arrow

ट्रम्पलाई अति निकट महान्यायाधिवक्ताले दिए झट्का, पक्ष नलिएकोमा बेखुशी

logo
एएफपी,
प्रकाशित २०७७ मंसिर १७ बुधबार
donald-trump1.jpg

वासिङ्टन । अमेरिकी महान्यायाधिवक्ता बिल बारले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने रिपब्लीकन पार्टीको दाबीलाई अस्वीकार गरेका छन् । 

राष्ट्रपति ट्रम्पका अति निकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाई सार्वजनिक भएसँगै राष्ट्रपतीय निर्वाचन परिणाम उल्ट्याउने योजना लगभग समाप्त भएको छ । 

महान्यायाधिवक्ता बारको टिप्पणीले अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा स्वतन्त्र चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेका विवरणलाई सही ठहर्‍याएको छ । यसअघि नै ती निकायले सन् २०२० को राष्ट्रपति निर्वाचन अमेरिकी इतिहासमै सर्वाधिक सुरक्षित रहेको भन्दै चुनावमा धाँधली नभएको बताएका थिए ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै महान्यायाधिवक्ता बारले “अहिलेको मितिसम्म हामीले चुनावी परिणामलाई नै असर पार्ने किसिमले चुनावमा धाँधली भएको कुनै प्रमाण भेटका छनौं” भने ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि मिचिगन, पेन्सिल्भेनिया र जर्जिया जस्ता राज्यमा व्यापक धाँधली भएको आरोप लगाउँदै लगातार ट्वीट र अन्तर्वार्ता दिइरहेका छन् । तर उनको दाबीमा कुनै ठोस प्रमाण भेटिएका छैनन् ।

मंगलबार बिहान पनि राष्ट्रपति ट्रम्पले गरे ट्वीटमा मिचिगनको चुनावी नतिजाका बारेमा सार्वजनिक सुनुवाई गर्न आफू तयार रहेको बताएका थिए । यस राज्यले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन विजयी भएको भन्दै प्रमाणपत्र दिइसकेको छ । 

राष्ट्रपति ट्रम्पका तर्फबाट दायर भएका निवेदनहरुलाई राज्यका सर्वोच्च अदालतहरुले पर्याप्त प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् । 

औपचारिक मतगणनामा ट्रम्पको भन्दा बाइडेनले ६२ लाख बढी मत प्राप्त गरेका छन् । बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २३२ इलेक्टोरल मत मात्र पाएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

आगामी डिसेम्बर १४ मा हुने इलेक्टोरल कलेज भेलाले औपचारिक रुपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नेछ । 

महान्यायाधिवक्ता बारले सार्वजनिक गरे धारणाप्रति राष्ट्रपति ट्रम्पले तत्कालै कुनै प्रतिक्रिया जनाएका छैनन् । तर ट्रम्पका कानुनी सल्लाहकार रुडी जिलियानी र जेन्ना एलिसले संयुक्त वक्तव्य जारी गरी महान्यायाधिवक्ता बारको भनाईलाई खारेज गरेका छन् ।

वक्तव्यमा उनहरुले कम्तीमा ६ वटा राज्यमा चुनावमा व्यापक धाँधली भएका पर्याप्त र ठोस प्रमाणहरु आफूहरुसँग रहेको दाबी गरेका छन् ।

पछिल्ला केही दिनदेखि महान्यायाधिवक्ता बारले चुनावी परिणामलाई लिएर आफ्नो पक्षमा राय नदिएको भन्दै राष्ट्रपति ट्रम्प बारप्रति बेखुशी भएको समाचार आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ