगी भएका कारण उनले आफूलाई यी दुवैखाले व्यवसायीको समस्या र मर्का बुझेकोले राज्यसँग नीति निर्माणका क्षेत्रमा पैरवी गरी व्यवसायीको हक हितमा प्रयोग उपयोग गर्न सक्ने आत्मविश्वास आफूसँग रहेको बताउँछन् । 

प्रधानको पनि महासंघमा लामो सयमको संलग्नता छ । त्यसैले आफूले जित्नुपर्ने दाबी गर्छन् । नेपालमा पुराना व्यवसायी भए पनि समय सुहाउँदो देशमा व्यावसायिक तथा औद्योगिक संलग्नता र सक्रियता भने प्रधानमा खासै देखिन्न । जसका कारण देशका उद्योगी, व्यापारीहरुसँग व्यवसायीक रुपमा खास जोडिन सकेको देखिन्न । यसलाई पनि उनको एक कमजोरीका रुपमा लिने गरिएको पाइन्छ । त्यस्तै यो निर्वाचन अघि उनी महासंघको कामले जिल्ला बाहिर जान तथा जिल्ला नगर उद्योग वाणिज्य संघसँग पनि कमै जोडिन जाने गरेको गुनासो उनीमाथि व्यवसायीको छ । जसका कारण उनले यता निर्वाचनको तयारी गर्दै गर्दा उता आफ्नै जिल्लाका व्यवसायी राजेन्द्र राउत ढकाल प्यानलबाट निर्विरोध हुन पुगे । यतिखेर व्यवसायीहरुका विचमा राउत निर्विरोध भएको चर्चा बढी नै हुदै आएको छ जुन प्रधानको लागि फाइदाजनक पटक्कै होइन । केन्द्रीय नेतृत्वमा आउन खोजिरहेका प्रधानले आफ्नै जिल्लाका व्यवसायीको पनि साथ नपाएको विषय निर्वाचनको एजेण्डा बन्नु स्वाभाविकै थियो जुन बनिरहेको पनि छ । प्रधानका प्रत्यासी ढकाललाई भने सिंगो गण्डकी प्रदेशको नै संस्थागत निर्णय सहितको समर्थन जनाएको छ । चुनावअघिका यस्ता समर्थनको अर्थ चुनावको रणनीति बनाउनेहरुले पक्कै बुझेकै हुनुपर्छ । 

चुनावी मैदानमा खडा भएका ढकाल र प्रधान समूहका रणनीतिकारहरुले आ आफ्नो समूहले जीत निकाल्ने दावी गरिरहेका छन् । ढकाल निकटहरुले जीत आफ्नो समूहको हुने तर कतिले जीत्ने भन्ने बारेमा गृहकार्य अन्तिमतिर पुगेको बताएको छ। कुल मतदाताको ७० प्रतिशतभन्दा माथि मत पाउने दावी ढकाल समहूको छ । तर त्यो कुरा प्रधान समूह मान्न तयार छैन । आफ्नो जीतको दावी गरेपनि स्पष्ट जीतको आधार भने प्रधान निकटहरुले दिन सकेका छैनन् । प्रधान भन्दा ढकाल बलियो उमेद्वार भएपनि चुनावको दिन नजिकिदै गर्दा प्रधानले ढकालसँगको आफ्नो फरक घटाउँदै लगेको प्रधान निकट एक व्यवसायी बताउँछन् । खासगरि हुनेवाला अध्यक्ष शेखर गोल्छाको बिरुद्ध हुनेगरि ढकालले बोलेको कुराले गोल्छा सहित पूर्व अध्यक्ष पशुपति मुरारका रुष्ट हुँदा ढकाललाई जाने अनुमान गरिएका उनीहरु निकट रहेका मतहरु अब प्रधानलाई जाने विश्वास प्रधान निकटहरुको छ। तर त्यसरी केहि मतहरु ढकाललाई जानबाट रोकिदा पनि उनको जीतलाई असर पार्न नसक्ने ढकाल निकटहरुको दावी छ। व्यवसायिकसँगै राजनीतिक वृत्तबाट समेत समर्थन पाएका झै देखिएका ढकालले उनी निकटहरुले दावी गरेझै ७० प्रतिशत भन्दा बढी ल्याउन नसकेपनि ५५ देखि ६० प्रतिशत मत ल्याउने प्रधानकै चुनावी क्याम्पमा रहेकाहरु बताउँछन्। तर बाँकी ४ दिनमा यो ग्यापलाई घटाएर चुनाव जित्ने गृहकार्य भइरहेको प्रधानको सचिवालयका एक सदस्यले बताए । तर ग्याप घट्ने आधार भने विश्वसनिय छैन। यो अवस्थामा ढकाल चुनावी मैदानमा स्वभाविक रुपमा अगाडी नै देखिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ