arrow

को हो राता मान्छे ? को हुन लाल गद्दार ? 

logo
लाओस राई
प्रकाशित २०७७ चैत २२ आइतबार
lawaos.jpg

साथमा हुँदा हितको परानी, छुटेपछि तथानाम गाली गर्ने प्रवृत्ति समाजको एउटा कमजोर स्वभाव जस्तै भैसकेको छ । समाजमा चलायमान जति पनि सङ्गठन, इकाई, व्यावसायिक संस्था एवम् वैचारिक मञ्च, राजनीतिक पार्टी लगायत जति पनि महत्त्वपूर्ण संस्थाहरू छन् । ती सबै संस्थाहरू सरल र सहज रूपमा जबसम्म चलिरहन्छन् तबसम्म असहमति, विवाद र मनमुटाव हुँदैन । संस्था धरासायी तब हुन्छ जब मनमुटावको सुरुवात हुन्छ । त्यसपछि छिन्नभिन्न अवस्थामा पुगेको संस्थाले एक अर्कालाई  विभिन्न प्रकारका गालीगलौज, आरोप प्रत्यारोपमा र अनर्गल भनाभन उत्रन्छन् । यो प्रवृत्ति संस्कृतिका रूपमा समाजमा स्थापित छ  । त्यसमा पनि राजनीतिमा यो संस्कार झन् मजबुत ढङ्गले जरा गाडेको पाउँछौँ ।

नेपालको सन्दर्भमा राता मान्छेको इतिहास खोतल्ने हो भने राजनीतिमा गालिगलौजको इतिहासतिर फर्केर हेर्नुपर्ने हुन्छ । जुन बेला नेपाली राजनीतिको केन्द्रमा विपी कोइराला थिए । उनको सामु धेरै कठिनाइ र अप्ठ्यारा थिए । राणा खलकको उठीबास लगाउने नेता सामु चुनौतीहरू हुनु स्वाभाविक पनि थियो । तर आफ्नै ठुल्दाई मातृकाप्रसाद कोइरालाबाट तथानाम गाली र अपमान सहनु परेको घटना चाहिँ अलि अमिल्दो जस्तो देखिन्छ । विपीले ‘आत्म वृत्तान्त’मा उल्लेख गरेको कुरा थाहा पाउँदा अचम्मै लाग्छ । एक प्रजातान्त्रिक व्यक्तिलाई आफ्नै ठुल्दाजुबाट पटक पटक अपमानित हुनुपरेको प्रसङ्ग दुःखद पनि हो ।

किनकि क्रान्तिले ‘राता मान्छे’ बनाएको विपी कोइरालाले सहनु परेको अपमान आरोपहरू एक प्रकारले प्रजातन्त्र माथिको प्रहार थियो भन्न सकिन्छ । तर अर्को कोणबाट हेर्ने हो भने यस्तो प्रसङ्गलाई राजपाट र राजनीतिमा अनौठो र अचम्म ठान्नु हुँदैन । किनभने नेपाली इतिहासमा यस्ता धेरै घटनाहरू छन् जुन घटनाले राजनीतिलाई कलुषित बनाएका छन् । जस्तै शाह वंशीय राजकाज कालमा भाइ भाइबीच काटमार, राजा नै सन्यासी हुँदै देश छाडने, एक राजपुरुषले अपमानित हुँदै जेल भित्रै आत्महत्या गर्नु परेको, सिङ्गो राज परिवारको वंशनासको लगायत धेरै घटना छन् । जुन राजकाजसँग सम्बन्धित छन् । त्यसैले अपमान, धोखा र गद्दारी जस्ता कर्म राजनीतिमा पहिलेदेखि नै हुन्थ्यो र अब पनि भई नै रहन्छ, कुनै नौलो कुरो होइन । फेरी यस्ता बीभत्स, डरलाग्दा र भयङ्कर घटनाहरू राजपाट, राजकाज र राजनीतिमा सामान्य हुँदो रहेछ । त्यसको उदाहरण दरबार हत्याकाण्डले तथ्य दर्साउन नसकेको घटनालाई लिन सकिन्छ ।

राता मान्छे र यसको सम्बन्धको बारेमा जान्नुपर्दा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास जान्नु जरुरी देखिन्छ । त्यसैले कम्युनिष्ट राजनीतिको प्रमुख विचारक एवम् कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सशक्त ,जुझारु राता (क्रान्तिकारी) मान्छे थिए । तथापि उनलाई  संसदीय अभ्यासबाट पनि कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पुर्यािउन सकिन्छ भन्ने विचार राखेकै कारण  परम्परावादी कित्ताका कम्युनिष्ट नेताहरूले गद्दार भने । कम्युनिष्ट आन्दोलनलाई  नयाँ ढङ्गको  प्रयोग गर्दै साम्यवादसम्म पुग्न सकिन्छ भन्ने विचार उनको थियो । तत्कालीन, समयमा सङ्घर्ष युद्ध र द्वन्द्वले मात्र कम्युनिष्ट सत्तामा पुग्न सकिन्छ भन्नेहरू धेरै थिए । तर पनि समयको शक्तिले आज सबै कम्युनिष्ट पार्टीहरूलाई संसदीय गणतन्त्रको बादसाह बनाइदिएको छ । अब भन्नुहोस् पुष्पलाललाई गद्दार भन्नेहरू गद्दार कि पुष्पलाल गद्दार हुन् ? त्यसै बेला संसदीय गणतन्त्रको परिकल्पना गर्ने पुष्पलाल राता मान्छे हुन् कि ? ६ दशकपछि संसदीय गणतन्त्रको अभ्यास गर्ने वामपन्थीहरू राता मान्छे हुन् ?

कम्युनिष्ट विचारको रूपान्तरण र वैज्ञानिकीकरण कुन उपयुक्त हो भन्ने सन्दर्भलाई चर्चा गरिरहँदा रोजा लग्जेम्वर्ग र उनको समाजवादी रूपान्तरणको प्रसङ्ग उल्लेख नगर्ने हो भने कम्युनिष्ट आन्दोलन रूपान्तरणको सुरुवात बुझ्न गारो हुन्छ । सुरुमा रोजाले कम्युनिष्ट आन्दोलन सुधारवादी रेखाबाट पनि सम्भव छ भने बहस चलाइन् । उनको सुधारवादी विचारलाई पार्टी भित्रका ठुलै पङ्क्तिले असहमति जनाउँदै भने, ‘रोजाको विचार विश्व कम्युनिष्ट आन्दोलनको धोखा र गद्दारी हो ।’ त्यही कारणले पार्टी भित्रबाटै रोजाको हत्या गरियो । फरक विचार राखेकै कारण उनले ज्यान गुमाइन् ।

उनले चलाएको कम्युनिष्ट आन्दोलनको सुधारको अभियानपछि समाजवादी सिद्धान्त र  विचारमा रूपान्तरित हुँदै आज समाजवादी व्यवस्थामा विकसित छ । त्यस कारण राता मान्छे र गद्दारको प्रसङ्ग प्रष्ट गर्न रोजाको फरक विचारको बारेमा चर्चा नगर्ने हो भने राता मान्छेको कथा अपुरो हुन्छ । त्यसैले ती सबै कुरा जान्न रोजालाई जान्न जरुरी छ ।

तत्कालीन समयमा रोजा लग्जेम्वर्ग द्वन्द्व, वर्ग, सङ्घर्ष र क्रान्तिबाट मात्र सत्ता प्राप्त गर्न सकिन्छ भन्ने सोचको विपरीत कम्युनिष्ट आन्दोलनलाई सामाजिक कल्याणको माध्यमबाट सुधार गर्दै लगियो भने पनि हाम्रो सत्ता निर्माण हुन्छ भन्ने पक्षमा थिइन् । यसमा को राता मान्छे र को लाल गद्दार हो रु भन्ने एक उदाहरण मात्र हो । यस्ता धेरै उदाहरणहरू छन् जुन घटनाबाट गद्दार र  राता मान्छेको चर्चा हुन्छ ।

२०४५-४६ सालपछि विकसित राजनीतिक घटनाले बहुदलीय जनवादको पिताको रूपमा मदन भण्डारीलाई स्थापित गर्यो६ । भण्डारी कम्युनिष्ट राजनीतिका केन्द्र बनिरहेको उग्र बामपन्थीहरुलाई मन नपरेको कारण उनको हत्या गरियो भनिन्छ । जुन कुरा इतिहास भइसक्यो । यहाँ प्रसङ्ग के  जोड्न खोजिएको हो भने रोजा लग्जेम्वर्गले गरेको सुधारको क्रान्ति, पुष्पलाल गरेको संसदीय अभ्यास र भण्डारीले भनेको जनताको बहुदलीय जनवाद तीनै कुरा कट्टरपन्थी कम्युनिष्टहरुको नजरमा धोखा थियो । त्यसकै कारणले रोजा र भण्डारीको हत्या भएको देखियो भने पुष्पलाललाई गद्दार कहल्याइयो । शास्त्रीय विचारधारा मान्ने कम्युनिष्टहरुले भण्डारी र रोजाको भौतिक सफाया गरेको हो भन्ने कुरामा दुई मत देखिँदैन ।

वि.स. २०५२ सालपछि सङ्गठित बनेका माओवादी युद्धका नेता पुष्पकमल दाहाल प्रचण्ड विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ शोधपत्र (जनयुद्ध, १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान सभाको निर्वाचन राजसंस्थाको उन्मुलन र सङ्घीय गणतन्त्र नेपाल) निर्माण गर्ने अभियानमा सफल देखिए । तर पनि २०७४ पछि हरेक राजनीतिक खेलमा पराजित भएको देखिन्छ र देखियो ।

वि.स. २०७७ पुस ५ पछि सडकमा पुगेका प्रचण्ड आफू इतरका सबैलाई गद्दार भन्न थालेका छन् । राजनीतिको सुरुवात मै मोहन वैद्यको महासचिव पद खोसेर राता मान्छे बनेका उनी शक्ति उन्मादले मात्तिएर वैद्यलाई नै जडसुत्रवादी, परम्परावादी र शास्त्रीय ढर्राको कम्युनिष्ट भएको आरोप लगाउन पछि परेनन् र डराएनन् पनि । त्यसको ठिक उल्टो मोहन वैद्यले संसदीय भाषामा ‘प्रचण्ड फस्यो, महान् जनयुद्धलाई धोका दियो’ जस्ता थुप्रै आरोप लगाइरहँदा जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्र फुट्दा प्रचण्डलाई दलाल पुँजीपति वर्गको गुलाम र क्रान्तिलाई धोका दिने लाल गद्दार हो भने ।

झन्डै चार वर्ष विप्लवले गद्दार र दलालहरूलाई सबक सिकाउने भन्दै युद्धको घोषण नै गरे । हिजो जनयुद्धको समयमा महत्त्वपूर्ण भूमिका खेल्ने नेताहरू बैद्य, बादल, डा।बाबुराम, विप्लव, गोपाल किराँती जस्ता राता मान्छेहरूले छाडेपछि प्रचण्ड एकान्त वास जान लागेको वृद्ध जस्तै अवस्थामा  देखिन्छन् । यस्तो छिन्नभिन्न,अस्तव्यस्त, खण्डित अवस्थाको माओवादी केन्द्र पञ्चायतकालीन पन्चे कै हैसियतमा पुगिसक्यो भन्न अबचाहिँ गारो हुँदैन ।  हिजो बादल, वैद्यले प्रचण्डलाई गद्दार र जनक्रान्तिको धोकेबाज भन्थे र भने । आज प्रचण्डले बादललाई लाल गद्दार दलाल र परिवर्तन नचाहनेहरूको मोहोरा बन्यो भनिरहेका छन् । पूर्वराता मान्छेहरूको भनाइहरू राजनीतिक भए पनि वास्तविक रूपमा व्यक्तिगत आक्रोश र प्रतिशोधपूर्ण बोली हो । अझै भन्ने हो भने लाजै लाग्ने क्षणभङ्गुर हो । गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हो । यस्तै घोचपेच, भनाभन, रोइ कराई मात्र हो ।

कांग्रेसलाई धुलो चटाउन बाम (एमाले र माओवादी केन्द्र) एकता गरिए पनि एकीकरणले पूर्णता नपाउँदै चकनाचुर भएपछि राता मान्छेहरूको सपनाहरू पानीको फोका जस्तै फुटेको छ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको ललिपप दिई प्रधानमन्त्री बनेका प्रचण्डले एमाले पार्टी कब्जा गर्दै देशको कार्यकारी बन्ने सपना ओलीले भत्काई दिए । तीन वर्षसँगै बसेका प्रचण्डले न  एमाले भत्काउन सफल भए नत सहकर्मी राता मान्छेहरूलाई आफूसँग राख्न सके । बरु उल्टै आफै भत्किनु पर्योै । आफै लथालिङ्ग हुनु पुगे ।  नारायणकाजीको प्रवेशसँगै साङ्गठनिक र वैचारिक रूपले खलबलिएको माओवादी पार्टी माओवादी केन्द्र बनेपछि त झनै अवसरवादी र प्रतिक्रियावादीहरूको खेलमैदान भयो । जसले गर्दा सच्चा योद्धाहरू, राता मान्छेहरू किनारा लाग्दै गए । ती तमाम राता मान्छेहरू पार्टी छोड्न बाध्य भए ।

पुँजी बजारको आकर्षणले तानेर राजनीतिबाट विमुख हुनु परेका राता मान्छेहरूले नेताहरू धोकेबाज हुन् । क्रान्तिको उपहास गर्दै उनीहरू शासक मात्र बने, सेवक हुन सकेनन् । त्यसैले नेताहरू गद्दार हुन् सम्म भने । त्यसको उदाहरण झलनाथ खनालले खाएको झापड, प्रचण्डले खाएको मुक्कालाई लिन सकिन्छ । देख्दा व्यक्तिगत जस्तो भए पनि झापड र मुक्का काण्ड वास्तविक रूपमा जनताको आक्रोश थियो । त्यो आक्रोशलाई  उनीहरूले  बुझ्न सकेनन् । एकातिर नेताहरू कुम्ल्याउने धन्दा सञ्चालन गर्न तल्लीन भए भने अर्कोतिर राता मान्छेहरू पुँजी बजारको आक्रमण र प्रहारको सामना गर्न नसकी पुँजी बजारसँग लम्पसार पर्न बाध्य भए । पुरानै परम्परालाई निरन्तरता दिन भन्दा यो गणतान्त्रिक सरकारले पनि अरू केही लछारेन भन्ने जनताको गुनासो थुप्रिएपछि राता मान्छेहरू आलोचनाको पात्र बनेका छन् ।

बिग्रँदो राजनीति अवस्था, नेता तथा कर्मचारीमा देखिएको भ्रष्टीकरण, बिचौलियाको बोलवाला, जनतामा जागेको आधुनिकताप्रतिको मोह र नयाँ राता मान्छेहरू अभाव लगायत अरू सामाजिक विभेद, आर्थिक असमानता जस्ता संवेदनशील समस्याहरूलाई ठेगान लगाउने राता मान्छे रातारात दलाल पूँजीपतिहरुको सारथि बनेपछि सबै राता मान्छेहरू जनताको नजरमा गद्दार हुन्  कि होइनन् ? त्यसैले जति पनि मान्छेहरू छन् जति पनि पार्टीहरू छन् तिनीहरूमा को वास्तविक राता मान्छे ? को हो लाल गद्दार ? पहिचान गर्न नै गाह्रो छ ।                                    

 



नयाँ