arrow

प्रहरी स्कर्टिङ्गमा सवारी गन्तव्यतर्फ, राजमार्गमा कर्फ्यूको समय बढ्यो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2107910021.jpeg
लहान । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा शनिबार राति भएको झडपकापछि पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा रोकिएका सवारी साधनलाई आइतबार राति प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ । 
 
सप्तरीको रुपनी र भारदहमा भएको झडपका क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएपछि पूर्वबाट आएका सवारी साधन सुनसरीको इटहरी, भण्टाबारीमा तथा काठमाडौँबाट आएका सवारी साधन महोत्तरीको बर्दिवास, लालगढलगायतका स्थानमा शनिबार साँझबाट रोकिएका थिए । 
 
पूर्वबाट आएका करिब पाँच सय बढी सवारी तथा पश्चिमबाट आएका करिब चार सय बढी सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । सवारी साधनलाई सुरक्षा दिई लैजाने क्रममा सडक छेउछेउमा बसेका प्रदर्शनकारीहरुले ढुङ्गामुढा गरी सवारी साधनमा तोडफोड गरेका छन् । 
 
राजमार्गमा कर्फ्यूको समय बढ्यो 
 
सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा बनाएको हो । 
 
सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न आइतबारबाट प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको बताए । आन्दोलनरत पक्षको बन्द र विरोधका कार्यक्रम हिंसात्मक बनिरहेकाले निषेधाज्ञाको समय थप गरिएको बताउँदै प्रजिअ विश्वकर्माले निषेधाज्ञालगाएका क्षेत्रमा यातायातका साधनको आवातजावतमा कुनै अवरोध नगर्न आग्रह गरे । 
 
बन्द उग्र बनेपछि स्थानीय प्रशासनले गत कार्तिक ७ गतेदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान खोलाको पुलदेखि कमला खोलाको पुलसम्म दायाँ ५०० मिटर र बायाँ ५०० मिटरको क्षेत्रमा प्रत्येक दिन राति ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञा जारी गर्दै आएको थियो ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ