arrow

एक नम्बर प्रदेशसभामा बैठक सुरुभएको तीन मिनेटमै स्थगित

logo
विवेक मिश्र,
प्रकाशित २०७७ माघ ७ बुधबार
pradesh-sabha-1.JPG

मोरङ ।  प्रदेश एकको हिउँदे अधिवेशनमा सत्तारुढ दल नेकपा विभाजनको असर प्रतक्ष देखा परेसंगै बुधबार बैठक सुरु भएको ३ मिनेटमै बैठक  स्थगित भएको छ । प्रदेशसभामा बैठकमा निलम्बन गरिएका १६ जना सांसदलाई ओली पक्षले बैठक कक्षमा प्रवेश नदिने योजनामा थियो ।  प्रचण्ड-माधव पक्षको योजना मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतमा बोल्न नदिने तयारीमा थिए ।

आफूहरुलाई अवरोध हुनसक्ने भएपछि नेकपा प्रचण्ड-माधव समूहमा सांसद एकै पटक प्रदेशसभामा प्रवेश गरे । बैठक अघि नेकपाका प्रदेशसभा सदस्य तीनपैनी चोक स्थित पार्टी कार्यालयमा थिए ।

बैठक कक्षमा प्रवेश गर्नु अघि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । बैठकमा दुवै समूह आ-आफ्नो अडान राखे । बुधबार बैठकमा अवरोध भए संवैधानिक प्रश्न उठ्ने देखिएपछि सभामुख भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त बाचन गर्ने र अनिश्चितकालका लागि बैठक स्थगित गर्ने बताए ।

६ महिना भित्र अनिवार्य रुपमा अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था भएका कारण दुवै समूह प्रदेश प्रमुखको पत्र बाचन गरेर बैठक स्थगित गर्न तयार भयो । सो निर्णय पछि प्रचण्ड- माधव समूहका नेता प्रदेशसभामा प्रवेश गरे ।

सभामुख बैठक कक्षमा प्रवेश गरेको करिब ३ मिनेट वित्न नपाउँदै बैठक स्थगित भयो ।  सभामुखले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र बाचन गरेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

सामान्तया अधिवेशनको सुरुवात र अन्त्यमा दलका नेताले सम्बोधन गर्ने परम्परा छ । तर बुधबार परम्परा तोडिएको छ । सभामुखले अर्को बैठक बोलाएपछि मात्रै दलका नेताको सम्बोधन हुनेछ । त्यसपछि मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफलको प्रकृया अघि बढ्नेछ ।

नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले निलम्बनमा परेका सांसदलाई प्रवेश गर्न नपाउने आफ्नो अडान कायम नै रहेको बताए । बैठक सञ्चालन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बुधबार कुनै कार्यसूची नबनाइएको उनले बताए ।

नेकपा प्रचण्ड-माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुखले बैठकको मिति तोक्ने बताए । अब बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने उनले बताए ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने विवाहको तयारीमा रहेका छन् । उनी ११ माघमा विवाह गर्दैछन् । ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ