arrow

शिक्षासँग आँखा र विवेक दुवै जरुरी छ

तसर्थ ज्यान जोखिम पारेर आम नागरिकको पक्षमा मर्न तयार छन् हरबखत गोविन्द केसी 

logo
संजिव कार्की,
प्रकाशित २०७७ चैत ३१ मंगलबार
sanjeev1-1618302779.jpg

शिक्षा व्यवहारमुखी र आफ्नो देशको धरातलीय यथार्थ अनि विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ । शिक्षा प्रमाणपत्रको चाङ्ग होइन यो गुणस्तर र उत्पादनका लागि काबिल बन्नुपर्छ । शैक्षिक प्रमाणपत्रले अल्छी र उद्देश्यहीन होइन भिजनरी र उद्यमी व्यवसायी र शैक्षिक श्रमको लागि मरिमेट्ने जनशक्ति तयार गर्नुपर्छ । शिक्षालय र विश्वविद्यालयहरू प्रमाणपत्र थमाउने, प्रमाणपत्र बेच्ने कारखाना होइनन् सुयोग्य नागरिक तयार गर्ने पवित्र स्थल हुन् । बौद्धिक, हार्दिक र विनयशील कर्तव्य र अधिकारमा सचेत जनशक्ति शिक्षालयका उत्पादन हुनुपर्छ । शिक्षाले शैक्षिक बेरोजगार उत्पादन गरेको अवस्था टड्कारो छ तर शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउन सकिएको छैन । आजको मुख्य र जल्दो बल्दो सवाल हो यो । गुणस्तरहीन शिक्षाको कारण शैक्षिक बेरोजगार बढ्ने तर देशको उत्पादन घटनेक्रमले तीव्रता पाएको छ ।

देशको राष्ट्रिय आयमा योगदान दिन खाडी मुलुकमा नेपाली श्रम र पाखुरी पुगेको छ । जबकि परनिर्भरता कम गर्न राज्य कृषिको आधुनिकीकरण, औद्योगिकीकरण, बजारीकरण र यान्त्रीकरण गरेर आत्मनिर्भरताको मार्गमा जानुपर्ने हो । यसको लागि उचित व्यावसायिक शिक्षा, प्राविधिक जनशक्ति र कृषि श्रमिक बन्न उत्प्रेरित गर्ने शिक्षा हुनु वाञ्छनीय थियो । राज्यको कृषि नीति र कृषिलाई हेर्ने दृष्टिकोणको कारण एक छाक पेट भर्न खेतबारी बाँझो राखेर विदेशमा जानुपर्ने विडम्बनायुक्त बाध्यता सिर्जित छ । कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा कृषि सबैभन्दा नाजुक र अपमानित पेशाको रूपमा बुझिएको बुझाइएको कारण अनाकर्षक पेशा र व्यवसाय कृषि भएको छ । यो सबको कारण देशले लिएको शैक्षिक नीति, शिक्षाको पाठ्यक्रम र अव्यवस्थित अव्यवहारिक शैक्षिक पद्धति । विभेद र विभाजन कोर्ने शिक्षा ।  पहुँचवालाको शिक्षा र पहुँच विहीनले पाउने शिक्षाको कारण भएको हो । धनी र गरिब छुट्टाउने शिक्षा । धरातलमा आधारित शिक्षा भन्दा हावादारी शिक्षा त्यसमा पनि चरम विभेद । सधैं जित्न र जसरी पनि जित्न सिकाउने शिक्षा । हार र जीत जीवनको अभिन्न अङ्ग हो भन्ने अर्थ बुझाउने शिक्षाको अभावमा हर प्रयास अपमानित देखिन्छ ।

हारेर पनि जित्न सिकाउने, हारलाई जितमा बदल्ने सूत्र नभएको शिक्षा । उत्प्रेरित बन्नुपर्ने प्रमाणपत्रधारी सानो असफलतामा निराश र हताश बनाउने शिक्षा । व्यक्तिको रुचि क्षमता र ग्रहणशीलता, जन्मजात प्राप्त गुण र सम्भावनालाई मध्यनजर नगरी जोर जबर्जस्तीको शिक्षाले दिने परिणाम कहिल्यै आशावादी बन्दैन । तसर्थ शिक्षाविद्, मनोचिकित्सक, नीति निर्माता सबैको ध्यान व्यक्तिको क्षमता सम्भावना र रुचिलाई प्रवर्द्धन गर्ने शिक्षा दिन केन्द्रित हुनु जरुरी छ । पाठ्यपुस्तक, पाठ्य भार र शैक्षिक क्यालेन्डर अनि विज्ञान प्रविधि, नैतिकता, इमान र सदाचार समय सापेक्ष बनाउनु आवश्यक छ ।

शिक्षा धन, पहुँचको आधारमा प्रतिस्पर्धी होइन प्रत्येक व्यक्तिको अन्तर्निहित क्षमता प्रस्फुटन गर्ने समान वातावरण र अवसरको आधारमा प्रतिस्पर्धी बनाइनुपर्छ । शिक्षा नागरिकको नैसर्गिक अधिकारको रूपमा परिभाषित छ । अत यसबाट वञ्चित गरिनु मात्रै अपराध होइन ।  गुणस्तरहीन र अवैज्ञानिक, अव्यवहारिक शिक्षा दिनु पनि उत्तिकै अपराध र पाप हो । सरकारहरु वर्षौदेखि नागरिकलाई गुणस्तरहीन शिक्षा र स्वास्थ्य सेवामा खेलबाड गरेको भनेर राज्यले गरेको अपराध र पापको विरुद्ध एक जना डाक्टर गोविन्द केसी १९औं पटक अनसन बस्न बाध्य छन् । गोविन्दले जुन शिक्षा पाए, जस्तो वातावरणमा हुर्कन पाए त्यसको प्रतिबिम्ब हो उनको खबरदारी । आफ्नो पेशामा मात्रै होइन सर्वाङ्गीण हितको लागि बोल्न र उस्तै परे जीवन बलिदान गर्न योग्य नागरिक निर्माण गर्नुपर्छ राज्यले । जस्तो गोविन्द गरिरहेछन् ।

उचित शिक्षा र बाल्यकालमा भरिएको परोपकारी मनोविज्ञानले गोविन्द निर्देशित छन् । तसर्थ ज्यान जोखिम पारेर आम नागरिकको पक्षमा मर्न तयार छन् हरबखत गोविन्द केसी । कर्तव्यशील, अधिकारप्रति सचेत र आम सरोकारको विषयमा यो देशको शिक्षित नागरिक सचेत र जागरुक बन्नुपर्छ त्यो सचेतता शैक्षिक मनोविज्ञान पनि हो लगाव र समर्पण पनि हो । महावीर पुन पनि त्यस्ता नागरिक हुन् जसले सुकर्म गर्न बाहेक अरू जानेकै छैनन् । अनुराधा कोइराला र पुष्पा बस्नेत पनि हाम्रो समाज र युगका असल दृष्टान्त हुन् । यी चार प्रतिनिधि पात्र मात्रै हुन् अरू पनि आआफ्नो क्षेत्रबाट देश बनाउन आफ्नो ऊर्जा समय ज्ञान र सिप खर्च गर्ने थुप्रै महानुभावहरू हुनुहुन्छ । शिक्षाले यस्ता व्यक्तित्वहरु तयार गर्नुपर्छ । शिक्षाले जीवनोपयोगी र उद्देश्यमूलक जीवन पद्धति निर्माण गर्न सिकाउनु पर्छ । अनुशासन र मर्यादाको जीवन शैली बन्नुपर्छ । अविवेकी चिकित्सा शिक्षा, कृषि शिक्षा, अदूरदर्शी निर्णय,अव्यवहारिक शिक्षा अव्यवस्थित परिपाटी, अगतिशील प्रणाली र अधकल्चो नेतृत्व रहेसम्म शिक्षा, स्वास्थ्य र प्रशासनलगायत राज्यको सर्वपक्षीय अवयव गतिशील र जीवन्त बन्न सक्दैन । 

हाम्रो शिक्षाले कामचोर बनाएको छ । समस्यासँग जुध्न होइन छलिन, भाग्न र उम्कन बाध्य पार्छ । असहजताको सही आङ्कलन गरेर समस्यासँग सामना गर्न होइन यथाशक्य बहाना बनाएर भाग्न उद्धत छन् प्रमाणपत्रधारी जनशक्ति । उत्तरदायित्व, कर्तव्य बोध, नैतिकता र इमान शिक्षाको सार हुनुपर्थ्यो तर शिक्षामा व्यापारीकरण गरिएको कारण विद्यार्थी र अभिभावक बजारका माल भएका छन् । स्वास्थ्य, सेवामूलक र कल्याणकारी राज्यको मुटु हुनुपर्नेमा बिरामी र तिनका आफन्त उपभोक्तावादी दृष्टिकोणले माल बनेका छन् मोलमोलाइ को विषय भएको छ । राज्यले मानव मानवबीच हुने जातीय विभेद र छुवाछुत संस्थागत गरेको कारण आज पर्यन्त मान्छे अछुत र जनावर छुत मान्छेको श्रेणी भन्दामाथि रहेको सामाजिक रित र व्यवहार छ । यस्तो मानव सभ्यताको घिनलाग्दो प्रथा र स्वरूप परिवर्तन गर्ने राज्यको हस्तक्षेपकारी नीति र शिक्षण छैन ।

जातको जन्म संयोग अशिष्ट र विशिष्ट हुँदैन हाम्रो शिक्षा वातावरण सोच आचरण शैली र सदाचारी प्रवृत्तिले संस्कृतिले मानवको स्तर निर्धारण गर्छ तर हामी जातको कारण मान्छेलाई हेर्ने गलत नजरको अभ्यासमा निर्लिप्त छौ जुन मानवोचित गुण भित्र पर्दैन । तसर्थ जात व्यवस्थाको असभ्य पर्खाल भत्काउने र मानवीयता, समता, मर्यादा ,आत्मसम्मान स्वाभिमानको संस्कृति र थिति बसाल्ने शिक्षामा जोड दिनुपर्छ । सुसंस्कृत समाजको मानक मान्छे(मान्छेबीच जात र धर्मको नाममा सानो र ठुलोको भेद नरहनु अस्वीकार गर्नु हो । मानवीय संवेदनाले नछुने , नदुख्ने, नचिमोट्ने शिक्षाको कारण हामी मानवअधिकार र मानवीय सभ्यतामाथि खेलबाड गर्दैछौं जुन त्रुटिपूर्ण शिक्षाको कारण भएको हो ।  

विनयशीलता, क्षमशीलता र बस्तुवादी ग्रहण शीलतामा शिक्षाको जोड र निचोड बन्नुपर्छ । शैक्षिक प्रमाणपत्र सत्ता स्वार्थको ताबेदारी र दलाली गर्ने लाइसेन्स र माध्यम बन्नुहुँदैन । बौद्धिक हुनु र प्रमाणपत्र धारी हुनु फरक कुरा हो । बौद्धिक हस्तक्षेपले समाजको गति यति र लयलाई धक्का मारेर दिमागहरू चलायमान र गतिशील बनाउने बेग्लै छुट्टै विशेष तागत,सामर्थ्य र स्वभावको विकास गर्ने हुनुपर्छ । तर हामीकहाँ बौद्धिकहरू सत्ताको जुठो पुरो र फ्याँकिएको हड्डीको लागि आफ्नो इथिक्सबाट विचलित बन्छन् । जसको कारण समाजमा आदर्श र मानक बन्दैन, बनेको पनि भत्कन्छ । बौद्दिकहरुको पहलमानी कसैको पनि खेताला गोठाला बन्नु होइन बरु देशको लागि आवश्यक पर्दा समर्पण र त्याग सहित उच्च आदर्श स्थापित गर्नु हो । अनैतिक हुनु शिक्षाको किमार्थ स्वीकारोक्ति होइन । अनैतिकताको खाडल पुरेर नैतिकताको शिखर ठड्याउने शिक्षानीति आजको आवश्यकता हो । शिक्षासँग आँखा र विवेक दुवै हुनुपर्छ । आँखा मात्रै र विवेक मात्रै एकाङ्की हो । हामी एकाङ्की शिक्षाको अभ्यासमा छौं । जसलाई बदल्न सकिएन भने समाजको भ्रष्टिकरण आज जुन रूपमा छ त्यो अरू बढेर जाने निश्चित छ ।

यस्तो बेला गोविन्द केसी जस्ता मान्छेको बलिदान समर्पण र त्याग अनि निष्ठा राज्यले चुकाउने मूल्य बन्न सक्छ । यौनको विषय र मामलामा ढङ्ग नपुर्‍याउने, लुकेर बलात्कार गर्ने होइन खुलेर सम्भोग गर्न प्रोत्साहन गर्ने र मन मिल्ने र कानुन उलङ्घन नहुने यौनकर्म वर्जित नगर्ने शिक्षामा जोड दिनुपर्छ । समाजमा सबैले आफ्नो क्षमता अनुसारको सामाजिक क्षेत्रमा अनिवार्य श्रम गर्ने सामाजिक कार्यतालिका बनाएर कार्यन्वयन गर्ने परिपाटीको बहस गराइनु पर्छ । अबको शिक्षाले र शिक्षितले रोज्ने कर्म भूमि आफ्नै देशको माटो खस्रिनु र यही माटो मलिलो बनाउने, सिञ्चित पारेर हराभरा राख्ने हुनुपर्छ अर्थात् देश हुनुपर्छ । पाशविक आवेग माथिको नियन्त्रणमा शिक्षा प्रभावी बन्नुपर्छ ।

ज्ञान भनेको सूचना लिनु, जानकारी राख्नु मात्रै होइन स्वबोध, आत्मबोध, समाजबोध पनि हो । शिक्षाले रुन लज्जाबोध र हाँस्न गर्वबोध दुवै होइन यी त जीवन पद्धतिकै अपरिहार्य प्रकृति पद्धति विनियोजन हो भनेर बुझाउनु पर्छ । हाम्रा रोदन, चित्कार खुसी हाँसो सबै देख्न सुन्नको लागि हो होइन भने ध्वनि, भावभङ्गी र भाषा सङ्केत अनि स्पर्श प्रकृतिको रचना भित्र पर्दैनथ्यो होला । आलोचनात्मक चेत र आलोचनासँग नडराउने शिक्षाको पाठ्यक्रम निर्माण गरिनुपर्छ । शिक्षा सधैँ सृजनशील र ऊर्जाले ओतप्रोत भएको हुनुपर्छ । अरू भन्दा पृथक् नवीन खोजका साथ स्थापित गर्ने जमर्को शैक्षिक प्रमाणपत्रले दिन सकोस् । प्रमाणपत्र र डिग्रीको भारी देखिने तर व्यवहार उपयोगी नहुने शिक्षाको बोलवाला भएको देशमा शिक्षामा परिवर्तन अपरिहार्य छ ।

जब मान्छेहरूले व्यवहार उपयोगी शिक्षा पाउनेछन् तब हाम्रा खेतबारी बाँझो राखेर विदेशी भूमिमा श्रम र पसिना पोख्न जाने क्रममा कमी आउँछ । कर्म स्वदेशमा नै गर्ने र हातका दस नङ्ग्रा यही खियाउने राष्ट्रिय भावनाको विकास र विस्तार हुनेछ । असल शिक्षाले प्रेम र वासनाको अन्तर बुझाउने छ । बन्दुक र धारिलो हतियार भन्दा जिब्रो र शब्दमा खतरनाक शक्ति भएको भेउ मिल्नेछ । कहाँ बोल्ने र कहाँ मौन रहने तागत मिल्नेछ ।

आफन्त र प्रियजनको मृत्यु , ब्रेक अप जस्ता कुराले जीवन खत्तम हुन्छ भन्ने गलत बुझाइ समाप्त भएर जीवन सामान्य बनाउन मद्दत पुग्नेछ । स्वास्थ्य नै अनमोल धन सम्पत्ति र जायजेथा हो भन्ने बुझिनेछ । शिक्षाले हिलो छ्याप्न होइन बरु समय समयमा आफ्नो चस्मा पुछ्न सिकाउँछ । अतस् शिक्षा विवेक र ज्ञानको आँखा दुवै भएको हुनु अनिवार्य छ । जसको अभावमा हामी आज बरबादीको चरणमा छौं । राज्यले शिक्षाको प्रणाली र धारा बदल्नु नै समाजमा सभ्यता र भौतिक नैतिक विकासको जग हाल्नु हो । 



नयाँ