arrow

‘भ्याक्सिन लगाउन किन बन्द गरेको ?’ –डा. सुन्दरमणि दीक्षित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
dr._sundarmani_dixit_(1)_.jpg
तस्वीर–फाइल ।

काठमाडौं । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले कोरोना भाइरसको महामारीका बेलामा धेरैभन्दा धेरैलाई कोरोनाको भ्याक्सिन लगाउन सरकारसँग माग गरेका छन् । उनले कोरोना रोक्ने एकमात्र उपाय नै भ्याक्सिन भएकाले तत्काल भ्याक्सिनलाई निरन्तरता दिन आग्रह गरेका हुन् । 

कोरोनाको महामारी दिनानुदिन उच्च बिन्दूमा पुगेको भन्दै डा. दीक्षितले भनेका छन्, ‘यस्तो बेलामा सरकारले भ्याक्सिन लगाउन किन बन्द गरेको ? यो बेलामा त सरकार टोलटोलमा पुगेर भ्याक्सिन लगाउनु पर्छ ।’

उनले अमेरिकाको दृष्टान्त सुनाउँदै नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा भनेका छन्, ‘अमेरिकाले करोडौंको संख्यामा भ्याक्सिन भण्डारण गरेर राखेको छ । त्यो भ्याक्सिन एक दुई करोड भए पनि हामीलाई देउ भनेर माग्नुपर्यो ।’ 

डा. दीक्षितले अमेरिकामा भएका नेपालीले भ्याक्सिन माग्नका लागि दबाब दिनुपर्नेमा पनि जोड दिएका छन् । उनले अमेरिकामा बसेका भारतीयले दबाब दिएपछि अमेरिकाले भारतलाई खोप दिएको भन्दै नेपालीले पनि दबाब दिनुपर्ने सुझाव दिए ।  

उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघलाई पनि खोपका लागि अपील गर्न आग्रह गरेका छन् । 

तर डा. दीक्षित प्रधानमन्त्रीको सोमबारको सम्वोधनप्रति भने रुष्ट छन् । उनले प्रधानमन्त्रीको भाषणमा सबै अस्पताल, खाली ठाउँमा हामी लिन्छौं भनेर भन्नु गलत भएको बताए । 

उनको सरकारलाई प्रश्न छ, ‘हरेक अस्पताललाई कोभिड अस्पताल बनाएपछि अस्पताललाई दिने क्षतिपूर्ति के त ?’ उनको तर्क छ, ‘सरकारी अस्पताललाई त सरकारले पैसा दिन्छ । निजी अस्पताललाई कसले दिने ?’ 

डा. दीक्षितले नेपाली सेना र सशस्त्र प्रहरीबाट सहयोग लिन पनि सुझाव दिएका छन् । उनले भने, ‘टेन्टका टेन्ट खडा गरेर बिरामीको सेवा गर्नुपर्यो । सबैलाई भेन्टिलेटर र अक्सिजन पनि चाहिँदैन । त्यसको व्यवस्था गर्न सक्नुपर्यो । हस्पिटल भरिभराउ छ भनेर जनता अत्याउने काम गर्नु हुँदैन । कोभिडका बिरामीलाई अस्थायी टेन्टमा भए पनि राखेर उपचार गर्नुपर्यो ।’

प्रधानमन्त्री ओलीले हालसम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको र दोस्रो डोज ३ लाख ७० हजारले लगाइसकेको जानकारी दिएका छन् । उनले चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेकोसमेत उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ