arrow

नवलपुर समाज युकेद्वारा बाढी प्रकोप प्रभावित र विपन्न परिवारलाई राहत हस्तान्तरण

logo
टिकाराम रजाली,
प्रकाशित २०७७ पुष १८ शनिबार
nawalpur-samaj-uk.jpg

बुलिङ्गटार । नवलपुर जिल्ला समाज युकेद्वारा नवलपुरको पहाडी क्षेत्रमा पर्ने २ वटा गाउँपालिकाका ४५ घर बाढी प्रकोप प्रभावित तथा विपन्न परिवारलाई राहत हस्तान्तरण गरेको छ । यस वर्ष बाढी पहिरोमा मृत्यु भएका बुलिङ्गटार डांडाझेरीका २ घर परिवारलाई ४० हजार, बौंदीकालीका घरवार विहिन २ विपन्न परिवारलाई १० हजारका दरले र अन्य सवैलाई ५ हजारको दरले नगद राहत सहयोग प्रदान गरेको नवलपुर जिल्ला समाज युकेकी उपाध्यक्ष मिना सापकोटाले जानकारी दिइन् । 

राहत रकम ग्रहणपश्चात बौंदीकाली–१ का उमा परियारले आफ्नै बारीमा सानै भएपनि घर बनाएर बस्ने योजना सुनाइन् । २ छोराछोरीकी आमा उमाको ५ वर्ष देखि पति सम्पर्कबिहिन भएको र घर नभएकाले आफन्तको गोठमा बस्नुपर्ने बाध्यता रहेको पिडा पोखिन् । बुलिङ्गटार–६ अत्रौलीमा भएको राहत हस्तान्तरण कार्यक्रममा बोल्दै बौंदीकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले पहाडी क्षेत्रलाई माया गरेर नवलपुर समाज युकेले बाढी पहिरो प्रभावित र विपन्न परिवारलाई राहत उपलब्ध गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे । गाउँपालिकाले विपन्न परिवार सहयोग कार्यक्रम अन्तर्गत खरको छानो भएका परिवारलाई टिन उपलब्ध गराउने योजना सुनाउँदै उनले हरेक नागरिकलाई बाच्न पाउने अधिकारको सुनिश्चितता गर्ने प्रतिवद्वता व्यक्त गरे। 

बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शसिकिरण वास्ताकोटीले आफूले श्रम गरेर कमाएको रकम संकलन गरि पहाडी क्षेत्रबासीलाई सम्झेर सहयोग गरेकोमा आभार व्यक्त गरे । आफूले युकेमा रहेर कार्य गरेको अनुभव सुनाउँदै नवलपुर समाज युकेले मातृभूमिलाई सम्झेर सघाउनु नै आफैैमा महत्वपुर्ण रहेको अध्यक्ष बास्ताकोटीले बताए । राहत लिएर सहि ठाउँमा सदुपयोग गर्न आग्रह गर्दै प्रभावितहरुको समस्यामा गाउँपालिकाले समेत थप सघाउने प्रतिवद्वता व्यक्त गरे।

नवलपुर जिल्ला समाज युकेका सल्लाहकार टिकाराम सापकोटाले शहरी क्षेत्रमा अन्य दातृ निकायहरुको पनि सहयोग रहने र पहाडी क्षेत्रमा कमैको नजर पर्ने भएकाले पहाडी २ गाउँपालिकालाई छनौट गरेको बताए। सहयोग रकम कुनै च्यारिटेवल फण्ड, दातृ निकायको सहयोग नभएर नवलपुरबाट युके गएकाहरुको व्यक्तिगत संकलन गरेको रकम रहेको उनले जानकारी दिए । 

राहत वितरण तथा समन्वयका लागि जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आले, पूर्व क्षेत्रीय निर्देशक खडग बहादुर कुमाल र रेडक्रसकर्मी तथा पत्रकार केबी राना सहितको ३ सदस्यीय समिति गठन गरिएको थियो । राहत वितरण कार्यक्रममा २ गाउँपालिकाका प्रमुख, बुलिङ्गटार–३ का वडाअध्यक्ष यम बहादुर झेंडी, वडा नम्बर ६ का अध्यक्ष सूर्य बहादुर राना, कार्यपालिका सदस्य कुल बहादुर कुमाल, वडा सदस्य वडा बौंदीकाली–३ का वडाअध्यक्ष यम बहादुर ठाडा, शिव मावि अत्रौलीका प्रधानाध्यापक ओम श्रेष्ठ, सेतीनाग मावि अर्खलाका प्रधानाध्यापक खेम बहादुर सुस्लिङ्ग, रामशाह आधारभुत विद्यालय, भारतीपुरका निमित्त प्रधानाध्यापक रामजी श्रेष्ठ, वडा सदस्यहरु, समाजिक संघ संस्थाका अगुवाहरुको समेत सहभागीता रहेको थियो । 

यसैविच बौंदीकाली–३ घरभई हाल युकेमा रहनुभएका नवलपुर जिल्ला समाज युकेका अध्यक्ष ईन्द्रजित सारु मगरले नेपाली भाषा, कला, संस्कृतिको संरक्षणसंगै आफ्नो जन्मृभूमिमा भएका हरेक सुख दुखमा सँगै रहेको जानकारी दिंदै आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ