arrow

डडेल्धुरामा ग्रामीण सडक निर्माण कार्य तीव्र गतिमा

logo
राम धामी,
प्रकाशित २०७७ फागुन ९ आइतबार
ddl-road.jpg

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले डडेल्धुरामा ग्रामीण सडक कालोपत्रे गर्नेदेखि लिएर स्तरोन्नति, ग्राईभेलिङ्ग, ट्याक खोल्ने कामलाई तीव्रता दिएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामार्फत जिल्लामा दुई सय तीन किलोमिटर सडक निर्माणका साथै कालोपत्रे भएको छ ।

डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा र डोटीमा सडक निर्माणसहित पुल निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्व २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
 
गत आर्थिक वर्षमा सो कार्यालयले एक अर्व २५ करोड रुपैयाँ सडक र पुल निर्माणमा खर्च गरेको थियो । जसमा ९५ किलोमिटर सडक ट्याक खोलिएको छ । ९० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का भई काम सुरु भएको छ भने १० किलोमिटर ग्रामीण सडकमा ग्राईभेलिङ्ग र आठ किलोमिटर सडक कालोपत्रे भइसकेको सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए ।

सडक सञ्जालसङ नजोडिएका जिल्लाका दुर्गम ग्रामीण क्षेत्रहरूलाई सडक सञ्जालसङ जोड्ने उद्देश्यले सडक निर्माण भई रहेका छन् । सडकको ट्याक खोल्ने मात्रै नभई कालोपत्रे, स्तरोन्नति, ग्राईभेलिङ गर्दा बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने उनले बताए ।

डडेल्धुराका दुर्गम ग्रामीण क्षेत्रमा सडक निर्माणसँगै यातायात सेवा सञ्चालन हुँदा स्थानीय बासिन्दाहरू खुसी भएका छन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराले सडकसँगै पुल निर्माण कार्यमा  जोड दिएको छ । हाल डडेल्धुरामा दुई  झोलुङ्गे पुल र दुई पक्की मोटरेवल पुलको निर्माण कार्य जारी छ ।
 
ग्रामीण सडक निर्माणमा तीव्रतासँगै दुर्गम ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिन थालेका छन् । ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म पुर्‍याउन किसानलाई सहज भएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारका लागि अस्पताल आउन सहज भएको छ भने दैनिक उपभोग्य वस्तुहरू गाउँ सम्म आयात गर्न सहज भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ