arrow

हुम्लामा जेठ ४ सम्म लम्ब्याइयो निषेधाज्ञा

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
District-61-Humlat-hamrakura.jpg.jpeg

हुम्ला । कोरोना रोकथाम र नियन्त्रणका लागि हिमाली  जिल्ला हुम्ला एक हप्ता अगाडि जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । 

बैशाख गते १९ नेपालगंजबाट आएका ६ जना र  सुर्खेतबाट आएका २ जना गरी ८ जना हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्न बैशाख २१ गतेबाट एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा जिल्लामा संक्रमण बढ्दो क्रममा रहेकाले पुनः एक हप्ताका लागि निषेधाज्ञा केही खुकुलो पारेर जिल्ला प्रशासन कार्यालय हुम्लाले एक आदेश जारी गर्दै वैशाख २८ गते राती १२ बजेबाट जेठ ४ गते राति १२ बजेसम्म लम्ब्याइएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

जिल्लामा संक्रमण बढ्दो क्रममा रहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा एक हप्ता निषेधाज्ञा लम्ब्याईएको उनले बताए ।

आदेशमा सदरमुकाम सिमकोट आसपास बाहेक अन्य क्षेत्रमा निशेधज्ञा केही खुकुलो पारेको र जिल्लामा निषेधाज्ञा जारी भएको अवधिभर मानिसको आउजाउ समेत बन्द हुने र निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल जस्ता अत्यावश्यक सेवाहरुका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दूध, ग्याँस आदि) का पसल बिहान ७ देखि १० बजेसम्म मात्र संचालन गर्न पाइने र केही खुकुलो पारी जारी गरिएको निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारी साधन सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी अनुमति लिएर निर्माण सामग्री बोकेका सवारी साधन पनि सञ्चालन हुन पाइने आदेशमा उल्लेख छ । जिल्लामा स्थापित सरकारी तथा सार्वजनिक कार्यालयहरु २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन आउने र बैंकहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । 

जिल्लामा निशेधज्ञा जारी भएपछि हवाई मार्गबाट खाद्यान्न, कार्गो र विकास निर्माणका सामानहरु ढुवानी  गरे पनि यो अवधिमा हवाई यातायातबाट यात्रुहरु भने आउन पाउने छैनन् । जिल्ला भित्र निषेधाज्ञा केही खुकुलो गरिएको भए पनि जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाकामा भने कडाई गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ