- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नाइजेरियामा खेतमा काम गरिरहेका किसानमाथि भएको आक्रमणमा ४३ भन्दा बढीको ज्यान गएको छ । उत्तर पूर्वी नाइजेरियामा शनिबार निहत्था किसानमाथि आक्रमण हुँदा ४३ भन्दा बढीको ज्यान गएको नाइजेरियन राष्ट्रपति मुहाम्मादु बुहारीले जानकारी दिएका छन् ।
धान खेतीमा काम गरिरहेका बेलामा उनीहरुमाथि आक्रमण भएको बीबीसीले लेखेको छ । उक्त घटना बोर्नो राज्यको राजधानी माइडुगुरीको नजिकै भएको हो ।
संयुक्त राष्ट्रसंघले बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त घटना भएको बताएको छ । उक्त क्षेत्रमा बोको हराम र इस्लामिक स्टेट (आईएस) को गतिविधि चल्दै आएको छ ।
राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको बताएका छन् ।
उक्त क्षेत्रबाट ४३ जनाको शव प्राप्त भएको र थुप्रै मारिएको हुन सक्ने आँकलन गरिएको छ ।
१५ महिला अपहरणमा परेको समेत बताइएको छ ।
मारिएकाहरुको आइतबार सरकारले सामुहिक अन्त्येष्टि गरेको थियो ।
आइतबार मात्रै ६ सिपाही जेहादीको एम्बुसमा परेर बोर्नो राज्यको बागामा मारिएका छन् ।