- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टी अब एक नहुने अवस्थामा पुगेको छ। दुवै पक्षले एकले अर्कोलाई कारबाही गर्ने प्रक्रियासम्म पुगेका छन्। यो भनेको पार्टी फुटाउनको लागि प्रारम्भिक प्रक्रिया हो। दुवै पक्षसँग बराबर सांसद छन्। तर कार्यकारिणी समितिमा कसको बहुमत छ भनी स्पष्ट भएको छैन। बाबुराम भट्टराई–उपेन्द्र यादव कित्तासँग १६जना सांसद छन् भने महन्थ ठाकुर–राजेन्द्र महतो कित्तासँग पनि १६ जना सांसद छन्।
ठाकुर–महतो पक्षले बैठक गरी उपेन्द्र यादवलाई कारबाही गर्ने तयारी गरेको छ। पार्टी हित, विपरीत पार्टी फुटाउने गतिविधिमा लागेकोले उपेन्द्र यादवलाई कारबाही हुन सक्ने राजेन्द्र महतोले बताए। ‘उहाँ पार्टी हित विपरीत बोल्नु भएको छ। उहाँको बोली पार्टीको होइन। व्यक्तिको हो’महतोले भने,‘पार्टी हित बोलेको कारण उहाँलाई कारबाही हुन सक्छ।’
नयाँ सरकार बनाउने खेलमा आफूहरू नलाग्ने महतोले प्रस्ट पारे। ‘हामीले पहिले नै प्रस्ट पारेका छौ। अहिले हामी नयाँ सरकार बनाउने काममा लाग्दैनौ’महतोले भने,‘पार्टीको माग मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अहिले हामीले ध्यान केन्द्रित गरेका छौ।’
नयाँ सरकार बनाउन नेपाली काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पार्टीको निर्णय नभएको उनले बताए। उनले भने,‘जसपाले साथ नदिएसम्म संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार बन्न सक्दैन। हामीले साथ दिन्नौ।’
उपेन्द्र यादव पक्षधर नेताहरूले भने ठाकुर—महतो पक्षले उपेन्द्र यादवलाई कारबाही गर्ने कुनै आधार नभएको बताएका छन्। ‘कसैमाथि कारबाही गर्ने अधिकार पार्टीको केन्द्रीय समितिले उहाँ (महतो) लाई दिएको छ ?’ उपेन्द्र निकट नेता रामसहाय यादवले प्रश्न गरे,‘त्यसैले महतोजीले व्यक्तिगत रूपमा बोल्नु भएको छ।
उपेन्द्र यादवलाई कारबाही गर्ने कुनै आधार छैन।’ पूर्व समाजवादीका अर्का एकले नेताले भने,‘उहाँले हामीलाई कारबाही गरेको घोषणा गर्नु अघि नै हामीले उहाँलाई कारबाही गर्न सक्छौ।’ ती नेताले भने,‘यसकोलागि हामीसँग बहुमत पनि छ। उहाँहरू (ठाकुर–महतो पक्षका नेताहरू) सँग बहुमत छैन’ उनले आफ्नो नाम खुलाउन चाहेनन्।
पोहर साल वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादीबिच एकीकरण हुँदा पहिलो अध्यक्ष ठाकुर र दोस्रो अध्यक्ष यादवलाई स्वीकार गर्ने सहमति भएको थियो। निर्वाचन आयोगमा पठाएको आधिकारिक डकुमेन्टमा पनि दुई जना अध्यक्षको व्यवस्था गरिएको छ। तर अहिले दुई अध्यक्ष दुई तीर भएका छन्।
उपेन्द्र यादव ओली सरकारका विकल्पमा अर्को सरकार बनाउन देउवा र दाहालसँग छलफल र भेटघाट गरिरहेका छन् भने ठाकुरले ओली सरकार विरोधी गठबन्धनमा सहभागी नहुने बताएका छन्। उपेन्द्र यादवलाई जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई्ले सक्रिय साथ दिएका छन्।
निर्वाचन आयोगमा जसपाले पठाएको डकुमेन्टमा ५१ सदस्यीय कार्यकारिणी समिति रहेको सूचि पठाइएको छ। अहिले ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरू दुवै पक्षबाट तानातानमा परेका छन्। पूर्व राजपाका ३ जना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव, रमेश यादव र गजाधार यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव कित्तामा पुगेको छन्। महतो–ठाकुर पक्षका नेताहरूले पनि उपेन्द्र यादव कित्ताका केही कार्यकारिणी समितिका सदस्यहरू आफूतिर आएको दाबी गरेका छन्। ती सदस्यहरूको नाम ठाकुर—महतो पक्षका नाम खुलाउन चाहँदैनन्।
संसदीय दलमा पनि ४ जना सांसदहरू यता उता भएका छन्। पूर्व राजपाका २ जना सांसद उपेन्द्र यादव कित्ता पुगेका छन् भने पूर्व समाजवादीका २ जना सांसद ठाकुर–महतो कित्ता पुगेका छन्। महेन्द्र यादव र चन्द्रकान्त चौधरी कित्ता परिवर्तन नगरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। यसै गरी पूर्व समाजवादीका विमल श्रीवास्तव र उमाशङ्कर अरगरैयाले कित्ता परिवर्तन गरी ठाकुर–महतो कित्ता पुगेका छन्।
स्रोतका अनुसार ठाकुर–महतो पक्षले बैठक गरी उपेन्द्र यादवलाई कारबाही गर्ने तयारी गरेको छ। दुवै पक्षले कार्यकारिणी समितिमा बहुमत जुटाउन प्रयास गरेका छन्। ठाकु-महतो पक्षका एक नेताले भने,‘कार्यकारिणी समितिमा हामीसँग बहुमत पुग्ने बित्तिकै बैठक गरेर उहाँ(उपेन्द्र यादव)लाई कारबाही गर्छौ।’
ओली सरकारलाई साथ दिने कि ओली सरकार ढाल्ने भन्ने विषयमा जसपा सुरु देखि नै विभाजित भएको छ। ओली सरकारलाई विश्वासका मत दिने सवालमा पनि सोमबार संसद्मा यस्तै देखियो। उपेन्द्र यादव पक्षका सांसदहरूले ओली सरकारको विपक्षमा भोट दिए भने ठाकुर—महतो पक्षका सांसदहरू तटस्थ बसे।