arrow

कमलपोखरीको अस्तित्व जोगाउन कठिनः 'पुनःनिर्माणका क्रममा पानी सुकाउनु ठूलो गल्ती'

logo
हाम्रा कुरा
प्रकाशित २०७७ माघ १३ मंगलबार
kamalpokhari1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक कमलपोखरी यतिबेला पुनःनिर्माणको चरणमा छ । पुनःनिर्माणका सिमेन्टको प्रयोग गरी कंक्रिट स्वरुप दिने सिलसिलामा पोखरीको पानी सुकाइएको छ ।

पानी सुकेपछि पोखरी चिरा परेको छ ।  हजारौं बर्ष पुरानो मानिएको कमल पोखरी सिमसार क्षेत्र भएकाले यहाँबाट निकास भएको पानी काठमाडौंका ढुंगेधाराहरुमा झर्ने गर्छ । तर प्राचीन ढुंगेधाराहरुमा पनि हिजोआज पानी झर्न छाडेको छ । किनकी पोखरीमा पानी सुकेपछि ढुंगेधारामा विगतमा जस्तो पानीको फोर्स छैन ।

स्थानीय सीप र परम्परागत प्रविधि प्रयोग गरेर पोखरी संरक्षण गर्नुको साटो पानी सुकाउने र कंक्रिट रुप दिनखोज्दा यस्तो अवस्था आएको सिमसार र सम्पदाहरुको अध्ययन गरिरहेका अभियन्ता सुशील श्रेष्ठको भनाइ छ ।

कंक्रिट र ढुंगाको चौडा पर्खाल चारैतिर लगाइएपछि, पोखरी रिचार्ज हुने पानीको स्रोत नै बन्द हुँदा पोखरीको अस्तित्व मेटिन सक्ने अभियन्ताहरुको दुखेसो छ ।

‘काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यका लागि कमल पोखरी पुनःनिर्माण ड्रिम पोजेक्ट होला तर यसलाई निर्माण गर्नेक्रममा गल्ती गरियो, हामीसँग सोधिएन र परामर्श नै गरिएन’, अभियन्ता श्रेष्ठ भन्छन,‘रानीपोखरी निर्माण गर्दा पनि समस्या आयो, अहिले लेउ र झ्याउले घेरिसकेको छ । कमल पोखरीको पनि यस्तै हालत हुन्छ । प्राकृतिक पानी संरक्षण गर्न सकिदैन । तुरुन्तै पानी हाल्नुपर्छ ।'

अभियन्ता श्रेष्ठ, भन्छन्,‘यो सिमसार जोगाउन तुरुन्तै पानी भर्नुपर्छ, यहाँ पानी सुक्दा नारायणहिटी क्षेत्र, हात्तीसार क्षेत्र र कमलादी क्षेत्रका ढुंगेधाराहरु सुक्ने तरखरमा छन्,’ उनले अगाडी भने,‘यही तरिकाले कमल पोखरी सुकाउने हो भने यहाँ आसपासका इनार र बोरिङमा पनि सुकेर सहरबासीमा पानीको हाहाकार हुनसक्छ ।’

कमलपोखरी संरक्षण एवं जनहित समाजका संयोजक प्रकाश कार्कीले स्थानीयबासी र सम्पदा संरक्षण अभियन्ताहरुको भएको सल्लाह र परामर्शविपरित पोखरी निर्माणको काम हुनु दुर्भाग्य भएको दुखेसो गर्छन ।

‘६ महिनादेखि पिंध चिरा परेको पोखरीमा तुरुन्त पानी भर्न र पुनःनिर्माणका सिमेन्टको प्रयोग नगर्न हाम्रो माग छ, संयोजक कार्कीले भने । पानी सुकाएर पोखरीको बीचमा कंक्रिटको कमल फूलाउने योजना बनाउनु नै गलत काम भएको अभियन्ताहरुको भनाइ छ ।

मैदानमा परिणत भएको पोखरी चारैतिर ढुंगाका चौडा भर्‍याङ जस्तो देखिने पर्खाल निर्माण भइरहेको छ । जसका कारण पोखरीमा आउने प्राकृतिक पानीको बाटो पूर्ण रुपमा बन्द भएको देख्न सकिन्छ ।

काठमाडौं महानगरपालिकाको पूर्वाधार विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले पोखरीको डिजाइन सबैको सहमतिमै भएकाले निर्माणको काम नरोकिने बताएका थए । उनले भने,‘पोखरी निर्माणलाई राजनीतिकरण गर्न खोजिएको हो, पोखरीको डिजाइन त तीन बर्षअघि देखिनै स्थानीयबासी र सम्पदा संरक्षकहरुसँग गरेको सहमति अनुसार तयार गरेका हौं ।’

करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए।

निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ