arrow

गायत्री परिवारले भोगचलन गर्दै आएको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाको पत्र

अन्याय भएको भन्दै अदालत जाने तयारीमा गायत्री परिवार

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
gayeti-pariwar-bansbari.jpg

काठमाडौं। काठमाडौं महानगरपालिका ३ बाँसवारीस्थित गायत्री परिवार नेपालले २०६६ सालदेखि भोगचलन गर्दै आइरहेको जग्गामा निर्मित भौतिक संरचना खाली गर्न स्थानीय तहले निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका ३ ले जग्गा खालि गराउन निर्देशन दिएसँगै धार्मिक, सांस्कृतिक तथा समाज जागरणमा काम गर्दै आएको गायत्री परिवार सडकमा आइपुग्ने चिन्तामा रहेको छ । 

विश्वहिन्दु महासंघले भोगचलन गर्दै आएको मध्ये २ रोपनी १५ आना क्षेत्रफल जग्गा महासंघले २०६६ सालदेखि धार्मिक क्रियाकलाप गर्ने गरी गायत्री परिवारलाई दिएको थियो । तर अहिले स्थानीय तहले सो जग्गालाई आफू मातहत ल्याउने गरी तयारी गरिरहेको छ । 

विश्व हिन्दु महासंघका तत्कालिन अध्यक्ष हेमबहादुर कार्कीको कार्यकालमा गायत्री परिवारले सो जग्गा प्राप्त गरेको थियो । त्यसपछि स्थानीय तह र सहरी विकास मन्त्रालयमार्फत भौतिक संरचना निर्माण गरि गायत्री परिवारले सो स्थानमा जन्मदेखि मृत्यू संस्कार सम्मका १६ संस्कारका काम गर्दै आइरहेको गायत्री परिवार उत्तर खण्डकी अध्यक्ष सावित्री काफ्लेले जानकारी दिइन् । 

लामो समयदेखि भोगचलन गर्दै आइरहेको जग्गामा एकाएक वडा अध्यक्षबाट जग्गासहित भौतिक संरचना खाली गर्न दबाब आएको गायत्री परिवार नेपालकी अध्यक्ष काफ्लेले गुनासो गरेकी हुन् । उनका अनुसार सो संस्थाले जुनसुकै जात तथा धर्मका गरिब, विपन्न, असहाय परिवारका लागि जन्मदेखि मृत्यूसम्मका आफूले चाहेको १६ संस्कारको काम गर्न सहयोग गर्दै आइरहेको छ । यसैगरी विगत १२ वर्षदेखि त्यहाँ अखण्ड दिप प्रज्वलन गर्दै आइएको छ । सो कार्यका लागि त्यस क्षेत्रमा गायत्री मन्दिर, यज्ञशाला, प्रवचन कक्ष, पुस्तकालय, भोजनालय, शौचालय, गौशाला लगायतका भौतिक संरचना निर्माण गरिएको छ भने दैनिक रुपमा विशेष पूजा अर्चनासहित हवन यज्ञ गर्ने गरिएको छ । 

काठमाडौं महानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष दिपक केसीले भने सरकारले कुनै पनि निकाय र संस्थालाई दिएको भोगाधिकार वर्तमान कानुनले रद्द गरिसकेकाले नेपाल सरकारको नाममा रहेको सो जग्गा स्थानीय तहको अधिकार क्षेत्र भित्र ल्याउन खोजिएको र त्यसमा कुनै पूर्वाग्रह नराखिएको बताए । उनले सो जग्गाको भोगाधिकार सरकारले गायत्री परिवारलाई नभइ विश्व हिन्दु महासंघलाई दिएको र विश्व हिन्दु महासंघले समेत हटाइदिन आग्रह गरेपछि र कानुन अनुसारसमेत भोगाधिकार दिएको जग्गा स्थानीय तहले आफू मातहत ल्याउन खोजेको स्पष्टिकरण दिए । 

तर गायत्री परिवारकी अध्यक्ष काफ्लेले भने २०७२ मा नापी र मालपोतबाट सो जग्गा कसैको भोगाधिकार भित्र नरहेको भनी प्रमाणित गरि पत्र दिएपछि वडा कार्यालयलेसमेत २०७२ साउन ६ गते सो जग्गामा आफूहरुलाइ कार्य गर्न दिने भनि सबै निकायलाई सहयोग गर्न भन्दै पत्र दिएको बताइन् । गायत्री परिवार र स्थानीय वडाका नेतृत्व बिच सो विषयमा विवाद बढ्दै गएपछि वडामार्फत काठमाडौं महानगरपालिकामा २०७५ सालमा सो जग्गाका विषयमा उजुरी परेको थियो । त्यसबखतसमेत काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भौतिक संरचना रहेका क्षेत्रमात्रै गायत्री परिवारलाई दिने र अन्य क्षेत्र स्थानीय तह मातहत ल्याइने आश्वासन दिएका थिए । तर गत २०७६ साल फागुनमा भने महानगरको बोर्डले वडा परिषद्ले गरेको निणर्य मान्य हुने निणर्य गरेको थियो । 

हाल सो स्थान खुला गर्न वडा कार्यालयले १५ दिनको सुचना दिइसकेको छ । सो सुचनापछि गायत्री परिवार आफ्नो संस्थामाथि अन्याय भएको भन्दै अदालत जाने तयारीमा छ । गायत्री परिवार सूर्यको उपासना गर्ने धार्मिक समूह हो । यो समूहले सबै धर्म जातीलाई भेदभावरहित ढंगले आफ्नो विचार दिदै आइरहेको छ। भारतमा मात्र यो परिवारमा २० करोड सदस्य रहेका छन् । नेपालमा पनि गायत्री परिवारमा उल्लेख्य सदस्य आवद्ध रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ