arrow

नाका नखुल्दा भित्री मधेस क्षेत्रका बासिन्दाहरू मार्कामा

logo
राम धामी,
प्रकाशित २०७७ माघ २८ बुधबार
mahakali-corss.jpg

डडेल्धुरा । नेपाल-भारत सिमाना अन्य नाका खोलिए पनि  डडेल्धुराको भित्री मधेस क्षेत्रका दुवै नाका नखुल्दा स्थानीयलाई निकै सास्ती भएको छ । पछिल्लो समय नेपाल भारत सीमा नाकाहरू खुला गरिएको भए पनि परशुराम नगरपालिका-५ परिगाँउ र वडा नं. ६ सिसमझालामा रहेका दुवै नाका नखुल्दा भित्रिमधेश क्षेत्रका बासिन्दाहरू निकै मार्कामा परेको बताउँछन् । दुवै नाकामार्फत डुङ्गा चढेर महाकाली नदी तर्दै नेपाल-भारत वारपार गर्ने गरेका भित्री मधेस क्षेत्रका स्थानीयहरू कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउन यता बन्द भएका नाका अहिलेसम्म नखुलाईदाँ निकै सास्ती खेप्नु परेको दुखेसो गर्दछन् ।

परशुराम नगरपालिकामा मात्रै झन्डै ४० हजार जनसङ्ख्या रहेको भने आलिताल गाउँपालिकाका बासिन्दाहरू समेत भारत जान परशुरामका दुवै नाका प्रयोग गर्ने गर्दछन् । सामान्य किनमेलका लागी पनि भारतको टनकपुरसम्म पुग्ने गरेका भित्री मधेस क्षेत्रका बासिन्दाहरू नाका बन्द भएकाले मार्कामा परेको परशुराम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष केशव बोहराले बताए ।

औषधी उपचार र दैनिक उपभोग्य वस्तु लगायत अन्य सामाग्री नेपालको तुलनामा आधा कम मूल्यमा पाइने भएकाले भित्री मधेस क्षेत्रका बासिन्दाहरू टनकपुर बजार धाउने गरेका थिए । तर बन्द गरिएका नाका सञ्चालनमा नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको  परशुराम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए ।

सशस्त्र द्वन्द्वका बेला विस्थापित परशुराम नगरपालिकाको वडा नं ५ र ६ मा रहेका छोटी भन्सार कार्यालयहरू  हालसम्म पुनर्स्थापना हुन सकेका छैनन् । परशुराम नगरपालिका-५ बाङघाट र वडा नं. ६ सिसमझालामा छोटी भन्सार कार्यालय हालसम्म पुनर्स्थापना नहुँदा स्थानीय  व्यवसायीलाई समस्या भएको  उनले जानकारी दिए ।

लकडाउन यता बन्द भएका नाका सञ्चालन ल्याउन पहल भइरहेको परशुराम नगरपालिकाले जनाएको छ । दुवै नाका सञ्चालन नहुँदा भारत जान कैलाली तथा कञ्चनपुरका नाकाबाट घुमाउरो लामो बाटोको यात्रा गर्न बाध्य भएको स्थानीय बासिन्दाहरूको गुनासो छ । भारतसँग जोडिएका अन्य नाका सञ्चालनमा आए पनि यहाँका नाका सञ्चालन नगरिँदा समस्या भइरहेको स्थानीय अगुवा नरबहादुर बोहराले बताए ।

परशुराम नगरपालिका-५,६,७ र ८ नम्बर वडाबाट नगरपालिकाको मुकाम लाल ढुङ्गा बजार आउनु भन्दा भारतीय बजार टनकपुर नजिक पर्छ । गाउँवस्तीमा उत्पादित कृषि उपज, पशुजन्य वस्तु स्थानीयले भारतीय बजारमा बिक्री गरेर आवश्यक वस्तु खरिद गर्न सहज हुने गरेकोमा नाका बन्द हुँदा ओहोर दोहोरसंगै किनमेल ठप्प भएको परशुराम नगरपालिका-६ छेलास्थित विपद् होटेलका सञ्चालक कर्णबहादुर धामीले बताए ।

दुवै नाका सञ्चालनमा आएका बेला दैनिक एक हजारको सङ्ख्यामा स्थानीयले ओहोर दोहोर गर्ने गरेका थिए । परशुराम नगरपालिकाले सिसमझाला र परिगाउँमा अस्थायी रूपमा नाका सञ्चालन गर्दै आएको थियो । बर्षेनी ठेक्का मार्फत डुङ्गा चलाएर दुई वटै नाकामा तार उतार कार्य हुँदै आएकोमा हाल बन्द हुँदा तार उतार कार्य स्थगित गरिएको छ ।

दुवै नाका सञ्चालन गरेर छोटी भन्सार कार्यालय स्थापना गरिदिन स्थानीयले सरकारलाई पटक पटक आग्रह गर्दै आएको भए पनि कुनै सुनवाइ नभएको सीमावर्ती परशुराम नगरपालिका-७ का देवराज जोशीले बताए । नाका सञ्चालन नहुँदा स्थानीय स्तरमा हुने रोजगारीका बाटाहरू समेत बन्द भएको उनले दुखेसो पोखे । अत्यन्तै संवेदनशील भू बनोट भएको चुरे क्षेत्र रहेको भित्री मधेस क्षेत्रमा सयौँ खहरे खोला छन् । बर्षातका समयमा भित्री मधेस क्षेत्रका बासिन्दाहरूले प्राकृतिक प्रकोपसङै दैनिक उपभोग्य वस्तुहरूको पनि अभाव झेल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ