arrow

‘उहाँहरु तटस्थ बस्नुहुन्छ हामी विपक्षमा मतदान गर्छौं, पार्टी एकीकरण बचाइराख्न ह्वीप जारी नगरेका हौं’ – श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
rajendra-shrestha-samajbadi.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो संसदबाट विश्वासको मत लिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) भने दुई धारमा स्पष्ट देखिएको छ । जसपाको ओली निकटको पक्ष ओलीले विश्वासको मत गुमाउने भएसँगै तटस्थ बस्ने निर्णय गरेको छ भने अर्को पक्ष ओलीको विरुद्धमा मत दिने निर्णय गरेको छ । 

अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई बचाउन सक्ने अवस्था नआएपछि तटस्थ बस्ने निर्णय गरेको हो भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको पक्षले भने ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

जसपाका शीर्ष नेता राजेन्द्र श्रेष्ठ भने पार्टी एकीकरण बचाइराख्नका लागि मत दिनका लागि ह्वीप जारी नगरेको बताउँछन् । यसले गर्दा पार्टी फुटबाट पनि जोगिएको छ । उनले भने, ‘पार्टी ह्वीप खास खास समयमा लगाउने हुन्छ । पार्टीभित्रको आन्तरिक निकास दिन पनि ह्वीप नलगाइएको हो । कसैलाई यही प्रधानमन्त्रीले देशलाई ठीक गर्छ भन्छ भने ठीकै छ । तर हामीलाई भने आजसम्मको कामको आँकलन गर्दा हामी त्यो निर्णयमा पुग्न सकेनौं ।’

उनले भने, ‘हामीले विश्वासको मत नदिने यो त स्पष्टै छ नि । दोधारे नीति गरेको हैन । पार्टीलाई पनि निकास दिने र २०७७ पुस ५ गते प्रधानमअन्त्री ओलीले असंवैधानिक तरिकाले संसद विघटन गर्नुभयो । दोस्रो कुरा संसद पुनःस्थापना भएपछि पनि राजीनामा नदिएर संविधान मिच्नुभयो । हिउँदे अधिवेशन स्थगित गर्ने, एउटा पनि विधेयक संसदमा प्रस्तुत नगर्ने तर ८–८ वटा अध्यादेश ल्याउने, उहाँले विभिन्न राजनीतिक दलहरुसँग गरेका सम्झौताहरु कार्यान्वयन नगरेको, अहिले जनताहरु आक्रान्त छन् । यिनै आधार हुन् हामीले विपक्षमा मत हाल्ने ।’

उनले हाल कोरोनाका कारण देश अस्तव्यस्त भएको, सरकारले वास्ता नगरेको, जनताले अक्सिजन–अक्सिजन भनेर बाटा बाटामा चिच्याइरहेका छन् भन्दै अगाडि भने, ‘त्यसमा पनि कमिशन खान खोजिएको छ । भ्रष्टाचार यति बढेको छ कि अहिले ७० करोड हैन अर्बौं अर्ब खान खोजिएको छ । धरहरामा पनि करोडौं खान खोजिएको छ ।’ नेपाली रेडियो नेटवर्कसँग भने, ‘कसरी पक्षमा भोट हाल्ने ? यिनै कारणले विश्वासको मतको विपक्षमा मतदान गर्छौं ।’

उनले थप स्पष्ट गर्दै भने, ‘पुस ७ गतेको केन्द्रीय कार्यकारिणीको बैठक बसेको थियो । यो अलोकतान्त्रिक कदम भएको भनेर सर्वसम्मतिले आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनकै माध्यमबाट उहाँलाई फालौं भनेर अरु पार्टीहरुसँग लबिङ गरेका थियौं । पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव लगेर जानुपर्छ भनेका थियौं । अब संविधानको रक्षा गर्ने नै अहिलेको मुख्य लक्ष्य हो ।’

मत विभाजनबारे उनले भने, ‘महन्थ ठाकुर र राजेन्द्र महतोले तटस्थ बस्ने भन्नुभएको छ । हामीहरु केपी ओलीको विपक्षमा मतदान गर्छौं । पार्टी एकीकरणलाई बचाइराख्न पनि हामी यो निर्णय गरेका हौं । केपी ओलीको सरकार आजबाट बिदा हुन्छ ।’

नेता श्रेष्ठले हामी नयाँ सरकार गठनमा साथ दिने भन्दै नयाँ बन्ने सरकारमा जाने नजाने भन्नेबारे निर्णय पछि गर्ने बताए । 

यसअघि आइतबार बिहान ठाकुर र महतोले पहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने त्यस लगत्तै बालुवाटारमा पुगेर ओलीलाई भेटेर तटस्थ बस्ने जानकारी गराएर फर्केका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ