भारतमा चौवालीस हजार चार सय उनानब्बे संक्रमित थप


प्रकाशित

नयाँदिल्ली । भारतमा विगत चौबीस घण्टाको अवधिमा थपचौवालीस हजार चार सय उनानब्बे  व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार १३८ व्यक्ति संक्रमणमुक्त भएका छन् । 

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५२४ जनाको मृत्यु भएको र  यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार २२३ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल ४ लाख ५२ हजार ३४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औं दिन हो ।

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार ४८८ व्यक्ति सक्रिय  संक्रमित रहेका छन् । त्यसपछि केरलामा ६५ हजार २३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी शहर दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ५९ लाख ३१ हजार नमूना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गत मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताएका थिए  । 

उनले भने, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं । हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं ।”

प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेको पनि  जानकारी दिएका थिए । 


प्रतिक्रिया :

नयाँ