arrow

गणेश थापा प्रकरणबारे बोल्यो अख्तियार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1968622363.jpeg
काठमाडौं । विश्व फुटबल महासंघ फिफाको कारबाहीमा परेका अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापाबारे प्रकाशन–प्रसारण भएका समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँसो देखाएको छ । अख्तियारले थापाको कारबाहीको प्रसंगलाई लिएर आयोगलाई समेत समाचारमा जोडिएको भन्दै संचार सामग्रीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
 
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले शुक्रबार विज्ञप्ति जारी गरी फिफाले थापालाई गरेको  कारबाही सन् २००९ र २०११ मा फिफा कार्य समिति निर्वाचनमा एसियाली प्रतिनिधि चयन गर्दा निजले गरेको अनियमिततामाथि केन्द्रित रहेको प्रस्ट्याएका छन् । विज्ञप्तीमा आयोगमा पटक–पटक परेका उजुरी निवेदन एवं सम्मानित संसद्को सार्वजनिक लेखा समितिले विभिन्न १६ वटा विषयवस्तु निर्धारण गर्दै गत वर्षको आश्विन दोस्रो साता छानबिनका लागि लेखी पठाए बमोजिम एन्फा अध्यक्ष थापामाथि आयोगले छानबिन गरेको उल्लेख छ । 
 
विज्ञप्तिमा भनिएको छ–‘सार्वजनिक लेखा समितिद्वारा निर्धारित विषयवस्तु एवं आयोगमा प्राप्त अन्य उजुरीमाथिको विस्तृत एवं गम्भीर अनुसन्धान र छानविनद्वारा लेखा समितिबाट समेत औँल्याइएका विषय तथा अन्य उजुरीका हकमा अनियमितताको तथ्य गत पुष्टि हुन नसकेपछि आयोग ती उजुरी तामेलीमा राख्ने निष्कर्षमा पुगेको वास्तविकता पुनःस्मरण गराउन चाहन्छाै ।’ 
 
आयोगको तामेली निर्णय नै कुनै पनि उजुरीमाथिको अन्तिम निर्णय नभएको जानकारी दिँदै पुनः प्राप्त हुने कुनै प्रमाणका आधारमा पनि तामेली उजुरीलाई आयोगले पुनः छानबिन एवम् अनुसन्धानको दायरामा ल्याउन सक्ने आयोगले जनाउ दिएको छ । 
 
अध्यक्ष थापाका छोरा गौरव थापाले मलेसियामा प्राप्त गरेको भनिएको एक लाख डलर रकमको प्रश्नको विषयमा सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान तथा छानविनको दायरामा पर्ने भएकाले आयोगले हालका आयोग पदाधिकारीको बहालीपूर्व नै विसं २०६९ साउन २१ गते नै निर्णय गरी सम्पत्ति शुद्धीकरण विभागलाई आवश्यक कारबाहीका लागि लेखी पठाइएको विज्ञप्तीमा भनिएको छ ।  
 
फिफा निर्वाचनका क्रममा अध्यक्ष थापाले गरेको भनिएको अनियमितताको विषय र हाल आयोगले अध्यक्ष थापा सम्वद्ध फिफाका निर्णय एवम् वस्तुगत प्रमाण संङ्कलन गरिरहेको र सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएको खण्डमा छानविन एवं अनुसन्धान कार्यलाई तीव्र रुपमा अघि बढाउने उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ