राजा बिरेन्द्रले पचाएको मदन भण्डारीको त्यो लल्कार अनि राष्ट्रपति विद्याले नसहेको रामकुमारीको यो लल्कार

हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ २९ बिहिबार

काठमाडौं। २०४७ चैत ५ गतेको दिन काठमाडौंमा तत्कालिन नेकपा एमालेले विशाल चुनावी सभा आयोजना गरिएको थियो । सो चुनावी सभालाई सम्बोधन गर्दै एमालेका तत्कालिन महासचिव मदन भण्डारीले तत्कालिन राजा बिरेन्द्रलाई ‘राजनीतिमा आउने हो भने श्रीपेच खोलेर र चुनाव लडेर आउन’ चुनौति दिएका थिए । उनले त्यस बखत भनेका थिए, ‘मान-सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज, हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस्, आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् ।’

तत्कालिन राजा बिरेन्द्रप्रतिको नेता भण्डारीको वाणी त्यत्तिकैमा रोकिएको थिएन । उनले आफ्नो सम्बोधनका क्रममा अघि बढ्दै भनेका थिए,‘यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’

मदन भण्डारीले ३० वर्ष अघिको त्यो चुनावी सभामा उल्लेख गरेका न राजा छन् न उनै भण्डारी नै । राजाको श्रीपेच उतारिएको छ र देशमा गणतन्त्र र संघियताको अभ्यास भइरहेको छ । राजनीतिक दलहरुका संयुक्त प्रयासबाट जनताको छोराछोरीले मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् । देशको नेतृत्व र कार्यकारी नेतृत्व दुबै जनताका प्रतिनिधिले गर्दै आएका छन् । संयोगले त्यतिखेर राजा बिरेन्द्रलाई लल्कार्ने भण्डारीकै श्रीमती गणतन्त्र नेपालकव दोस्रो राष्ट्रपतिका रुपमा विराजमान छिन् ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै आएका छौं भन्ने कुरा संविधान र कानूनलाई हेरेर भन्ने अवस्था छ तर व्यवहार भने ठ्याक्केै उल्टो । संविधानमा नै व्यवस्था गरिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग भने नागरिकले अझै गर्न पाइरहेका छैनन् भन्ने उदाहरण अहिले उनै राजालाई लल्कार्ने भण्डारीकी पत्नीको कार्यकालमा देशले भोग्न थालेको छ। बिहीबार प्रहरीले राज्य बिरुद्धको कसुरको अभियोगमा नेकपाकी नेतृ तथा राष्ट्रपति भण्डारीकी आलोचक समेत रहेकी रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नो विवाहको ११औं बर्षगाँठ मनाइरहेकी उनलाई प्रधानमन्त्री केपी ओली सरकारले पक्रेर बर्षगाँठको उपहार दिएको छ। 

पक्राउ दिनु अघी झाँक्रीले आफूले सार्वजनिक रुपमा राखेका अभिव्यक्तिकै आधारमा सरकारले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश’ लागेको बताएकी थिइन् । उनले कानुन मान्ने इमान्दार नागरिक भएकाले गिरफ्तारी दिने भन्दै प्रहरीलाई आफ्नो गिरफ्तारीसमेत दिइसकेकी छिन् । तर उनको यो गिरप्तारीले सरकारको नियत र उसले लिएको बाटोलाई अझ प्रष्ट पारेको देखिएको छ । राजनीतिक तहबाट आएका अभिव्यक्तिलाई राजनीतिक रुपमा प्रतिवाद गर्ने वा निकास निकाल्ने प्रयास विपरित कानुनको डण्डा देखाएर तर्साउने प्रयास अहिलेको यो लोकतान्त्रिक गणतन्त्रमा सम्भव छ त ? नेकपाको आन्तरिक राजनीतिमा संलग्न भएपछि विवादमा तानिएकी राष्ट्रपति भण्डारीलाई चुनावी मैदानमा आउन चुनौती दिने कार्यलाई अपराधमा दर्ज गर्ने हो भने हिजो मदन भण्डारी यस्ता संगिन अपराधमा कतिपटक पक्राउ परेका थिए खोज्नुपर्ने हुन्छ । तर खुसीको कुरा भर्खर प्रजातन्त्र आएको सो समयमा यसलाई अलि कडा अभिव्यक्तिको रुपमा लिइए पनि राजे्य विरुद्धको अपराध ठानिएन । भण्डारी तत्कालिन राजालाई चुनौति दिएको अभियोगमा हिरासतमा जानु परेन। तर अहिले देश अझ उन्नत लोकतन्त्रको आवरणमा भए पनि हिजो लोकतन्त्रका लागि लडेका उनै नेताहरुको बारेमा बोलिएका कुराले अर्को व्यक्ति हिरासतमा जानुपर्ने अवस्था सिर्जना भएको छ । यतिखेर झाँक्री पक्राउ प्रकरणसँगै २०४७ सालमा मदन भण्डारीको सो भाषण फेरि चर्चामा आउन थालेको छ । के राष्ट्रपति भण्डारीले त्यसलाई सुन्ने क्षमता राख्लिन? अहिले धेरैले मनमा यो प्रश्नले घर गरेको छ ।       

झाँक्रीले के भनिन र प्रहरीले उनलाई पक्राउ गर्योे ?
गोरखामा नेकपाले आयोजना गरेको एक सभालाई सम्बोधनका क्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ?, बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु, शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ, चाबहिल हो कि बानेश्वर कता घर छ ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, बडामहारानीका लागि म पनि भारी हुन सकौँला, बडामहारानी बिरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँछौं र बडामहारानीलाई चुनावमा हराउँछौं।' झाँक्रीले अगाडी भनेकी थिइन, 'जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ, हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौं तर त्यसलाई सुनिएन । नेकपा एमालेले २०५० सालमा गरेको निणर्य गम्भीर भूल थियो, मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’ झाँक्री त्यतिकैमा रोकिइनन्, ‘विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ, विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहार्यौं, तर हाम्रा कुरा कसैले पनि सुनेनन्, आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ ।’ 

बुधबार दाहाल-नेपाल पक्षले काठमाडौंमा आयोजना गरेको विरोध सभामा समेत उनले राष्ट्रपति लक्षित त्यो वाणाी वर्षाइन् । ‘यो राष्ट्रपति सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीर माथिको संस्था हो, तर त्यो संस्थाविरुद्ध बोल्ने दुश्साहस गरेको छैन, त्यो संस्थामा कुनै व्यक्तिको निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको बिरुद्ध बोल्न पाइन्छ, कसले भन्यो बोल्न पाइदैन भनेर ?, एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर, बोल्न पाइन्छ ।’ उनले विरोध सभालाई सम्बोधन गर्दै अगाडी भनेकी थिइन्, ‘महिला अस्मिता त्यति बेला बलात्कृत भएको छ जहाँ भागीरथी भट्ट जस्तै, निर्मला पन्त जस्तै कलिला किशोरीहरु, बालिकाहरुको बलात्कार र हत्या भएको छ, त्यति बेला महिला अस्मिता बेचिएको छ, बलात्कृत भएको छ, खण्डित भएको छ, त्यसकारण एउटा तानाशाह बन्दै गरेको एउटा अहंकारी एक प्रकारको कसैलाई नमान्ने, सबै कुराको सर्वज्ञानी अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्न पाइन्छ, यहाँ महिला अस्मिताको प्रश्न आउदैन, कुनै पनि पदमा लिङ्ग हुँदैन, त्यो सार्वजनिक पद हो, त्यसैले बोल्न पाइन्छ ।’

‘आज १८ बर्षसम्म बिद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको एउटा अनेमसंघ भन्ने संस्था छ, त्यसका सदस्यहरुले महिला अस्मिताको गफ गर्दैछन्, मलाई सुन्न हेर्न र समाचारहरुमा पढ्न मन छ, भागिरथीका हत्याराहरुलाई कारबाही गर भनेर तिनीहरु गृहमन्त्रालय पुगे कि पुगेनन् ? मलाई प्रश्न गर्न मन छ ।’ उनले सम्वोधन अघि मुखमा कालो टेप लगाएकी थिइन भने सम्बोधनका क्रममा मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्ने विरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभई व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेकोसमेत प्रस्ट परेकी थिइन् । 

प्रहरीले उनलाई लगाएको मुद्दा मुलुकी अपराध सहिंताको दफा ५८(२) अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । सो संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ । सो दफाको उपदफा १ मा ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने’ उल्लेख छ । यसैगरी सोही दफाको उपदफा २ मा ‘उपदफा १ को कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।’ भन्ने उल्लेख छ ।



नयाँ