arrow

आफैं फायर खोलेर एम्बुसमा परेका ओली शनिबारको बैठकमा नजाने संकेत, प्रचण्ड–नेपाल पछि नहट्ने 

दोस्रो तहका नेताहरुको ओली–प्रचण्डको बन्द बोलचाल खुलाउने प्रयास जारी 

logo
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
oli-prachanda-ncp-meet.jpg

काठमाडौं । कात्तिक २८ गतेपछि नेकपाका दुई अध्यक्षबीच बोलचाल बन्द भएको छ । पार्टी एकता गरेको साढे दुई वर्षमै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बोलचाल बन्द र शत्रुतापूर्ण व्यवहार शुरु भएको हो  । दुई महिनायता उनीहरु राम्रोसँग कुराकानी गर्ने र पहिलेजस्तो खुला हृदयका साथ हार्दिकता साटासाट हुन सकेको छैन । कात्तिक २८ गतेपछि भने उनीहरुबीच बोलचाल नै बन्द भएको एक स्थायी कमिटी सदस्यले भने । 

उनका अनुसार कात्तिक २२ पछि त दुई नेताहरुबीच खुला रुपले कुराकानी हुन नसकेपछि बोलचाल नै बन्द भएको हो । उनीहरुले औपचारिक वा अनौपचारिक कुराकानीसमेत गर्न सकेका छैनन् । बैठक बस्दा बाहेक उनीहरुबीच कुराकानी हुन नसकेको नेताहरुले बताएका छन् । ‘सचिवालय बैठकमा पनि विषय वस्तुमा मात्रै कुराकानी हुन थाल्यो २२ गते यता दुई वटा सचिवालय बैठक भए त्यहाँ दुवै अध्यक्षको बोलचाल भएको देखिएन बैठकमा पनि राम्रोसँग अनुहार हेराहेर भएन’, ती स्थायी कमिटी सदस्यले भने । 

उनीहरुबीच अहिले संवादको ढोका बन्द भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ मा पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका विषयले त झन् शत्रुको जस्तै व्यवहार भएको छ । ‘प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा जे जे विषयहरु उल्लेख गरिएका छन् त्यो विषय प्रतिपक्षी दलको नेताले लगाउने लाञ्छनापूर्ण आरोपको पुलिन्दा हुने व्यवहार निकै शत्रुतापूर्ण भएको छ यसले गर्दा दुवै जना एक ठाउँ बस्न सक्ने अवस्था छैन’, प्रधानमन्त्री ओली निकट एक स्थायी कमिटी सदस्यले भने । 

उनका अनुसार अहिले ओली लचिलो हुन खोजे पनि प्रचण्डले आफ्नो अडान नछाडेपछि झन् समस्या भएको छ । ‘प्रतिवेदन आए पनि केही छैन मिलेर जानका निम्ति के के गर्न सकिन्छ भनेर ओलीले केही साथीहरुसँग छलफल पनि गर्नुभयो तर प्रचण्डले यो अब बैठकबाटै छिनोफानो हुन्छ भनेपछि ओलीले पनि अर्को प्रतिवेदन तयार पार्ने कुरा भएको हो जुन मंसिर १३ गतेको बैठकमा राखिएको छ । अहिले ओलीले दुवै प्रतिवेदन फिर्ता गरेर संयुक्त दस्तावेज लेख्न प्रस्ताव गरेपनि उहाँहरु मान्नु भएको छैन अब २० गते बैठक बोलाउन भएको छ प्रधानमन्त्रीको उपस्थितिबारे अझै अन्यौल रहेको छ ।’ओली निकट स्थायी कमिटी सदस्य भने  ।  

संयुक्त दस्तावेजको प्रस्ताव महासचिव विष्णु पौडेलले धेरै दिनदेखि प्रस्ताव गरिरहेका छन् । तर उनको यो प्रयास सफल हुन सकिरहेको छैन । ओली निकट स्रोतका अनुसार प्रचण्डले प्रतिवेदन नै पेश गरेर शत्रुतापूर्ण व्यवहार देखाएका कारण पहिलाको जस्तो सहज अवस्थामा फर्किन अब समय लाग्नेछ । उता प्रचण्ड वरिष्ठ नेता मात्रव नेपाल समूहको बुझाई भने ओलीले बैठक डाक्न अनुरोध गरेको पत्रलाई लिखित जवाफ दिएर फायर खोलेपछि त्यस्तो प्रतिवेदन लेखेर बैठकमा पेश गर्नु परेको हो । 

ओलीले बैठक बोलाउन नमानेपछि लिखित पत्र दिनुपरेको हो तर पत्रको जवाफ नै १० पेजको पठाएपछि बाध्य भएर प्रचण्डले प्रतिवेदन लेखेका हुन्’, प्रचण्ड निकट एक नेताले भने । उनका अनुसार पार्टी विभाजन हुने नहुने भन्ने बारेमा ओली नै बढी जिम्मेवार हुनुपर्नेछ । प्रधानमन्त्री समेत रहेका ओलीले सबैलाई समेटेर लैजानु पर्नेमा बैठक नबोलाई सबैलाई पेलेर लैजान्छु भनेका कारण यस्तो समस्या आएको हो’, ती नेताले भने । उनका अनुसार २० गते प्रचण्ड नेपाल पक्ष लचिलो हुने अवस्था नआए ओली बैठकमा उपस्थित हुने संभावना निकै कम रहेको छ । 

दुई अध्यक्षबीच संवाद बन्द भएपछि महासचिव पौडेलका अतिरिक्त उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल लगायतका ओली पक्षका नेताहरुले सहजीकरण गर्न खोजेपनि उनीहरु सफल हुन सकेका छैनन् । 

त्यसैगरी पूर्व माओवादीका नेताहरु जनार्दन शर्मा, हरिबोल गुजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेलले पनि दुवै अध्यक्षलाई संवाद गरेर समस्याको टुंगो लगाउन आग्रह गरेका छन् । बिहीबार पनि दुई नेताहरु पौडेल र नेम्वाङ खुमलटार पुगेर ओली प्रचण्डको संवाद खुलाउने प्रयास गरेको भए पनि प्रचण्डले सकारात्मक संकेत नदिएको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ