- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । कोरोना सङ्क्रमणको दोस्रो पटक गति तीव्र रूपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले मङ्गलवारदेखि धनुषा जिल्लाभर निषेधाज्ञा जारी गर्न लागेको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कोरोना सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिनका लागि निषेधाज्ञा जारी गर्न लागिएको बताए ।
जिल्लाभर प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवा र स्थलहरू १० दिनसम्मका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार धनुषा जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ।
धनुषामा सङ्क्रमणको गति दोस्रो स्थानमा पुगेको र समुदाय स्तरमा कोरोना फैलिएकोले वैशाख २१ गते मङ्गलवार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रवार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएका हो ।
प्रशासनले औषधी उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायतकाहरु सञ्चालन गर्न समेत रोक लगाइएको हो।
त्यस्तै,विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठुलो गाडीमा शुभ विवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जानकारी दियो।
मालवाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शव वाहन, फोहोर मैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दानालगायत दुवाकीका सवारी साधनहरू, आइसोलेसन एवं होल्डीङ्ग सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधनहरू, सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनहरू बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरू (पूर्व पश्चिम राजमार्गमा वारपार गर्ने बाहेक) समेत सञ्चालन गर्न नपाइने आदेशमा रहेको छ ।
खाद्य वस्तु, खाना पकाउने ग्यास र निर्माण सामग्रीसँग सम्बन्धित व्यवसायहरू बिहान ६ बजेदेखि ९ बजेसम्म र औषधी तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरू चौबिस घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने उल्लेख छ। प्रशासनको यस आदेशलाई उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।