arrow

मौन प्रशासनः पीडामा किसान

आफैंले पसिना चुहाएर उत्पादन गरेको टमाटर पोखेर विरोध

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
tomato-birodh.jpg

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानहरु आन्दोलित भएका छन् । आन्दोलनरत किसानहरुले नगरपालिकाको कार्यालय परिसर र कार्यकक्षमा टमाटर पोखेर विरोध जनाएका छन् । 

स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुलेआम बिक्री भएको भन्दै उनीहरु आन्दोलित  भएका हुन् । किसानहरुले पटक पटक नगरपालिकालाई उत्पादनको बजारीकरणका लागि आग्रह गरे पनि कुनै सुनुवाई नभएकाले वाध्य भएर नगरपालिकामा ल्याएर टमाटर पोख्नुपर्ने अवस्थाको सिर्जना भएको किसानहरुको भनाई छ ।

किसानहरुले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउनका लागि नगर प्रमुखको उपस्थिति माग गरे पनि नगर प्रमुख धिरज शर्मा बस्याल भने उपस्थित भएनन् । नगर प्रमुख ज्ञापनपत्र बुझ्न नआएको भन्दै किसानहरु थप आक्रोसित हुँदै नाराबाजी गरेका थिए । 

किसानहरुले नगर प्रमुख बस्यालको कार्यकक्षमा पनि टमाटर फाल्न खोज्दा नगर प्रहरीले रोक्ने प्रयत्न गरेको थियो । आक्रोशित किसानहरु र नगर प्रहरीबीच केहिबेर तनावको स्थिति सिर्जना भएको थियो । नगर प्रहरीले केही किसानहरुलाई बल प्रयोग गरेको थियो । नगर प्रहरीको तर्फबाट बल प्रयोग भएपछि किसानहरु थप आक्रोशित हुँदा किसानहरुको भीडलाई साम्य पार्नका लागि नेपाल प्रहरीसमेत खटिएको थियो । 

आक्रोशित किसानहरुलाई नगरपालिकाको भवन भित्रबाट बाहिर ल्याएपछि भने नगरपालिकाको तर्फबाटै मूल ढोकामै ताला लगाइएको थियो । पटक पटक नगर प्रमुख किसानको अगाडि उपस्थित भएर किसानका मागहरु सुन्नुपर्ने र ज्ञापनपत्र बुझ्नुपर्ने भन्दै लामो समयसम्म किसानले नाराबाजी गरिरहेका थिए । 

नगर प्रमुख बस्याल उपस्थित नभएपछि किसानको भीडलाई नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले सम्बोधन गर्दै किसानहरु आन्दोलित हुने स्थिति सिर्जना हुनु दुःखद भएको भन्दै किसानहरु वास्तवमै मर्कामा परेकोले र आफु पनि किसाननै भएकोले किसानहरु संगसंगै रहने बताएका थिए । 

आन्दोलनरत किसानहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर ईञ्चार्ज रुद्रप्रकाश उपाद्यायले आफु किसान आन्दोलनको पक्षमा रहेको र आन्दोलनप्रति समर्थन रहेको बताए । उनले किसानहरुको उत्पादनको बजारीकरणका लागि जिम्मेवार बन्न गरपालिकालाई आग्रह गरेका थिए । 

किसान आन्दोलनमा समर्थन जनाएका बर्दघाट उद्याग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले किसाले फालेका टमाटरतर्फ देखाउँदै भुइँमा पोखिएको टमाटर नभई किसानहरुको पसिना भएको बताएका थिए । बर्दघाट नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष ध्रुव थारु पनि आन्दोलनरत किसानहरुसँगै रहेका थिए । 

उनले किसानहरुसँग रहँदा आफू वडा अध्यक्ष भन्दा पनि एक किसानको छोरो भएकोले किसानले फालेको टमाटरमा किसानको खुन पसिना देखेको बताएका थिए । उनले तत्काल कार्यपालिका बैठक बसेर किसानहरुको माग सम्बोधन हुनुपर्ने समेत बताएका थिए । 

किसानको आन्दोलनमा जिमिरेभार बजार विकास समतिले पनि एक्यबद्धता जनाएको छ । समितिका अध्यक्ष नरबहादुर थापाले किसानहरुको आवाजलाई बेवास्ता गरिए त्यो ठूलो भुल हुने बताएका थिए । 

आन्दोलनरत किसानहरुको तर्फबाट बोलेका किसानहरुले भने यो सांकेतिक मात्र भएको र नगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 

किसानहरुले नगरपालिकाभित्र बाहिरबाट आउने टमाटरमा रोक लगाउनुपर्ने मागसमेत गरेका छन् । किसानहरुले २ वटा गाडीमा ३० क्विन्टल टमाटर ल्याएर नगरपालिका परिसर कर्मचारीहरुका कार्यकक्षमा फालिदिएका हुन् ।



नयाँ