arrow

डडेल्धुरामा प्रचण्ड-नेपाल समूहले सामान्य जुलुस समेत निकाल्न सकेन, प्रहरीलाई ढुङ्गाले हानेर भागे कार्यकर्ता

logo
राम धामी,
प्रकाशित २०७७ माघ २२ बिहिबार
prachanda-madhavs.jpg

डडेल्धुरा । डडेल्धुरा जिल्लामा बिहीवार आम हडतालको दिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूह निरीह देखिएको छ । देशव्यापी रूपमा घोषित आम हडतालको दिन सदरमुकामका केही पसल बन्द भए पनि अधिकांश पसल र बजार क्षेत्र खुला रहेको थियो । आम हडताल घोषणा गरिए पनि सो समूहका जिल्ला स्तरीय नेता कार्यकर्ताहरूले सदरमुकाममा सामान्य जुलुस समेत प्रदर्शन गर्न सकेनन् ।

सो समूहका जिल्ला अध्यक्ष मानसिँह माल ‘क्रान्ति’ आम हडतालको दिन जिल्लामा देखिएनन् । धनगढीमा रहेका उनले अकस्मात् आम हडताल घोषणा गरिएको र डडेल्धुरा आउन नसकिएको टेलिफोन सम्पर्कमा बताए ।

नेकपा विभाजन हुँदा डडेल्धुरा जिल्लामा प्रचण्ड-नेपाल समूहका जिल्ला स्तरीय नेताहरूको बाहुल्यता रहेको भए पनि आम हडतालमा कुनै पनि जिल्ला स्तरीय नेताहरू सदरमुकाममा नदेखिनु र आम हडतालको खासै प्रभाव  नपर्नुले प्रचण्ड-नेपाल समूह डडेल्धुरामा  निकै निरीह रहेको देखिएको राजनीतिक  विश्लेषकहरू बताउँछन् ।

नेकपा सम्बद्ध स्रोतहरूका अनुसार प्रचण्ड-नेपाल समूहले सदरमुकाममा शक्ति प्रदर्शन गर्न चाहेको भएमा मुठभेडको अवस्था सिर्जना हुन सक्थ्यो । ‘ओली पक्षका कार्यकर्ताहरू घोषित आम हडतालको प्रतिवाद गर्ने सामर्थ्य राख्थे,’ नेकपा ओली समूहका एक जिल्ला स्तरीय नेताले भने,‘डडेल्धुरामा आम हडतालका आयोजकहरू निरीह देखिएकै कारण हामी पनि एक्सनमा गएनौँ ।’

बजार बन्द गराउँदै हिँडेका प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरूले प्रहरीमाथि जिल्लाको भात्काँडा बजारमा आक्रमण गरेका छन् । उनीहरूले गरेको ढुङ्गा प्रहारबाट भात्काँडा प्रहरी चौकीका इन्चार्ज अम्मरबहादुर खडायत घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । ढुङ्गा प्रहारबाट खठायतको खुट्टामा चोट लागेको उनले बताए ।  

आक्रमण गर्नेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरूले डडेल्धुरा सदरमुकाममा रहेका विद्यालयहरू भने बन्द गराउन सकेका छन् भने लामो दुरीका सवारी साधनहरू सञ्चालनमा आउन सकेनन् । जिल्लाका ग्रामीण क्षेत्रमा बन्दको आंशिक प्रभाव परको स्थानीयले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ