arrow

दुर्गमकी डाक्टर प्रेमकला

सबै महिलाको व्यथा यस्तै हो र यो दुर्गमको पिडा हो ।

logo
दयाराम पण्डित
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Premkala-bajura.jpg

बाजुरा । हिमाली गाउँपालिकाको रुगिन गाउँ जान कवाडीको उकालोमा हिँडिरहेका थियौं । रुगिन स्वास्थ्य चौकी इन्चार्ज प्रेमकला मल्लले भनिन्, सर मलाई हतार छ , अगाडी जाँउ? किन त्यस्तो हतार हामी पनि रुगिन नै जाने हो । तपाईँ पनि रुगिनको कार्यक्रममै जाने त होला नि ? उनले भनिन् हुन्त हो सर तर मरो सेवाग्राहीले तारन्तार फोन गरिकन कति वेला पुग्नुहुन्छ भनेर सताइरहेकी छिन् । सायद तिनलाई सुत्केरी बेथाले च्यापेको होला । यति भन्दै प्रेमकला सिस्टर अगाडी कुदिन् ।

टन्टलापुर गर्मी कवाडीको उकालो स्याँ फ्या गर्दै हामी पनि प्रेमकलाको पछिपछि लम्क्यौं  । करिब आधा घण्टा उकालो बाटो  पार गरेपछि रुगिन गाउँ आयो । जीवनमा पहिलो पटक रुगिन स्वास्थ्य चौकी पुग्दा जीर्ण स्वास्थ्य चौकी भवन । अनि बाहिर चौरमा सुत्केरी बेथाले छटपटाएकी  एक किशोरी पेट मुसार्दे पसिना पुछ्दै थिइन् । प्रेमकलाको स्वास्थ्य चौकीमा आगमन पछि उनकी स्याहारे ( स्वास्थ्य स्वयंसेविका ) कुण्डलादेबी शाहीले भनिन् अब यिनको ज्यान जोगिने भयो ।

हत्तपत्त ती युवतीको पाखुरा समातेर सि. अनमी प्रेमकलाले स्वास्थ्य चौकीको बर्थिंङ रुममा लगिन् । सामान्य चेकजाँच पछि गर्भको बच्चा र आमा दुबैको अवस्था सामान्य भएको बत्ताइन् । केही घण्टा पछि बच्चा पैदा हुन्छ नआत्तिनुस् म तपाईँसँगै हुनेछु, स्वास्थ्य ईन्जार्ज प्रेमकलाले भनेपछि ती गर्भवती किशोरीले लामो श्वास फेरिन् । छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका एक विनबाट आएकी शर्मिला शाहीले चार घण्टा पैदल बाटो हिँडी गर्भ जाँच गराएकी थिइन्  । यो उनको चौथो पटक हो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा ३८ सय रुपैयाँ पाइन्छ भन्ने गाउँकी महिलालाई थाह छ मल्लले भनिन् । गर्भिणी शर्मिलाका श्रीमान् काठमाण्डौंमा तरकारी खेती गर्छन् । घरमा बुढा सासू ससुरा छन् । उसै त गाउँमा महिलाको हेरचाह हुँदैन अझ श्रीमान् पनि बाहिर हुँदा महिलाको ज्यान जोखिममा हुन्छ । गर्भवती महिला शर्मिला त दुर्गमकी एक प्रतिनिधि पात्र मात्र हुन् । सबै महिलाको व्यथा यस्तै हो । यो दुर्गमको पिडा हो, उनले भनिन् ।  

बाजुराको साविकको रुगिन, बिछ्या, कवाडी अनि छिमेकी जिल्ला मुुगको विन, ह्याङ्गलु र हुम्लाको जिमाना लगायतका टाढा टाढाबाट रुगिन स्वास्थ्य चौकीमा बिरामी आउने गरेको उनले बत्ताइन् । महिना कम्तीमा १० देखि १५ वटा सुत्केरी बेथाका बिरामी आउँछन् । “रिफर गरौं बाटोमै घटना होला भन्ने डर नगरौं ज्यान जाने खतरा । कयौंपटक जोखिम मोलेर सुत्केरीको ज्यान जोगाएको स्वाास्थ्यचौकी इन्चार्ज मल्ल बताउँछिन् । अहिले कवाडीसम्म कच्ची मोटर बाटो पुग्दा केही राहत भएको उनले बत्ताइन् ।” दुर्गम ठाउँमा डाक्टर त के अहेव पनि बस्न मान्दैनन् ।

कयौंपटक अहेव, पारामेडिसिन नहुँदा उक्त काम पनि आफैले गरेकी छु । बाजुराको सर्वाधिक विकट बिछ्याँमा निरन्तर १५ वर्ष बस्दा एउटा अनमीले सबै काम गर्नु परेको गुनासो गरिन् । सयौं सुत्केरी र हजारौं बिरामीको उपचार गरियो तर, आजसम्म मेरो कारण  कसैको ज्यान नगएकोले खुशी पनि  छु, उनले भनिन् । 

मप्रतिको विश्वासले होला सुरक्षित सुत्केरी गराउन टाढा टाढाबाट गर्भवती महिला आउने गरेको सि.अनमी मल्लले बत्ताइन् । सुत्केरी लगायत दर्जनौं  महिलाको ज्यान जोगाएको अनुभव रुगिन स्वास्थ्य इन्चार्ज मल्लले सुनाइन् । एसबिए तालिम प्राप्त  आफू र बोर्ताकी पूर्णकला भण्डारी बाहेक कोही छैनन् । रातदिन नभनी यिनकै सेवामा छौं उनले भनिन् ।  

दुर्गमकी डाक्टर भनेर चिनिने हिमाली गाउँपालिका फैतीकी प्रेमकला मल्लले रुगिन बिछ्याको स्वास्थ्य सेवामै नोकरी गरेको २० वर्ष भयो ।  दुई दशकको जागिरे दौरानमा उनलाई कहिल्यै पनि सुुगमको रोजाई भएन । १५ वर्ष त बाजुराको सर्वाधिक विकट साविकको विच्छ्या स्वास्थ्य चौकीमै बिताइन्  । “गाउँमा बिरामी पर्दा घरमै पुगेर स्वास्थ्य उपचार गरेको र स्वास्थ्य चौकीमा अहेव समेत नहुँदा पारामेडिसियनको काम गर्दाको अनुभव पनि छ ।  मासिकाको सरुवा नहुने अनमी भएपछि गाउँलेले सरुवा हुनै दिएनन् । जन्मथलो र कर्मथलो एउटै मनाएँ, परिस्थितिले विवाह बन्धनमा पनि बाँधिन पाइएन उनले भनिन् । ”

मासिकाबाट सरकारी जागिरमा प्रवेश गरेकी प्रेमकला मल्लको गत चैत्र २२ गते नेपाल सरकारको अधिकृत स्तर छैटौं तह सिअनमी निरीक्षक पदमा पदोन्नति भएको छ । दुई दशकसम्म निरन्तर दुर्गमका जनताको स्वास्थ्य सेवा गरेकै कारण प्रेमकलालाई जनताले दुर्गमकी डाक्टरको नामले चिन्छन् यो स्वाभाविक हो हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ