arrow

ग्यास सिलिन्डर पड्किएर भक्तपुरमा छ घाइते

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
gas-cylinder.jpeg

भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् ।
    
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो ।

आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौँ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिए ।
    
त्यस्तै खाजा खान आएका घाइतेमध्ये झापा विश्वशान्ति गाउँपालिका-२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक-५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापाको मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि बर्न सेन्टरमै पठाइएको उनले जानकारी दिए ।

आगलागीबाट पसलमा रहेका दुई थान फ्रिज, झ्याल, ढोका र भाँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



नयाँ