arrow

सुन जडित खागसहित कोहलपुरबाट दुई तस्कर समातिए

logo
सौरभ गिरी,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
khag.jpg

 नेपालगन्ज । इलाका प्रहरी कार्यालय कोहलपुरको कमान्ड सम्हालेको छोटो समयमै विभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै गएका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्।

कहिले बन्दुकसहित सिकारी होस् या त हत्यारा नै होस् प्रहरी नायब उपरीक्षक खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउँदै आउने क्रममा  इलाका प्रहरी कार्यालय कोहलपुरले गैँडाको त्रिभुज आकारको बहुमूल्य खागसहित शुक्रवार दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब निरीक्षक रवीन्द्र खनालको कमान्डमा गएको टोलीले शुक्रवार दिउँसो डेढ बजे गैँडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो। खागसहित पक्राउ पर्नेमा नवलपरासी बुलिङ्टार गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय सुरेश सिंजाली रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्।

विगत लामो समयदेखि कोहलपुर आसपासमा बसेर वन्यजन्तु चोरी तस्करीमा सङ्लन रहेको विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले पछ्याउने क्रममा निज दुई जना हिँडिरहेको अवस्थामा कोहलपुर ११ बाट चेक जाँच गर्ने क्रममा त्रिभुज आकारको बहुमूल्य खाग बरामद भएको हो।

चेक जाँचका क्रममा खनालको टोलीले कृष्ण पुलामी मगरको साथबाट त्रिभुज आकारको गाडैको २ थान गैँडाको खाग बरामद भएको थियो। पक्राउ परेका मगर र सिंजालीले पक्राउ परिहाले भने पनि प्रहरीलाई झुक्याउने उद्देश्यका खागमा सुनको जलप टाँसेर हिँडेको खनालले बताए। उनीहरू दुवै जनाले उक्त सुन जडित खागलाई १ करोडमा बेच्ने योजना रहेको बताएको प्रहरी नायब उपरीक्षक खनालले बताए।

बरामद गरिएको २ थान खागलाई आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँके बुझाइने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्।  इलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार साँझ मात्रै रेड पाण्डाको १ थान छाला, कालो भालुको २ थान पित्त र कस्तुरीको बिनासहित तीन जनालाई पक्राउ गरेको थियो।

 



नयाँ