arrow

खिर खान किन मान्दैनन् चेपाङ बालबालिका ?

logo
रासस,
प्रकाशित २०७७ माघ २१ बुधबार
rice-pudding.jpg

चितवन। पर्वमा मीठो चोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ। बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरूले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ।

जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ। खेतीपाती र कामका लागि बालबालिकासमेत परिचालन गर्ने गरिन्छ। स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूलको खोजीमा जाने गर्दछन्। ती बालबालिकालाई बिचैमा विद्यालय नछाडुन् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजाको व्यवस्था गर्दै आएको छ। यसले गर्दा खाजाको लोभले विद्यार्थी बिचैमा कक्षा छाड्दैनन्।

दिवा खाजामा विविधता दिन समयमयमा खिरसमेत बनाइन्छ। चेपाङ बालबालिकाले खिर भने खान मान्दैनन्। कालिका आधारभूत विद्यालय निबुवा टार सिद्धिका प्रधानाध्यापक जीतबहादुर भट्टराई दिवा खाजामा खिर र जाउलो खान विद्यार्थीले रुचि नदेखाएको बताउछन्।

उनको विद्यालयमा भर्ना भएका विद्यार्थी १७४ जना छन्। नियमित विद्यालय हाजिर हुने विद्यार्थीको सङ्ख्या १४० जना रहेको छ। भट्टराईले भने, “घरमा खिरको स्वाद नलिएकाले विद्यालयमा पनि खान मान्दैनन्।” खिर नचिनेकै कारण विद्यार्थीले नखाने गरेको उनको भनाइ छ।

कालिका नगरपालिकाको चतुर्मुखी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर गुरुङ विद्यार्थीले जाउलो र खिर खाजामा राख्दा खासै चाख नदिएपछि त्यसको ठाउँमा मौसम अनुसारको फलफूल, दूध र चिउरा राखिएको बताउछन्।

कालिका नगरपालिकाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले परिवारमा खिर खाने परिपाटी नहुँदा विद्यार्थीलाई दिवा खाजामा खिर खुवाउन नसकिएको बताउछन्। यहाँ रहेका ३५ वटा विद्यालयमा एक हजार ७७८ जना चेपाङ समुदायका विद्यार्थीलाई खाजा खुवाइन्छ।

नगरपालिकाले अहिले ती विद्यालयमा अध्ययन गर्ने चार हजार ६५९ जना विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ। दिवा खाजामा उनीहरूलाई स्थानीय उत्पादनलाई जोड दिन भनिएको छ।

विद्यालयले खाजामा खिर, चना, अण्डा, तरकारी चिउरा, हलुवा, मासु चिउरा, जाउलोलगायतका परिकार खुवाउने गरेका छन्। विद्यार्थीले दिवा खाजामा स्थानीय उत्पादन गरिएको तरकारी र चिउरा, चना, केराउको तरकारी र चिउरा, चना र अण्डा बढी रुचाउने गरेको उनले जानकारी दिए।

खाजा मीठो हुँदा विद्यार्थी आउने र नमिठो हुँदा कम हुने गरेपछि विद्यार्थीलाई खाजा खाने समयमा मात्र जानकारी दिइने गरेको उनले बताए। कतिपय खाजा खानकै लागि मात्र भए पनि आउन थालेपछि विद्यार्थीलाई विद्यालय आउने बानी बसेको उनले जानकारी दिए।

पुसदेखि असारसम्म दिवा खाजाका लागि नगरपालिकाले रु ८७ लाख २१ हजार बजेट विनियोजन गरेको छ। खाजाका लागि नगरपालिकाले परिकारसमेत तोकेको उनले बताए। उनले भने “खाजा के खुवाउने भन्ने विषयमा हामीले तोकेका छौं। सोही अनुसार विद्यालयले खुवाउँछन्।”

जिल्लाको कालिका नगरपालिकासँगै राप्ती नगरपालिका र इच्छा कामना गाउँपालिकामा पनि चेपाङ समुदायको बसोबास रहेको छ। ग्रामीण क्षेत्रमा उब्जनी कम हुने भएकाले धेरैको परिवारमा आफ्नो उत्पादनले ६ महिना पनि धान्दैन। मेलापात र कन्दमूलले परिवार पाल्नुपर्ने बाध्यता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ