arrow

भारतीय अर्थतन्त्रमा व्यापक सुधार, ‘भि सेप रिकोभरी’को संकेत

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १७ बुधबार
india-v-economy.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनमा भारतीय अर्थतन्त्रमा ठूलो गिरावट आएको थियो। तर, लकडाउन केही सुस्त पारिएसँगै अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ। भारतीय अर्थविद्हरुले अर्थतन्त्रले ‘भि सेप रिकोभरि’को संकेत गरेको समेत बताएका छन्। भारतीय अर्थतन्त्र सन् २०२० को पहिलो त्रैमासिक अर्थात  जनवरीदेखि मार्चसम्ममा ३.१ दशमलवले वृद्धि भएको थियो।

कोरोना भाइरसको संक्रमण त्यतिबेला विश्वभर बढ्दै गइरहेको थियो, भने सबैजसो मुलुकहरुले लकडाउन गरिसकेका थिए। तर, दोस्रो त्रैमासिक अर्थात अप्रिलदेखि जुनसम्मा आइपुग्दा भारतीय अर्थतन्त्रमा ठूलो गिरावट आयो। उक्त त्रैमासिक अर्थतन्त्रमा २३.९ करिब २४ प्रतिशतले गिरावट आएको थियो। भारतीय अर्थव्यस्था इतिहासकै ठूलामध्येको एक गिरावटको बिन्दुमा आइपुगेको थियो।

तर, लकडाउन केही सहज पारिएसँगै तेस्रो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बरसम्मा भारतीय अर्थतन्त्रमा फेरि उल्लेख्य सुधार भएको त्यहाको केन्द्रीय बैंकले जनाएको छ। २४ प्रतिशतको गिरावट भएको अर्थतन्त्र तेस्रो त्रैमासिकमा भने ७.५ प्रतिशतमा समित भएको जनाएको छ।

एक त्रैमासिकमै करिब १७ प्रतिशतले अर्थव्यस्था सकारात्मक दिशामा धकेलिनुले पनि भारतीय अर्थव्यवस्थामा भी सेप रिकोभरीको संकेत गरेको टिप्णी अर्थविद्हरुले गरेका छन्।

भारतीय उद्योग परिसंघका महानिर्देशक चन्द्रजित बनर्जीले भने, ‘यसअघिको त्रैमासिकमा देखिएको ठूलो गिरावटका तुलनामा निकै नै सुधार भएको देखिएको छ। यसले अर्थव्यवस्थामा योग्य सुधार हुने संकेत गर्छ।’ कोरोना भाइरसको लकडाउनलाई सुस्त पार्नु अर्थव्यस्थाको सुधारका लागि सहज माध्यम हुने उनको भनाइ छ। उनले चौथौं त्रैमासिकमा अझैं अर्थव्यवस्थामा उल्लेख्य सुधार हुने अनुमान गरेका छन्।

निकै ठूलो बिन्दुले खस्किएको अर्थतन्त्र सोही अनुरुप माथि उठ्नुलाई भि सेप रिकोभरी भनिन्छ। त्यस्तै खस्किएको अर्थतन्त्र लामो समय सोही बिन्दुमा रहेर फेरि माथि उठ्नुलाई यु सेप रिकोभरि भनिन्छ। यस्तै डब्लु, एललगायतका अर्थव्यवस्थाका संकेत हुनेगर्छन्। भि सेप रिकोभरिलाई सबैभन्दा राम्रो संकेत मानिन्छ। किनकी खस्केको अर्थव्यवस्था तत्कालै माथि उठ्नु भि सेप रिकोभरि हो।

भारतीय अर्थतन्त्रमा दोस्रो त्रैमासिकमा धेरै खस्किएको अर्थतन्त्र तेस्रो त्रैमासिकमा धेरै माथि उठेको छ। यसैले कोरोना भाइरसको महामारीपछि भि सेपमा भारतीय अर्थतन्त्र रिकोभर हुनसक्ने अनुमान गरिएको छ।

कोरोना भाइरसको महामारीका बेला अप्रिलमा भारतीय बेरोजगारी दर करिब २५ प्रतिशत पुगेको थियो। तर, नोबेम्बरको तथ्यांक अनुसार भने ६.६ प्रतिशतमा झरेको छ।  यद्यपी, केही रिपोर्टहरुले भने कम ज्याला र तलबका कारण अर्थतन्त्रमा उल्लेख्य सुधार अर्थात भि सेप रिकोभरी हुन नसक्ने आशंका पनि व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ