arrow

अस्पतालबाट उपचार नपाएर फर्किएकी  रेखाको मृत्यु 

logo
राम धामी,
प्रकाशित २०७८ वैशाख २० सोमबार
dadheldhura-hospital.jpg

डडेलधुरा । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–४ खलङ्गा निवासी ३४ वर्षीया रेखा ओडको प्रसूति सेवा नपाउँदा मृत्यु भएको छ । आइतबार राति डडेलधुरा अस्पतालमा प्रसूतिका लागि गएकी उनलाई अस्पतालले समय नभएको जानकारी गराएपछि उनी उपचार नपाएर आफ्नो कोठामा फर्किएकी थिइन । 

पारिवारिक श्रोतका अनुसार अस्पतालबाट उपचार नपाएर फर्किएकी उनले राति करिब २ बजे घरमै बच्चा जन्मिएकी थिइन । बच्चा जन्मिएपछि निरन्तर रक्तस्रावका कारण उनको मृत्यु भएको स्थानीय अधिकारकर्मी किशोरी धामीले जानकारी दिइन् । मृतक ओडका दुई छोरा दुई छोरी छन् ।

आमाको निधन पश्चात् पनि नवजात शिशुको अवस्था सामान्य रहेको र हाल नवजात शिशुलाई डडेलधुरा अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा उपचारपछि घर पठाइएको डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए । 

उनले अस्पतालमा कोरोना महामारीका बिरामीहरूको चाँप बढ्दै गएकाले सामान्य अवस्थामा सुत्केरी हुनसक्ने देखिएकाले घर पठाइएको बताए ।

डडेलधुरा अस्पतालले मध्यरातमा मृतक महिला अस्पतालमा आएको र नजिकै घर भएकाले स्वास्थ्य अवस्थामा समस्या भएमा तुरुन्तै अस्पताल आउन सकिने भन्दै घर फर्काएको जनाएको छ । सीमित स्वास्थ्यकर्मीहरू भएकाले कोरोना महामारीका बेला स्वास्थ्यकर्मीहरूको व्यस्तताका कारण उपचार सेवा प्रभावित भइरहेको अस्पताल प्रशासनले जनाएको छ । 

रक्तस्राव हुने बित्तिकै पुनः अस्पताल ल्याउन सकिएको भएमा महिलाको अकाल मृत्यु हुन नसक्ने अस्पताल प्रशासनले जनाएको छ ।

यस सम्बन्धमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले अस्पतालमा उपचार नपाएर सुत्केरीको अकाल मृत्यु भएको बारेमा कुनै जानकारी नभएको बताए । 

कोरोना महामारीका कारण उपचार सेवा प्रभावित भएकाले दीर्घरुपमा औषधी सेवन गर्ने बिरामीहरूका लागि सम्बन्धित जिल्लास्थित स्वास्थ्य कार्यालयबाट निःशुल्क औषधी उपलब्ध गराइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ