arrow

कास्की कोरोना हटस्पट : आजै ८५६ जना सङ्क्रमित थपिए

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
pokhara-2.jpg
तस्बिर : फाइल

पोखरा। गण्डकी प्रदेशको राजधानी भएको जिल्ला कास्कीमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। योसँगै कास्की पनि कोरोना अति प्रभावित जिल्ला हुँदै भयाभह र जटिल हुने सङ्केत देखिएको छ।

कास्कीमा आज एकै दिन ८५६ सङ्क्रमित भेटिएका छन् । योसँगै कास्कीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २७ सय २९ जना पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अन्तिम तथ्याङ्क अनुसार पोखरामा हालसम्म कूल कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ८१५ जना पुगेको छ । यसमा ८९ सय ४९ जना सङ्क्रमित निको भएका छन् ।

पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ जना पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 


गण्डकीमा १३ सय ८६ जना थपिए
पोखरासहित गण्डकी प्रदेशमा आजै १३ सय ८६ जना सङ्क्रमित थपिएका छन् । आज कास्कीपछि सबैभन्दा धेरै सङ्क्रमित पर्वत जिल्लामा भेटिएका छन् । पर्वतमा आज १६७ जना सङ्क्रमित भेटिएका हुन्। योसहित गण्डकीमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ८६० जना पुगेको छ । जसमा १७ हजार ३०२ जना निको भएर ३३ सय १७ जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।


आज सात जना सङ्क्रमितको मृत्यु
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज मात्रै सात जनाको मृत्यु भएको छ । जसमा कास्कीका एक जना, पर्वतका दुई जना, म्याग्दीका एक जना, दाङका एक जना, रुपन्देहीका एक जना र तनहुँका एक जना रहेका छन् ।

योसहित गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४८ जना पुगेको प्रवक्ता डा. शर्माले जानकारी दिए । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु कास्कीमा भएको छ । दोस्रो जिल्ला तनहुँ, तेस्रो नवलपरासी पूर्व र चौथो जिल्ला स्याङ्जा रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले जनाएको छ। 
कोरोना सङ्क्रमणबाट अहिलेसम्म मनाङमा एक जनाको पनि मृत्यु भएको छैन । मनाङमा हालसम्म ३४ जना सङ्क्रमित भेटिएर २० जना निको भएर १४ जना उपचाररत छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ