- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । सम्पूर्ण ऊर्जाको श्रोत मानिने सूर्य उपासनाको चैती छठ पर्व आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैत्र शुक्ल षष्ठी तिथिका दिन श्रद्धा पूर्वक मनाउने गरिन्छ।
नजिकको नदी, तालाव र जलाशयमा उभिएर व्रतालु महिलाहरूले यो पर्व मनाउन शुद्धता र पवित्रतालाई विशेष ख्याल राखी कठोर व्रत बस्ने गर्छन्। जीवनको मुख्य आधार जल, वायु, अग्नि अर्थात् सूर्य जसले प्रकृति निर्माण देखि अन्न बाली उत्पादनमा प्रमुख भूमिका खेलेको जनकारहरू बताउँछ।
जीवनको मुख्य आहार मानिने कृषि बाली खास गरी कार्तिकमा उत्पादन हुने धान र चैतमा उत्पादन हुने गहुँ बाली उत्पादनमा प्रकृतिको यिनै योगदान र विशिष्टताले संसार चलेको नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साह बताउँछन् । मानव सभ्यताको निर्माण, मानव धर्म संस्कृति, समानता, सामाजिक एकता र सद्भाव यो पर्वमा प्रस्टै देख्न सकिन्छ ।
हरेक जातजाति,वर्ग,लिङ्ग र समुदायका व्यक्तिहरू बिना कुनै जातीय छुवाछूत र बिना भेदभावको एउटै जलाशयमा एकै किसिमका वस्त्र देखि एकै नासको प्रसाद सामग्री यो पर्वमा प्रयोग भएको देखिन्छ पूर्व अध्यक्ष साहले जानकारी दिए। अन्न उत्पादन हुने क्षेत्र र भू-भागमा कृषि पेसा र व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न,आबद्ध र निर्भर परिवारहरू यो पर्व खास गरी मनाउने गरेको पाइन्छ ।
चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् । यसअघि शुक्रवार नै व्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने विधि सम्पन्न गरिसकेका छन् ।
पर्वको तेस्रो दिन आइतबार सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ भन्ने गरिएको छ ।
त्यस्तै सप्तमीका दिन अर्थात् सोमबार बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन रहेको छ। कार्तिक शुक्ल षष्ठी र चैत्र शुक्ल षष्ठीका दिन तराई-मधेसमा मनाइने लोक आस्था एवं धार्मिक विश्वासको महान् छठ पर्व मनाउँदै आएको छ ।