arrow

हेलमेट फिर्ता माग्दा ६ साथी मिलेर चिरपटले हानेर प्रवीणको हत्या, यस्तो छ घटना

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ २१ बुधबार
prabin-case.jpg

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान सहायक सूचक प्रवीण थापा मगर हत्यामा संलग्न अभियुक्तहरूलाई बुधवार दिउसो सार्वजनिक गरेको छ । हत्या घटनामा ७ जनालाई पक्राउ गरेको बुधवार  आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरीले जानकारी दिएको छ ।

गत माघ २ गते नेपालगन्ज काँरकादोको पूर्व तर्फको खेतमा प्रवीणको शव फेला परेपछि बाँके प्रहरीले विशेष अनुसन्धान सुरु गरेको थियो। बाँके प्रहरीले सहायक सूचक थापा मगरको हत्या पश्चात् विभिन्न व्यक्तिहरूलाई बोलाएर समेत अनुसन्धान गरेको थियो।

सोही क्रममा हत्यामा संलग्न व्यक्तिलाई महानगरीय अपराध महाशाखा काठमाडौँको सहयोगमा पक्राउ गरी ल्याइएका नेपालगन्ज ६ का १७ वर्षीय बिवेक परियारको बयानको आधारमा हत्यामा संलग्न अन्य ६ जना रहेको खुलेको थियो । बाँके प्रहरीले ४ जनालाई नेपालगन्ज र २ जनालाई कैलालीबाट पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमित वि.क.,सुशान्त भण्डारी र सुवास थापा र दिनेश कुमार कुर्मी (बर्मा) रहेको प्रहरीले जानकारी दिएको छ। बाँके प्रहरीले घटनामा संलग्न अभियुक्तहरूलाई मुलुकी अपराध संहित ऐन ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैदको मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी बाँकेले सार्वजनिक गरेको घटना विवरण :-
मिति २०७७।१०।०२ गते अं.०९:३० बजेको समयमा जिल्ला बाँके नेपालगन्ज उप.म.न.पा.वडा नं.१८ सुर्जिगाँउ स्थित राम सेवक खटिएको एकान्त तोरीवारिमा अपरिचित अं.२७/२८ वर्षको पुरुष व्यक्तिको मृत शव रहेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल यस कार्यालयबाट प्र.उ.समेतको टोली घटनास्थल खटी गई घटनास्थलको सुरक्षा र घटनास्थल लाई कर्डन गरी मृत शवको लाशजाँच मुचुल्का समेतको प्रारम्भिक कार्य पुरा गरेकोमा मृतक जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सूचक पदमा कार्यरत वर्ष २७ को प्रवीण थापा मगर भन्ने खुल्न आएको, निजको टाउकाको पछाडि भाग, निधारको बायाँ भाग, माथिल्लो ओठ, दुवै खुट्टाको घुडा, नली, हात, शरीरको विभिन्न भागमा चिरपट दाउरा (पट्टा) प्रहार गरी बीभत्स हत्या भएको घटनालाई यस जिल्ला प्रहरी कार्यालय बाँकेले तालिम प्राप्त कुकुरको प्रयोग, केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा सूक्ष्म र प्रभावकारी अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको ।

अनुसन्धानबाट खुलेका कुराहरू : नेपालगन्ज उप-महानगरपालिका वडा नं.१८ कालिका माई मन्दिर बगैँचा र घटनास्थल वरपरको क्षेत्र लागु औषध सेवन तथा कारोबार गर्ने स्थानको रूपमा रहेको हुँदा मृतक सो क्षेत्रमा सूचना सङ्कलनको लागी साथी कर्की भन्ने दिनेश कुमार कुर्मी सँग गएको ।

मृतक र कर्की भन्ने दिनेश कुमार कुर्मी साथी रहेको । अभियुक्तहरू सबै जना गाँजा खाने साथीहरू रहेको ।  मिति २०७७/१०/०१ गते दिउसो बजार घुम्दै साँझ ६ बजे तिर अभियुक्त ६ जना गाँजा खान भनी ने.ग.१८ लग्दहवा स्थित आँप बगियामा गएको ।  मृतक र कर्की भन्ने दिनेश कुमार कुर्मी समेत सोही बगियामा मोटरसाइकल रोकी अं.१०० मिटर टाढा नजिकैको बगियामा रहेको । घटनास्थलमा कर्की भन्ने दिनेश कुमार कुर्मीले प्रयोग गर्ने १ जोर (फिस) चप्पल बरामद गरी अनुसन्धान सुरु भएको ।  कार्यालयले (कुकुर जाँच) को क्रममा घटनास्थल देखी अं.२०० मिटर उत्तर तर्फ आँप बगिया मृतकले प्रयोगको भे ३ प ६१५ नं. सुपरस्प्लेण्डर मोटरसाइकल फेला परेको ।

बगैँचामा जम्मा भई गाँजा सेवन गरी सके पछि घर तिर जाने क्रममा अभियुक्तहरू ६ जना मध्ये विवेक परियारले मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मीको मो.सा.मा रहेको हेलमेट राम्रो लागी फोटो खिची उठाई लिई गएको ।  सो कुरा मृतकले देखेपछि मृतक र कर्की भन्ने दिनेश कुमार कुर्मी निजहरूको पिछा गर्दै हेलमेट फिर्ता देऊ भाइ भन्दै घटनास्थल सम्म पुगेको ।

मिति २०७७/१०/०५ गते कर्की भन्ने दिनेश कुमार कुर्मीको भे ८ प २००७ नं. होण्डासाईन मोटरसाइकल बरामद भएको ।  मृतक घटनास्थल पुग्नु अगावै कर्की भन्ने दिनेश कुमार कुर्मी बाहेक अन्य ६ जना अभियक्तुहरुले सो नजिक रहेको तारवारमा रहेको दाउराको चिर्पट हात हातमा समाती मृतक लाई प्रहार गर्ने योजनामा रहेका ।

मृतक घटनास्थल पुग्ने बित्तिकै मृतक र अभियुक्त बिच हेलमेट माग्ने क्रममा विवाद भई अभियुक्तहरू ( निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमति वि.क., सुशान्त भण्डारी र सुवास थापा) ले मृतक लाई आफूहरूले हातमा लिएको चिर्पट दाउराले मृतकको टाउको, निधारको भाग, खुट्टाको घुँडा, नली, शरीरको भागमा सबै जनाले दाउराको चिरपटले पटक-पटक प्रहार गरी मृतक भुईँमा ढलेपछि मृतकको शरीर चेक जाँच गरी साथमा रहेको सेमसङ मोबाइल भुन्टु भन्ने सुवास थापाले लिएको, सादा किप्याट मोबाइल बाङ्गे भन्ने सुमति वि.क.ले लिएको ।

मृतकका साथी कर्की भन्ने दिनेश कुमार कुर्मीले तत्काल मृतकलाई बचाउने तर्फ कुनै प्रतिकार नगरेको, घटना पश्चात् भागेको र सो बारेमा मृतकका घर परिवार तथा प्रहरी प्रशासनमा समेत जानकारी नगराएको । मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मीको हेलमेट विवेक परियारले आफ्नो घर लिई गएको । पक्राउ पर्छु भनी भोलि पल्ट बिहानै हेलमेट आगोमा जलाई नष्ट बनाएको ।

अनुसन्धान खोजतलास गर्दै जाँदा अभियुक्तहरू मध्येको सुवास थापा लाई मिति २०७७।१०।१३ गते ने.गं. २ घरबारी टोलबाट मृतकको मोबाइल साथ नियन्त्रणमा लिइएको । घटना पश्चात् फरार रहेका विवेक परियारलाई मिति २०७७।१०।१५ गते भक्तपुर चाँगुनारायण ताली बाट नियन्त्रणमा लिइएको । सुमति बि.क. र सुशान्त भण्डारीलाई सोही दिन मिति २०७७।१०।१५ गते नेपालगन्ज बसपार्क नजिक समावेशी स्कुल नजिक बाट नियन्त्रणमा लिइएको ।

मिति २०७७/१०/१६ गते मृतकको सादा किप्याड मोबाइल बाङ्गे भन्ने सुमति वि.क.को घर बाट बरामद भएको । तेज मगर र निश्चल गुरुङ दाङ, सुर्खेत हुँदै धनगढी बसपार्क होटेलमा लुकिछिपी बसेको स्थानमा मिति २०७७।१०।१७ गते कैलालीबाट पक्राउ गरिएको । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको । मुलुकी अपराध संहित ऐन २०७४ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैद ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ