arrow

सीमा जोडिएका भारतीय प्रदेशहरूमा बढ्यो कोरोना सङ्क्रमण , नेपालतर्फ के छ अवस्था ?

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत २० शुक्रबार
nepal-corona.jpg

काठमाडौँ । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा भारतसँग सीमा जोडिएका जिल्लामा पनि जोखिम बढेको छ । खास गरी कञ्चनपुर, बाँके, मोरङलगायतका व्यस्त सीमा नाका रहेका जिल्लामा सङ्क्रमणको जोखिम बढेको हो ।

पछिल्लो २४ घण्टामा भारतमा ८१ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या ६ महिनायताकै उच्च हो । भारतमा मात्रै नभई नेपालमा पनि पछिल्ला दिनहरूमा सङ्क्रमण बढ्दै गएको छ ।

दुई अङ्कमा झरेको नेपालको दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्ला करिब दुई हप्ता यता दैनिक १५० भन्दा बढीमा नयाँ सङ्क्रमण देखिन थालेको छ ।

सीमा जोडिएका भारतीय राज्यमा सङ्क्रमण बढ्यो
नेपालसँग सिमाना जोडिएका भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश र उत्तराखण्डमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय जनामा नयाँ सङ्क्रमण देखिएको छ । भारतको उत्तराखण्डमा यो वर्ष (सन् २०२१)को अहिलेसम्मकै बढी ५०० जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै विहारमा पनि ४ सय ८८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । त्यस्तै पश्चिम बङ्गालमा पछिल्लो २४ घण्टामा ९८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

नेपालमा के छ सीमावर्ती जिल्लाको अवस्था ?
सुदूरपश्चिमको भारतसँग जोडिएको सिमाना मध्येको एक व्यस्त नाका गड्डाचौकीमा हेल्थ डेस्क सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

भारतमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा पनि सङ्क्रमणको जोखिम बढेका कारण थप सावधानी अपनाउन थालिएको उनको भनाइ छ ।

अहिले भारतबाट आउनेमध्ये दैनिक जसो एक दुई जनामा सङ्क्रमण देखिइरहेको उनले बताएका छन् । 

सङ्क्रमितहरूलाई अहिले महाकाली अस्पतालको आइसोलेसनमा राखिने गरेको र अब केही दिनमा अस्पताल बाहिर १०० बेडको आइसोलेसन बनाइरहेको उनले बताए । 

त्यसपछि लक्षण नभएकाहरूलाई बाहिरको आइसोलेसनमा र लक्षण भएकाहरूलाई अस्पतालको आइसोलेसनमा राखिने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशहरि निरौलाले कोरोना सङ्क्रमणको जोखिम बढेको बताएका छन् ।

जिल्लामा भारतबाट आउनेहरूमा पछिल्ला १० दिनयता करिब २१ जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताएका छन् ।
मोरङको रानी नाकामा अहिले हेल्थ डेस्क सक्रिय रहेको छ ।

उनीहरूमध्ये धेरै जसो घरमै आइसोलेसनमा रहेको र केही अस्पतालमा पनि रहेका छन् । अस्पतालमा अहिले ब्याड एवं भेन्टिलेटरको अभाव नभएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोना सङ्क्रमणको जोखिम बढेको बताएका छन् ।

भारतसँग जोडिएका मध्येको बाँकेको नाकाबाट भित्रिने ४ जनामा अहिलेसम्म सङ्क्रमण देखिएको उनले बताए । दुई जना दैलेख, बर्दिया र रोल्पाका एक-एक गरी ४ जनामा सङ्क्रमण देखिएको हो । उनीहरूलाई भेरी अस्पतालको आइसोलेसनमा राखेर उपचारपछि घर पठाइएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख दीर्घ नारायण पौडेलले भने हालसम्म भारतबाट भित्रिनेमा कोरोना पोजेटिभका केस नदेखिएको बताएका छन् ।यद्यपि, सङ्क्रमणको जोखिम बढी भएका कारण सतर्कता बढाइएको उनले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले पनि हालसम्म पोजेटिभ केसहरू नदेखिएको बताएका छन् ।

तर, सङ्क्रमणको जोखिम बढी भएका कारण सतर्कता अपनाइएको उनको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख फणीन्द्रमणि पोखरेलले भने अहिलेसम्म पोजेटिभ केस नदेखिएको बताए । जिल्लाको कुनौली नाकामा हेल्थ डेस्क सक्रिय रहेको तर, अहिलेसम्म पोजेटिभ केस नदेखिएको उनले बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्लाको मुख्य नाका बेलहियामा कडाइ गरिएको बताए ।

नाकामा हेल्थ डेस्क सक्रिय भएयता दुई जनामा एन्टीजिन परिक्षणमा पोजेटिभ देखिएको उनले बताएका छन् । सुरक्षाका नियमहरू कडाइ गरिएसँगै अहिले नाकामा आवतजावत नियन्त्रित रहेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिल्लाका दुई नाका मुख्य काँकडभित्ता र गजुरघाटीमा हेल्थ डेस्क सक्रिय रहेको बताएका छन् । हालसम्म कोरोना सङ्क्रमणका पोजेटिभ केसहरू नदेखिएको प्रजिअ तिमिल्सिनाले बताए ।

त्यस्तै, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि अहिले सीमामा स्वास्थ्य कर्मी राखेर निगरानी बढाएको बताएका छन् । तर,अहिले सम्म कुनै व्यक्तिमा पनि पोजेटिभ नदेखिएको उनको भनाइ छ ।

स्थानीय तह अलर्ट 
भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने स्थितिलाई ध्यानमा राख्दै स्थानीय तहहरूलाई सतर्क गराउन थालिएको प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ ।

पहिलेकै क्वारेनटिनहरूलाई अझ सक्रिय बनाउन र कोरोना सङ्क्रमण बढ्न सक्ने अवस्थाका लागि पूर्व तयारी रहन स्थानीय तहलाई निर्देशन दिन थालिएको अधिकारीहरूको भनाइ छ ।

अहिले सबैजसो नाकामा खास गरी एन्टीजिन परीक्षण भइरहेको छ । यसैका आधारमा उनीहरूको स्वास्थ्य अवस्था अनुसार आइसोलेसन र अस्पतालमा राख्ने व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसको दोस्रो लहर भारतमा लगभग आइसकेको अवस्था छ । यसको प्रभाव नेपालमा पनि निश्चित रूपमै पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ